नवजात शिशु छोडेर अस्पतालबाट महिला बेपत्ता भएपछि…

नवजात शिशु छोडेर अस्पतालबाट महिला बेपत्ता भएपछि…


वीरगञ्ज । नेशनल मेडिकल कलेजमा उपचार गराइरहेकी सर्लाही, कवलासी नपा–२, पिपरिया निवासी कृष्णनन्दन मण्डलकी पत्नी ललितादेवी गत बुधबार रातिदेखि बेपत्ता भएकी छिन् । अस्पतालमा उपचारार्थ रहेकी नवजात शिशुकी आमा भर्खर जन्मेकी छोरीलाई छाडेर बेपत्ता भएपछि उनको खोजीकार्य शुरु भएको छ ।

पति मण्डलले पत्नीको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । गत बुधबार रातिदेखि नै भर्खर प्रसुति भएकी आमा बेपत्ता भएपछि चारदिने शिशुको अवस्था बिग्रिएको छ ।

बताइएअनुसार बुधबार राति साढे ८ बजेतिर ललिता देवीकी आमा र सासूले शिशुलाई दूध खुवाएर विभागको कक्षबाट बाहिर ल्याई आफूसँगै राखेका थिए । राति ११ बजेतिर बच्चा रुन थालेपछि सुत्केरी आमा भएको कक्षभित्र जाँदा बुहारी ललिता देवी नभेटिएपछि अस्पतालमा रातभर खैलाबैला मच्चिएको थियो । पुुस २ गते सर्लाहीको कवलासी नगरपालिका वडा नम्बर २ स्थित पिपरियाका कृष्णनन्दन मण्डलकी पत्नी २० वर्षीया ललितादेवीलाई आइतबार बिहान प्रसूतिका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना भएकी ललितादेवीले सोही दिन दिउँसो १ बजे चिकित्सक शल्यक्रियाबाट छोरी जन्माएकी र मङ्गलबार जनरल वार्डमा सिप्ट भएपछि बुधवार रातिदेखि बेपत्ता भएकी ललिताकी आमा चन्द्रकलादेवी मण्डलले बताइन् । यसमा बिरामी कुरवाको लापरवाही भएको अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दीन अंसारीले बताए । तर ललितादेवीकी सासु तेतरीदेवी र पति कृष्णनन्दन मण्डलले अस्पतालद्वारा लापरवाही भएको प्रतिक्रिया दिएका छन् । हराएकी ललिताको खोजी भइरहेको छ ।
– प्रणय साह