वनभित्र निर्माण गरिएका घरटहरा हटाउन शुुरु

वनभित्र निर्माण गरिएका घरटहरा हटाउन शुुरु


जाजरकोटमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको छ ।

सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो । अतिक्रमण गरिएका घरटहरा आफैँ हटाउन पटकपटक गरेको सूचना अटेर गरेपछि जिल्ला वन कार्यलयले आफैँ हटाउन शुरु गरेको हो ।

अतिक्रमणकारीले सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा तथा वन क्षेत्र अतिक्रमण गरेर ३०० घरटहरा निर्माण गरेका छन् । उनीहरुले पक्की घरसमेत निर्माण गरेका छन् ।

पहिलो चरणमा मंगलबारदेखि बजारको मुख्य स्थान भेरी नगरपालिका–३ को थाप्लेचौरमा निर्माण गरिएका टहरा हटाउन थालिएको छ । अतिक्रमण गरिएका घरटहरा हटाउन शुरु गरिएको जिल्ला वन अधिकृत उपेन्द्र पटेलले जानकारी दिए ।

अतिक्रमण गरी निर्माण गरिएका संरचना आफैँ हटाउन फेरि एकपटक सूचना जारी गर्ने र त्यस्को अटेर गरे वन कार्यालयले आफैँ हटाई अतिक्रमणकारीलाई वन ऐनअनुसार कारबाही गर्ने वन अधिकृत पटेलले बताए ।

सूचनाको अटेर गरी बजारको मुख्य चोकमै घर निर्माण कार्य थालेकी एक महिलालाई पक्राउ गरिएको उहाँले जानकारी दिए ।

राससका अनुसार भेरी नगरपालिकाले समेत अतिक्रमित घरटहरा हटाउन सूचना जारी गरेको छ । जिल्ला वन कार्यालयसँग समन्वय गरेर नगर क्षेत्रभित्रका अतिक्रमण गरी बनाएका सबै घरटहरा हटाइने नगर प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए ।