ग्यास उद्योगको आगलागी नियन्त्रणमा

ग्यास उद्योगको आगलागी नियन्त्रणमा


– प्रणय साह

पर्सा । वीरगञ्ज महानगरपालिकाको जगरनाथपुरस्थित सुपर ग्यास उद्योगमा आज बिहान ६ बजेतिर सिलिण्डर पड्किएर भएको भीषण दुर्घटनापछि प्रहरीले आसपासका दुई वटा गाउँ खाली गराएर उद्धार कार्य सञ्चालन गरेको छ । आगलागी हुँदा उद्योगभित्र कति मानिस थिए भन्ने अहिलेसम्म नखुलेको प्रहरीको भनाई छ ।

प्रत्यक्षदर्शीका अनुसार उद्योगमा आगो लागेपछि ग्यासको सिलिण्डर पड्किएको र त्यससँगै २ वटा शव उछिट्टिएर बाहिर आएको थियो । प्रहरीका अनुसार ग्यास उद्योगमा कार्यरत मधुसूदन सिंह र यादव अधिकारी बेपत्ता रहेका छन् । आगो निभाउन गएको वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्र जलेर ध्वस्त भएको छ भने दमकलमा रहेका दुईजना अग्नि नियन्त्रकको मृत्यु भएको छ । अन्य दुई अग्निनियन्त्रक आगोमा जलेर गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

आगो निभाउने क्रममा घाइते भएका वीरगञ्ज नगरपालिकाको वारुण यन्त्रका अग्निनियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई स्थानीय वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।

आगलागीमा थप अर्का एकजना पनि घाइते भएका छन् । आगो निभाउन अमलेखगञ्जबाट ल्याइएको नेपाल आयल निगमको दमकल र भारत सरकारको अर्को एक दमकल भीषण आगलागीका कारण शुरुमा घटनास्थल जान सकेनन् । उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पुगे पनि आगोका कारण उनीहरू पनि दुई किलोमिटर वर नै रोकिएका थिए ।

ग्यास भण्डारण भएको स्थलमा आगो बलिरहेकाले पानीले पनि आगो निभाउन नसकिएको वीरगञ्ज वारुण यन्त्रमा निमित्त प्रमुख कार्कीले बताए । घटना हुँदा ग्यास प्लान्टमा कति मानिस थिए खुल्न सकेको छैन । घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगलागी नियन्त्रणमा लिने लामो प्रयासपछि आगो नियन्त्रणमा आएको छ । प्रहरीले ग्यास उद्योगनजिक रहेको पटेलनगर र सुखचैना गाउँ पुरै खाली गराएर अग्निनियन्त्रणको काम गरेको थियो ।