संविधानविपरीत काम गरिन्न, गर्न दिइन्न : प्रवक्ता बस्नेत

संविधानविपरीत काम गरिन्न, गर्न दिइन्न : प्रवक्ता बस्नेत


निर्वाचनद्वारा अभिव्यक्त जनमतको उच्च कदर गर्दै संवैधानिक प्रक्रिया पूरा गरेर शीघ्रातीशीघ्र सत्ता हस्तान्तरण गर्न सरकार आतुर रहेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले मुलुकको समसामयिक राजनीतिक विषयमा सरकारको धारणा स्पष्ट पार्न हिजो मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

मन्त्री बस्नेतले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले विधिसम्मत् ढंगले सत्ता हस्तान्तरणमा पटक पटक देखाउनुभएको आतुरताका अभिव्यक्ति सञ्चार माध्यममा आइरहँदासमेत अनेकन दूराशय र संशयपूर्ण अभिव्यक्ति आउनु सबैका लागि दुःखलाग्दो विषय हो ।’ स्थानीय तहको दोस्रो र तेस्रो चरणको निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउने कार्यभारसहित सरकारले गत जेठ २३ गते जिम्मेवारी लिएको स्मरण गराउँदै उनले भने, ‘सरकारले दुवै निर्वाचन शान्तिपूर्ण र स्वच्छ ढंगले सम्पन्न गराएको छ ।’

निर्वाचनलाई लिएर केही राजनीतिक दलका नेताबाट निर्वाचन हुने अघिल्लो दिनसम्म पनि चुनावप्रति संशय र षड्यन्त्रसहितका अभिव्यक्ति आउनु दुःखद पक्ष भएको मन्त्री बस्नेतको टिप्पणी थियो । उनले विविध खाले आरोह र अवरोह, सीमित समयावधि र साधन स्रोत, भौगोलिक कठिनाइ, मौसमी प्रतिकूलता र आशंकाबीच समग्रमा सफलताका साथ निर्वाचन सम्पन्न भएको बताए । ‘नतिजा सार्वजनिक हुने क्रमसँगै केही राजनीतिक कोणबाट असान्दर्भिक अभिव्यक्ति, अनर्गल र मनोगत दुष्प्रचारको थालनी सरकारको विरुद्ध भएकामा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने ।

निर्वाचनपछि पनि सरकारले नियुक्ति प्रक्रियालाई निरन्तरता दिइरहेको छ भन्ने जिज्ञासामा उनले सरकार रहेसम्म र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म नियुक्ति गर्नु सरकारको दैनिक क्रियाकलाप भएको तर्क गरे । संविधानको अक्षरशः पालना गरिने विश्वास दिलाउँदै संविधान विपरीत कसैलाई कुनै पनि काम गर्न नदिइने दृढता पनि उनले व्यक्त गरे ।

सरकारले राष्ट्रियसभा निर्वाचनको ऐन मस्यौदा गरी विधेयकका रूपमा व्यवस्थापिका–संसद्समक्ष पेश गरेको तर राजनीतिक दलहरु सहमत हुन नसक्दा पारित हुन नसकेको भन्दै उनले राष्ट्रपतिबाट सो अध्यादेश स्वीकृत भए छिटोछरितो कार्यसम्पादनसहित सत्ता हस्तान्तरण प्रक्रिया सहज हुने बताए ।

संविधानतः मुलुकमा मिश्रित निर्वाचन प्रणाली रहेको र प्रत्यक्षतर्फको नतिजालाई मात्र हेरेर अवधारणा बनाउनु एकाँकी हुन जाने बताउँदै उनले भने– ‘दलहरूले प्राप्त गर्ने सिट संख्यासमेत यकिन नभइसकेको वर्तमान अवस्थामा कस्तो सरकार र कसको सरकार बन्दैछ भन्ने अनुमानमा कुनै पनि किसिमको अतिरञ्जित टिप्पणी गर्नु सान्दर्भिक हो जस्तो लाग्दैन ।’

तस्बिर : रासस