भवन निर्माणमा सहयोगको अपिल

भवन निर्माणमा सहयोगको अपिल


नेपाल पत्रकार महासंघ, दोलखा शाखाको भवन निर्माण अघि बढाइने भएको छ ।

सदरमुकाम चरिकोटमा दोलखाका सरोकारवालाको पहँुच र प्रभाव पुग्ने गरी सुविधा सम्पन्न भवन निर्माण गर्न विभिन्न निकायसँग महासंघ दोलखा शाखाले अपिल गरेको छ । २०६९ सालमा नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष शिव गाउँलेले भवन शिलान्याश गरेपनि भवन निर्माण कार्य अघि बढ्न सकेको थिएन ।

भवन निर्माणलाई तदारुकताका साथ अघि बढाउन विभिन्न उपसमिति गठन भएका छन् । यसअघि महासंघका पदाधिकारी रहने गरी भवन निर्माण समिति बनिसकेको अवस्थामा अनुगमन, आर्थिक तथा खरिद उपसमिति निर्माण गरिएको हो ।

चिरन्जीवी मास्केको संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको छ । सदस्यहरुमा रमेश खतिवडा, लक्ष्मण खड्का, होम पाठक, शरदचन्द्र सापकोटा, निता राउत र उद्धवप्रसाद पोखरेल रहेका छन् ।

यसैगरी, राजेन्द्र मानन्धरको संयोजकत्वमा गठन भएको अनुगमन समितिका सदस्यमा शम्भु गौतम, प्रेस युनियन दोलखाका अध्यक्ष दीपशंकर चौलागाई, प्रेस चौतारी दोलखाका अध्यक्ष मोहन रिजाल, प्रेस सेन्टर दोलखाका कावा अध्यक्ष शिवकुमार भुजेल रहेका छन् ।

मन्दिरा थापाको संयोजकत्वमा खरिद उपसमिति गठन गरिएको छ । समितिका सदस्यहरुमा शिवजी प्रधान, सुवास योन्जन, प्रभु जिरेल र श्याम खतिवडा रहेका छन् ।

दोलखाका सरोकारवालाको पहँुच र प्रभाव पुग्ने गरी सूचना केन्द्र, सभा कक्ष, पुस्तकालयसहितको व्यवस्था हुने गरी निर्माण हुन लागेको सुविधासम्पन्न भवनमा पत्रकारहरुका प्रशासनिक कक्ष, तालिम कक्ष, समाचार सम्पादन, लेखन गर्न सकिने गरी भवन निर्माण हुनेछ ।

पारदर्शी ढंगले भवन निर्माणलाई अघि बढाइने महासंघका अध्यक्ष जीवन लामाले बताए । भवन निर्माणका लागि सक्दो सहयोग गरिदिन सम्पूर्णमा महासंघले अपिलसमेत गरेको छ ।

राससका अनुसार सदरमुकाम चरिकोटस्थित लामाचौर सामुदायिक वन उपभोक्ता समूहको २०० वर्गमिटर जमिन नेपाल सरकारले भोगचलनका लागि महासंघलाई प्रदान गरेको जग्गामा भवन निर्माण हुने भएको छ ।