प्रचण्डले सुरु गरे बार्गेनिङ

प्रचण्डले सुरु गरे बार्गेनिङ


दुई कम्युनिष्ट पार्टी ‘एक’ बनाउने घोषणासहित संसदीय निर्वाचनमा सहभागी भएका नेकपा एमाले र माओवादीमा नेताहरूको व्यवस्थापन गम्भीर समस्या बनेको छ । अपेक्षा गरिएभन्दा बढी लाभ हासिल भएपछि माओवादी नेतृत्व सकेसम्म पार्टी एकता गर्ने र एकता हुन नसकेको अवस्थामा पनि पार्टीलाई खासै हानि नहुने निष्कर्षमा पुगेको छ । उता एमालेभित्र भने आफूहरूको साथका कारण माओवादीले अनपेक्षित उपलब्धि हासिल गरेको भन्ने बुझाइ छ ।

एकताको पक्षमा एमालेका अधिकांश कार्यकर्ता भए पनि प्रचण्डलाई अध्यक्ष पद सुम्पेर पार्टी एकीकरण गर्नुपर्छ भन्नेमा एमालेका नेता र कार्यकर्ताहरूको ठूलो हिस्सा छैन । निर्वाचनअघि गत असोज १७ गते पार्टी एकता गर्ने प्रतिबद्धतासहित चुनावी तालमेलको घोषणा हुनुअघि केपी ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने र एकजना प्रधानमन्त्री बन्दा अर्काेले पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्ने सहमति बनेको बताइएको थियो । त्यसबेला जस्तोसुकै सहमति बनेको भए पनि अहिले प्रचण्डलाई पार्टी अध्यक्षको जिम्मेवारी दिने मानसिक तयारी एमालेभित्र देखिएको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अब प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने निश्चित मानिएको छ । वाम गठबन्धन छोडेर प्रचण्ड अर्को मोर्चामा सामेल हुन नगएसम्म केपी ओली नै प्रधानमन्त्री बन्ने र उक्त पदमा कायम रहने विश्वास गर्न सकिन्छ । स्थिरता र विकासलाई मुख्य एजेण्डा बनाएर चुनावमा गएको वामपन्थी गठबन्धनले राम्रो उपलब्धि हासिल गरे पनि एकीकरण नभएको अवस्थामा पुनः अस्थिरताको अवस्था पैदा हुने ठानिन्छ । एमाले नेतृत्व यही एउटा कारणले पार्टी एकीकरणको पक्षमा प्रतिबद्ध रहेको बुझिएको छ । एमाले महासचिव ईश्वर पोखरेलले केपी ओली पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पदको जिम्मेवारी लिने सार्वजनिक घोषणा गर्नुभएपछि माओवादीमा धेरै ठूलो तरङ्ग पैदा गरेको थियो । त्यसपछि गत सोमबार (पुस ३ गते) बसेको माओवादी बैठकले सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढाउने निर्णय गरेको छ ।

सरकार गठन तथा केपी ओली प्रधानमन्त्री बन्ने कार्य एमालेको प्राथमिकतामा परेको बुझेपछि माओवादीले सरकार गठन र पार्टी एकता प्रक्रिया सँगै अघि बढाउने निर्णय लिएको छ । वास्तवमा पार्टी एकीकरण निम्ति माओवादी पक्ष हतारिएको देखिन्छ भने एमाले हतारमा पार्टी एकता गर्ने मनस्थितिमा देखिँदैन । एमालेको प्राथमिकतामा ‘एकता’ नपरेको र उसले सरकार गठनलाई मुख्य जोड दिएको महसुस गरेपछि एमाले नेतृत्वलाई दबाब दिनका निमित्त पनि माओवादीले सरकार गठनसँग ‘एकता’लाई जोडेको बुझिन्छ । माओवादीको यो निर्णयले त्यस्तो सन्देश पनि दिएको छ जसले एमालेलाई झस्काएको छ । पार्टी एकता नहुने हो भने सरकार गठनका निम्ति मात्र एमालेसँग मिलिरहनु नपर्ने सन्देश माओवादीले दिएको छ ।

यसैबीचमा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्न भ्याइसकेका छन् । भेटपछि प्रचण्डले देउवाद्वारा आफूलाई प्रधानमन्त्री पद प्रस्ताव गरिएको प्रचार गराएका छन् । देउवासँगको भेट र यस किसिमको प्रचारबाजीले एमालेपङ्क्तिलाई झस्काउने र एमाले नेतृत्व आफूलाई अध्यक्ष बनाएर एकता गर्न बाध्य हुने विश्वास प्रचण्डमा रहेको बुझिन्छ । पार्टी एकता गर्दा प्रचण्डलाई अध्यक्ष पद सुम्पनुपर्ने माग माओवादीतर्फको छ । प्रचण्डलाई अहिले नै अध्यक्ष बन्न पार्टीको विधान र एमाले कार्यकर्ताहरूको दबाबले अडचन पैदा गर्न सक्ने देखिन्छ । त्यसैले प्रचण्ड र माओवादीको आत्मसम्मान पनि कायम रहने कुनै तेस्रो विकल्प खोजी भइरहेको बुझिएको छ । केपी र प्रचण्ड दुवैले सहअध्यक्षको हैसियतमा काम गर्ने, अधिकारसम्पन्न पार्टी एकता संयोजन समिति गठन गरेर त्यसको संयोजक प्रचण्डलाई बनाउने वा केपी, प्रचण्ड, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा सोही स्तरका नेता सम्मिलित अध्यक्षमण्डल खडा गरेर महाधिवेशनसम्म जानेमध्येका कुनै विकल्प अपनाएर एमाले र माओवादी एकताबद्ध भई अघि बढ्ने सम्भावना छ ।

तर, एमालेनिकट एक सूत्रका अनुसार केपी ओलीले प्रचण्डलाई कार्यबाहक अध्यक्ष बनाएर आफूले संसदीय दलको नेता र प्रधानमन्त्रीको जिम्मेवारी लिने मानसिकता बनाउनुभएको छ । एमालेभित्रको दोस्रो पुस्ताका नेताहरूमा केही असन्तुष्टि भए पनि ओली एकताप्रति प्रतिबद्ध देखिनुभएको छ र प्रचण्डलाई विश्वासमा लिएर अघि बढ्ने सोचमा ओली रहनुभएको छ । अहिले पार्टी एकता गरियो भने भोलि कुनै बिन्दुमा विवाद उत्पन्न भएर प्रचण्ड अलग्गिने स्थिति बन्यो भने पनि हालको माओवादीका अधिकांश नेता–कार्यकर्ता एमाले छोडेर नजाने विश्वासमा ओली हुनुहुन्छ । तर, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमलगायतका नेताहरूको व्यवस्थापन भने केपीका निम्ति चुनौतीको विषयका रूपमा रहेको छ ।