(कथा) माया मिरेज हो, माया मिरेज होइन

(कथा) माया मिरेज हो, माया मिरेज होइन


-प्रकाश के.सी.,
चिसो सिरेटोले उसको शरीरलाई उसको लुगा जस्तै हल्लाइरहेको भान हुन्थ्यो, ऊ लगभग, लगलग कामिरहेको थियो । पातलो ‘हाफ-स्लिभ’ कमिजले उसलाई उसको जीर्ण शरीरसँगै नङ्ग्याइरहेको थियो । मान्छेहरुका ‘झुप्पा’हरु उसको अगाडिबाट लगातार आरपार हुँदै थिए । ‘झुप्पा’मा भरिएका मानव यौनिक रहरहरु उसैको अघिल्तिर, वा ऊनजिकै उभिएकी युवतीमा आँखाहरु भएर पोखिरहन्थे । उक्त युवती छातीसहित मन उघारिएर ‘उदाङ्ग पसल’ बनेकी थिई र जसलाई बितेको आधा घण्टाभित्रै मोल-मोलाइ गरी तर नमिली अझै ‘अनअकुप्पाइड्’ रहेकिथिई । यसरी यतिखेर बात नबन्नुमा ऊ आफ्नै मनलाई गाली गर्दैथिई, ‘मन किन लघारिन्छ त्यतै ?’ यस्तै सोँचेकिहोली भन्ने सोच्न सकिन्छ यतिखेर पक्कै नै ।

जब युवती उसको नजिक उभिन आइपुगी त युवक धेरै झस्कियो । युवतीको शरीरभरि छर्किएको अत्तरको बास्नाले मदहोस प्रायः बन्दै गयो भने जसरी ‘लगभग लोलायो’ । यसरी युवती नजिकै टाँस्सिएर शोखपूर्ण हेराइ तथा कुटील मुस्कानको भरले ऊतिर एकोहोरिँदा युवकको निधारभरि पसिनाहरु टिल्पिलाउन थालेकोथियो यस्तो सिरेटोमा पनि उसको । आफैभित्र साँघुरिएको युवकलाई कुहिनोले घोँचेर युवती उदाङ्गिई-

इन्टरनेशनल भाषामा : ”गो…..। थ्री (तीनवटा औँलाहरु युवकको आँखाअघि सारेर, जसको मतलब तीन सय हुनसक्छ), ओ.के.?”

त्यसपछि युवक हतासिएर, हड्बडाएर अनि केही लजाएर एकातिर दौडियो लगभग र युवती विमुढ, ट्वाल्ल परेर युवक हराएको मोडतिर घोरिनथाली । एउटा बूढोले हातको पञ्जाका केही औँला उसका आँखाहरु अघिल्तिर हल्लाएपछि युवती त्यही बूढालाई पछि लगाई र सँगै देब्रेतर्फबाट भित्रतिर छिरी ।

चाईनिज अँग्रेजीमा : ”एट्टी दोलर…..जस्ट एट्टी दोलर….वाटर प्रुफ् .. वाटर प्रुफ्….गुद..वाचअ….बाइ टु…वन् फ्री…!”(असी डलर…मात्र, असी डलर…पानी नपस्ने..राम्रो घडी..दुईवटा किने अर्को सित्तैमा…!)

तालु खुइलिएको लोकल बूढो सस्तो चाईनिज डुप्लिकेट घडीहरु बेच्न खोज्छ, एकजोडी युरोपियनले दुईवटाको पैसामा तीनवटा किन्छन्, तिनीहरुको पछाडि उभिएका दुईवटी नेपाली महिलाहरु ठेलामठेल गर्दै बूढोको स्टलनेर पस्छन्-

”नेपालतिर त यस्तै लानुपर्छ क्या……एयरपोर्टका पुलिसहरुले मागेर खुब सताउँछन्, अनि हङकङबाट आएको भनेपछि आफन्तहरुका तातीँ नै लाग्छ घरमा, एउटा एउटा दिए, दिएको जस्तो पनि देखिने ….अनि खर्च पनि जोगिने…बुझिस् ? (क्यान्टोनिजमा) :…ओई….एप्पा मन, सामको, ता..हुम्ता ?” (एकसयमा तीनवटा, हुन्छ कि हुँदैन ?)

क्यान्टोनिजमा : ”…. स्यून..स्यून…पे लेइ ला…।” (ल,..ल, लैजाऊ !) भन्दै तीनवटा घडीहरु उक्त महिलाहरुलाई सय डलरमा दिन्छ बूढो र महिलाहरु खितिती हाँस्दै बाहिरिन्छन् । अनि, बिस्तारै वरपरका पसलहरुसँगै मार्केटभरि जताततै बत्तिहरु बल्न थाल्छ । साँझ पर्न थालेपछि यता जमघट केही ज्यादै हुन्छ । सडकपेटीको ढोकाहरु अगाडि स्टुल राखेर बस्ने आइमाईहरु हतारिन्छन्, सभेन-इलेभन पसल, र उताको चोक वरिपरि ठाँटिएर उदाङ्गिएका यौवनाहरुले भरिभराउ हुन्छ र तिनीहरुलाई हेर्ने, मोल-मोलाइ गर्ने सौखिनहरु पनि आइरहन्छन् अनि गइरहन्छन् । सेभेन-इलेभन पसलको अगाडि एउटा जँडिया टिल्ल परेर उँघिरहेको छ । उसको नजिकै एउटा बूढा घोँडारेसको नम्वरहरु जाँचिरहेको छ । मुखमा च्यापेको एउटा चुरोट खरानी बन्दै छोट्टिइँदै गएको त्यस बूढोलाई, जस्तो यादै छैन । चुरोटको च्यापाइमा कुनै प्रकारको भर वा स्थितिवोध हुँदो हो, या, अझै क्रियाशील या स्वप्नमय छु भन्ने जनाउँदो हो ओँठमा च्यापिएर सल्किँदै जाने चुरोटका खिल्लीले !

पानीको हल्का छिट्टाले मलाई उक्त बूढोसँगै सेभेन-इलेभन-सपको पिँढीतिर खुच्च्याइदियो । क्षणभरपहिले र अहिलेमा सुख्खा र ओसिलो समयको अन्तर थपिएको छ । केही थोपाहरुले उक्त बूढाको पत्रिकालाई भिजाउँदा पनि ऊ घोँडाको विशेषता पढ्नलाई छाडेको छैन । सबैलाई थाहै भएको हो, ‘हृयाप्पी सन्डे’ नामको घोँडा र त्यसको ज्याकी अल्बर्ट सबैभन्दा अव्वल हो र मानिन्छ, जसका पराजयको रेकर्ड नै छैन यो तीन सिजनभरि ।

क्यान्टोनिजमा : ”आसोक…..! सपसे हौ कोको माआ हौ हौ गा….लेइ हुम्ची मा ? कानअ कोको ल ।” (अँकल..! चौध नम्बरको घोँडा धेरै राम्रो छ….तपाईँलाई थाहा छैन र ? त्यही छान न !)

बूढा हाँस्छ फिस्स-

क्यान्टोनिजमा : ”……अँ चिया…अँ चिया….., हुम्काइ लेइ कोअचाइ !”(मलाई थाहा छ, मलाई थाहा छ, धन्यवाद, अग्लो केटा !)

बूढा सर्सर्ती धन्यवाद दिन्छ, पहिले नै ती कुरा थाहा भए तापनि अनि उसैगरी घोरिन थाल्छ पत्रिकामा । म फुस्रो मनोभावले दाहिनेको मोडतिर चिहृयाउन थाल्छु । छाती र आँखालाई मुस्कानले रङ्ग्याउँदै यौनिक साहुनीहरुका उभ्याइमा उही केही घण्टाअघिकी युवती थपिन्छे । म घोरिएर हेर्छु र आँखाले नै छाम्नथाल्छु, ऊ व्यावसायिकता दर्शाउँछे र अरुभन्दा अलि उदार भएर छातीका खोँच झल्काइदिन्छे । उही ठाउँमा उसैगरी उभिँदा पनि सबै अरुभन्दा पृथक देखिएर छुट्टिइन नै चाहन्छन् भीडबाट ! देख्नेले कसरी देख्लान्, कुरा बेग्लै हो त्यो । त्यस युवतीमा त्यो ‘लज्जालु’ नेपाली केटोले के देख्यो, जो लाटोले केरा हेरेको झैँ गरी हेर्ने गर्थ्यो ? म त्यही खोज्न थाल्दै थिएँ, ऊ फगत मासुको गोल गोल आकारबाहेक केही थिइन, उसको हाँसोमा, हेराइमा अनि बोलाइमा पनि खासै खास थिएन जसको लागि मरिमेट्न सकियोस् । सस्तो र क्षूद्रताको विरुपपनले मन खल्बल्याइदिन्छ मेरो र उसैगरी चुपचाप उभिइरहन्छु । पानी दुई चार छिट्टाभन्दा पर्दै परेनछ, बूढा र म उसैगरी साँघुरिएर उभिएछौँ, ओत खेप्नको लागि भनेर, बेक्कारमा ! क्याथी अझै निस्किएकी थिईन र यसरी बस्दा-बस्दा अल्छी, दिक्कलाग्दो भइसकेको थियो । मलाई आजचाहिँ पक्का नै थियो कि उसलाई भेटेरै कुरा गरी छाड्ने छु । हप्तौँ भएको थियो उसले मेरो फोन रिसिभ नगरेकी, र हिजोबाट कुर्न थालेको उसको बाटोमा कसो नझुल्केली आज !

अलि परको रेस्टुरेन्टमा मानिसहरु खचाखच हुन्छन्, यसरी एउटा ठूलो छानामुनि भरिभराउ भएका अनेकौँ टेबुलमध्ये कुनाको तर सेभेन-इलेभन-सप अनि उता छेउको मोड छर्लङ्ग देखिने एउटा टेबुलमा अढेसिइसकेपछि खानाको अर्डर दिन्छु र पर्खँदै अनि उतैतिर एकोहोरो नजर दौडाइरहन्छु ।

युवतीले ओँठको लालीमा थप ‘टच’ दिन्छे ‘लिप-लाइनर’को मद्दतले, व्यागबाट सानो ऐना निकालेर त्यसमा हेर्दै आफूलाई । सानो ऐनामा पनि उसको हत्केलाभरिको गोह्रो मुहार झुलुक्कझैँ झुल्किन्छ, त्यही स्वरुपमा उसको आँखाहरु मुस्कुराउँछन्, त्यो मुस्कानमा जस्तो कुनै शोख थपिएको होस् । उसका गालाको दूध जस्तो लाग्ने रङमा अलिकति अबिर घोलिएको लालिमा छाउँछ र चँचल नयन उसका घरिघरि देब्रेतिर जान्छ अनि फेरि ऊ हाँस्छे । रमाइलो…..नै मान्नुपर्छ, सेभेन-इलेभन पसलको लाइनको यता छेउतर्फको बिल्डिङ्गको वल्लो आडबाट हल्का-हल्का मुस्कुराउँदै उही नेपाली ठिटोले हेर्दै गरेको हुन्छ । उनीहरुको परिचयमा मुस्कानको साथ थपिएछ, राम्रै हो ! राम्रो त उक्त निश्छल केटोको मुस्कानमा पनि थपिएको छ । ऊ अलिकति स्टाइलले यताको बिल्डिङ्गको भित्ताको आडमा उभिएको छ अनि लुगामा आफूलाई सुहाउने किसिमले भरेको छ । उसको उक्त प्रस्तुतिमा पनि नयाँ आयाम थपिएको छ । राम्रो हो त्यो, साँच्चैमा !

नुन नै लागेको हुँदैन, रिस उठ्दो….!, नुनको बट्टालाई हल्लाएर छर्किन्छु, यसरी थपिएको अतिरिक्त स्वाद सम्पूर्ण स्वादसँग तारतम्य मिलाउन सक्दैन र उक्त स्वादलाई अतिरिक्त महसुस गरिनुमा नै यस्ता होटेलहरुमा खानुको औचित्यता रहेको छ मेरो । क्याथीले धेरै मुस्किलले मात्राहरु मिलाउन सकेकी थिई तरकारीमा, तर उसको पकाइको मिठास, सम्झनामा मात्र रहेको छ बितेका हप्तौँबाट । अचानक, सँगै बस्ने भनेर हाम्रो महिनौँको चिनाजानीमा नयाँ अध्याय अचानकै थपेकी उसले सातौँ महिनापश्चात फेरि अचानकै अलग्गिएकी थिई । खानाको स्वादमा रहर घोल्छु अनि त्यसलाई स्वादिलो सम्झँदै खानथाल्छु, पेट त भर्नै पर्‍यो जसरी भए पनि ! पानीले धकेल्नु पर्छ गाँसहरुलाई भित्रसम्मन् ।

अँध्यारोले रङहरुमा रङ्ग्याएर रङ्गिन पारेको एउटा अर्को रात, उस्तैगरी घोरिनु पर्ने छ मैले ! उसले घर छोडेर, साथ तोडेर गएकी भए तापनि यतिको समयावधिमा साटिएका रमाइला-नरमाइला पलहरुको सम्झनाहरुलाई त चटक्कै छोड्न नसक्नु पर्ने ! ऊ गए पछिका लगभग चारदिन खुशीले रहेको भए तापनि अहिले किन मन उसलाई नै खोजिरहेछ ? उसँग परिरहने ती असँख्य झगडाहरु किन मानसमा मीठोसँग छाउँछ सम्झना बनी ? किन प्यारो लाग्छ ती झगडाहरु ? ऊ चिच्याइरहेको किन हेरिरहूँ र सुनिरहूँझैँ लाग्छ खाली-खाली बनेको मेरो अपार्टमेन्टमा ? उसको गह्रुँगो उपस्थिति राम्रो नै त थियो यसरी सम्पूर्णतः रित्तिइनु भन्दा !

ती दुई अहिले मेरो टेबुल नजिकैको झयालनेर उभिएका रहेछन् ! बिनासित्तिमा मेरो मनलाई रमाइलो पारेका छन् यी दुईको सहउपस्थितिले । मेरो मबाट नासिइरहेका समयहरुलाई अलिकति भए पनि रङ्ग्याइदिएका छन्, त्यस अर्थमा मैले राम्रो मान्ने गरेको छु, झयाङ्गिइँदै गइरहेका उनीहरु बीचको परिचयमा । म तर्फको भित्तामा अढेसिँदै र प्रसङ्गलाई कुराहरुमा बुन्ने प्रयासमा रत यी दुई, प्रसङ्गहरु नै खोज्दै हुन्छन् लगातार अगाडि नियालेर, या समेटिएका प्रसङ्गहरुलाई कुराहरुमा बुन्न भाषा पर्याप्त नभएको पनि हुन सक्छ । नेपाली ठिटो क्यान्टोनिज नजान्ने पटक्कै अनि अँग्रेजीचाहिँ उही गन्तीकै जान्ने र युवती केही क्यान्टोनिज, केही उही केटोकै स्तरको अँग्रेजी जान्ने भएकाले प्रेमालापमा अवरुद्ध छाएको हुनसक्छ । प्रेमको प्रस्तुतिमा शब्दको जरुरत नै पर्छ भन्ने कँहा हो र ?

ब्रोकन अँग्रेजीमा : ”मी…आमेई । यू ?”

चोर औँलाले आफ्नो नाकलाई आफ्नो प्रतिनिधित्व गरी औँल्याउँदै आमेईले परिचय साट्न खोजी, लगभग टाँस्सिएर ठिटोसँग । ठिटो चुइङ्गम चपाउँदै अनि मुस्कुराउँदै वा लजाउँदै, हो…लजाउँदै बिस्तारै बोल्छ., छातीलाई आफ्नो प्रतिनिधि बनाउन चोर औँलाले आफैलाई आफ्नो छातीमा ताकेर ।

”राम..।”

ब्रोकन अँग्रेजी र क्यान्टोनिजमा : ”यू नो हृयाभ लेँग लोई ? व्यूतिफुल गल ? हृयाउ…मौ ?” (तिमीसँग केटीसाथी छैन ?)

फेरि पनि आमेईले कुहिनोद्वारा रामलाई हल्का धकेलेकिथिई कोखामा अनि राम खितिती हाँस्दै हल्का धकेलिइएको थियो । कोखामा छुँदा मात्र पनि ऊ कुत्कुतिएर हाँस्ने रहेछ, निश्छल, हाँस्दा उसको आँखाहरु लगभग चिम्लेजस्तै हुने रहेछ । कति भिन्न र छुट्टै भेटिन्छ वा पाइन्छ मान्छे हाँसोमा ? सम्पूर्ण व्यक्तित्व एकक्षणको, एकैपलको स्वच्छन्द अट्टहासमा प्रष्टिन्छ । राम हाँसेकोले या आँखा पूरै खुम्च्याएर हाँसेकोले या कुहिनोले कोखामा छुँदा गुद्-गुदिएर हाँसेकोले या अन्य अर्कै कारणले हुनसक्छ, आमेई तुरुन्तै उसको साख्खे भएकिथिई, रामको निधारभरि छरिएको केशलाई सहल्याउँदैथिई, आँखाभित्र टन्न फूल फुलाएर अनि राम जो आमेइको स्पर्शले साँगुरिरहेको थियो, अहिले रक्तिमिएको छ । उसका कानहरुको लोतीहरु पनि काफलझैँ पाकेको छ जसलाई आमेई खेल्दै हुन्छे । उसको आँखाहरुबाट लारका लार प्रेम चुहिइरहेको हुन्छ र आँखाले पनि सुम्सुम्याउँदै र हत्केलामा रामको अनुहारलाई भरेर आफूतिर फर्काउँदै सोध्छे-

चाईनिज अँग्रेजीमा : ”लाम ? यू नो हृयाभ गल फिलेन ?” (राम ! तिमीसँग केटीसाथी छैन ?)

अँग्रेजीमा : ”नो ।”

खुशी भएकी पक्कै हो आमेई, तर रामलाई अलिकति झुकाएर आफ्नो शिरसँग जोडेपछि भने ऊ उदास भई । हुनसक्छ, उसको यौवनावेगमा लाचारीहरु तटस्थ भएर रहेको होस् या ती क्षणिक लाग्ने खुशीहरुलाई यथार्थको धरातलमा लाग्ने विवशताका आँधीले सोहोरेर लगेको होस्, वस्तुतः ऊ गम्भीर भई र धेरैबेरसम्म रोडतिर, नाइट मार्केटतिर, मार्केटभरि-भरि भरिएर किनबेचिरहेका भीडहरुतिर, केही यौनिक पसलहरु जिउमा बोकेर हिँडेका सहकर्मीहरुतिर अनि फेरि त्यही बैँशले उन्मुक्त शरीरलाई भोको आँखाहरुको नाप-तोलाइ गराइरहेका यौनिक पसलहरु जिउमा बोकेर उभिएका सहकर्मीहरुतिर दोहोर्‍याएर हेरिरही लगातार धेरैबेरसम्म । राम कहिले आमेईलाई त कहिले वरपर हेर्न थाल्यो तर जुन परिमाणमा ऊ आमेईसँग छोइएको थियो त्यसमा रत्तीभरले पनि फरक पारेन भन्दा हुन्छ र केही पलको मौनतापछि उसको मधुर स्वर सुनियो-

ब्रोकन अँग्रेजीमा : ”यू व्यूटिफुल….!”(तिमी राम्री छौ ।)

अनि लगत्तै त्यसपछि लजाएको थियो ऊ, जसलाई त्यस्तो स्थितिमा देखेर आमेई रमाएकी थिई, क्षणभर पहिलेको उदासीको अत्तोपत्तो बाँकी नराखेर । बिस्तारै रामको देब्रे गाला चिमोटेकी थिई आमेईले र दुबै हाँसेका थिए त्यसपछि । एउटी आमेईजस्ती ‘पसल’ सेभेन-इलेभन-सपअगाडि उभिएर चाख लिई हाँसेकी थिई यतातिर हेर्दै । राम त्यसपछि लजाएर ”आई गो होम” भन्दै हिड्दा आमेई ”बाई बाई ल…” भन्दै खित्खिताएकिथिई ।

एउटा लामो कस तानेर धूँवालाई गोल गर्दै फ्याँक्न खोज्छु आकाशमा, तर हल्का हावाले छ्याल्लव्याल्ल पारिदिन्छ, म तितरबितर भइरहेका धूँवाहरुमा स्मृतिहरु केलाउन खोज्छु ती स्वतः अस्थीर रहन्छन् । बितेका हप्ताभरिका अस्थीरतालाई आशाका पातलो लेपमा टाँसेर आँखा अगाडिको सडकमा टाँस्छु । दश बज्न लागिसकेको हुन्छ तर अझैसम्म क्याथी हिँड्नु पर्ने बाटो ऊविहीन हुन्छ । क्याथीकै साथीले अचेल क्याथी यता भएर जाने गर्छे कतै यतै भनेर भनेकी थिई, जसलाई हिजो दिनभरि जसो अनि आज बिहानबाट अझैसम्म भेटिहाल्छु कि भनेर पर्खिरहेको छु । कामबाट लिएको हप्ताभरको छुट्टीको आज अन्तिम दिन थियो । काममा जान नै मन छैन । घरमा बस्न सकिँदैन । उसको बानी लागेको छ मलाई तर त्यो मायाचाहिँ पक्कै होइन । पक्कै होइन, किनकि उसको अनुपस्थितिले म पागल भएको छैन, रात-रातभर रक्सीले मातेर उसलाई गाली गर्दै या पुकार्दै म हिँडेको छैन । अथवा, म साँच्चैको पागल भएको छु, लगातार दुई दिनदेखि उसको एक झलकको पर्खाइमा छु, वरिपरि छाती भरिएकी षोडसीहरुको भीडमा छु, कामुकताले लबालब परिवेशमा छु, झयाँगिइँदै गइरहेको माया प्रीतिको साक्षी बसेको छु, जलन हुन्न, उत्तेजित हुन्न या यौन अनुभूत शून्य छु । क्याथीले मलाई अपाङ्ग नै बनाएकी हुनुपर्छ । उसकी साथीले उसलाई अन्य मान्छेसँग हातमा हात राखेर हिँडेकी देखेको भनेकी भए तापनि ममा जलन छाएको छैन । म ईर्ष्यावोधहीन भएको छु, म अनुभूति नहुने मान्छे…….म अपाङ्ग मान्छे भएको छु । अथवा म बिचारिरहेको छु जीवनका नाटकीय घटना तथा स्वरुपहरुलाई । मैले पढेर पनि बुझन नसकिने वोध अनुभव गरिरहेको छु । मलाई प्रेम भएको छैन । मलाई, रामलाई जस्तो एकोहोरोपनले छोएको छैन । म बिगार गर्न सक्छु, म रक्सीले मात्तिएर हिँड्न सक्छु, म त्यही आमेईहरु जस्तासँग पूराका पूरा रात बिताइदिन सक्छु । म युवतीको माया किन्न सक्छु । म युवतीको माया भोग्न सक्छु । म क्याथीले बनाएर छोडेको अपाङ्ग होइन । मेरो नियति अपाङ्ग मनसँग हुनु होइन, पक्कै पक्कै नै ।

क्यान्टोनिजमा : ”छाइयान …छाइयान….फाईते चाउवा…आ… !” (पुलिस…..पुलिस….छिटो भाग….!)

नजिकैका युवतीहरु तितरबितर लाग्छन्, दुईजना पुलिसहरुका साथमा आएका केही सिभिल लुगा लगाएका पुलिसहरु चारैतिर फैलिन्छन् । ‘इलेगल’ धन्दावालहरु या ‘ओभर स्टेयर्स’लाई पकड्ने ‘र्‍याकेट’ सँचालित गरिएछ, क्यारे ! एउटा पुलिस धेरैबेर मेरैअघि उभिन्छ, मलाई त्यसै रिस उठ्छ, ‘फुक्काई….माआफानअ छाइयान …!'(मुर्दार….. समस्या दिने….पुलिस….!) एकैक्षण ज्यादा ऊ मेरो सीधा घुराइको दायराभित्र उभिइरहेको भए गाली उसैले सुन्नेगरी दिन्थेँ, धन्न, गयो र पो ! आफ्नो ठीकपछाडि हलचल पाएर हेर्दा आमेईलाई मुस्कुराउँदै साख्खे बन्दै मेरो कोटको छेऊ समातेर चुइङ्गगम चपाउँदै अगाडि हेर्दै गरेकी भेटेँ । ऊ यसरी नजिकिएर उभिएको पनि होस नहुने गरेर घोरिएछु क्याथीतिर, जुन पक्कै पनि राम्रो होइन । यस्तै हाल रहे, बजारभरि नाङ्गिएर गीत गाउँदै हिँड्न के बेर ! मैले अगाडि बढ्नुपर्छ, जीवन यदि चलाउने नै भए । आँखाहरुलाई मुस्कानमा घोलेर आश्वस्त जति नै राख्न कोशिस गरेकी भए तापनि आमेई पक्कै पनि आश्वस्त थिईन, सहजै थाहा पाएँ मैले । मलाई अघि त जसरी भए पनि बढ्नु नै छ, सल्किएर जल्दै गई खरानी बन्ने सलाइको काँटीको भोगाइ भोग्नु छैन मलाई अवश्य नै । त्यसैले सोधेँ-

मन्डारिनमा : ”वान अ स्योँग पुइअ हाव मा ? वो चाअ ?” (मसँग मेरोमा जाने हो ? रातभरि ?)

मुसुक्क मुस्कुराउँदै अलि ढेपिएर तलदेखि माथिसम्म हेर्दै व्यापारी भई आमेई तुरुन्तै ।

मन्डारिनमा : ”यी छेँग युन, यी क्वअ वानअ स्योँग ।” (एकहजार लाग्छ, रातभरिको लागि त ।)

मन्डारिनमा : ”हौ पुअ हाउ…….यी चिँगअ हान् वान अ ।” (कम्मन….., आधा रात त यहीँ बित्न लाग्यो नी ।)

भाउ खोज्छे, बेकारमा । कसरी शरीरको मोल गर्न सकेकी होली ? यतिखेर यसको आत्मा कता गयो होला अनि रहर ? त्यो बारम्बार रामको गाला छाम्दा उठ्ने मनोवृतिहरु कता विलाए होलान् ? कसरी पूर्ण अपरिचितसम्मुख निःवस्त्र नाङ्गिन सक्छे होली ? यसले व्युँझने प्रखरको शुरुवातमा कस्तो कामना गर्छे होली दिनको ?

मन्डारिनमा : ”पा पा युन, ख्वअ यी मा ?” (आठसय डलर, हुन्छ ?)

के कम थिई र……-टक्टक्याउन बेर नगर्ने जस्तो गरी भाउ गर्दै गई, ज्यादा भारले थिच्दै मलाई ।

मन्डारिनमा : ”यु क्वअ, पुक्ख्वअ यी, च्वअ स्यून, प्यू यूनअ ला ।” (जाने भए पाँचसयमा हिँड्, नत्र भए भैगयो ।)

मन्डारिनमा : हौ ! से से नी ! (हन्छ ! धन्यवाद तपाईँलाई !)

ऊ तयार भई र हलक्कै सौँपी जिउ मेरो आडको सहारामा, तर त्यसले मन या तन नतानेकोले चुपचाप अलग-अलग हिँड्न भन्दै सेभेन-इलेभन-सपको दाहिने तर्फबाट याउमातेईतिर लागेँ । अब हेर्नेछैन, यो सेभेन-इलेभन-सपलाई यसरी अनि कुर्ने छैन त्यही मोडको त्यो बाटो अबउपरान्त, जीवन मेरो अब अगाडि बढ्ने छ, ओँठमा मेरो पुरानो हाँसो फिर्ने छ, उठ्दैनन् रातभरि लामा-लामा सुस्केराहरु अनि दुख्दैनन् पलहरु ‘आह…!’ बनेर मुटुभरि । म जीवनसँगै समय भएर अगाडि बढेको छु अबउपरान्त लगातार क्रमशः ।

याउमातेई ‘इमिग्रेसन’ नजिकको कारपार्कनिर पुग्दा अचानकै पानी दर्किन्छ । हङकङको यस्तो मौसम मलाई ज्यादै रमाइलो लाग्छ मलाई । प्रेमिकाहरु पनि यसैगरी अचानकै आउँछन् र यसैगरी अचानकै हराउँछन् पनि । क्याथी पनि दुर्घटनाको जस्तो आकस्मिकता बोकेर आएकिथिई मेरो जीवनमा अनि उस्तै आकस्मिकतामा मनसहितको दैनिकीमा रनभुल्ल पारेर गएकिथिई । मैले बानी पार्नुपर्छ…..यसरी यस्तै ज्यादा आघातहरु त खेप्न सक्दैन पक्कै नै दिलले । ‘के थाहा, कुन दिन हातै उठाइदिने हो……धडि्कन छाडेर ।’ बानी साँच्चै नै पार्नुपर्छ मैले मौसम फेरिएझैँ फेरिइन, नत्र, जिन्दगीमा पछुताउनुबाहेक केही रहन्न । सोँचाइका विक्षिप्तावस्थामा कतिखेर आमेईलाई अँठ्याउन पुगेछु, उसको तातो उष्णताले छातीमा विचलन ल्याउँदै गर्छ । उसको रेशमी केशको मुलायमपन चिउँडोमा अनुभव गर्छु । केशसँगै क्याथी पनि आफ्नो चीरपरिचित वास्नासित मेरो वासनामा घोलिन्छे, आमेईको शरीर भएर । उस्तै नै लाग्छ, यसरी छातीभरि यौवना च्यापेर बलेसीबाट तुर्किरहेको वर्षाका धारहरु ल्याम्पको प्रकाशमा रङ्गिएको हेर्दा । स्पर्श उस्तै, साथ उस्तै अनि मात पनि उस्तै । आमेई मेरो आँङमा बेह्रिएको उसको अँगालोमा पकड् बलियो पार्छे, उसको बाहुपासमा न्यानोपन सोहोरिएर आउँछ जसले भावनालाई बफ्याउँछ, बाफिलो अनुभूतिसँगै अनुनय तिखारिएर ओँठहरुमा उक्लन थाल्छ । उसको केशमा मेरा हातहरु उस्तै जतनसाथ सग्बगाउँछन् जसरी क्याथीकोमा सग्बगाउँथे र त मैले हुवहू कस्दै ल्याएँ सम्झनासँगै आमेईलाई आफ्नो वाहुपासमा त्यसपछि । खुशी हुनैपर्छ मैले यतिखेर, पैसाले उस्तै नै अनुभूति दिलाइरहेको थियो । रहरहरु ताजिएर आउँछन् मानसभरि, मनभरि अनि सम्बन्धित अँगभरि । मदहोसीले लोलाउन थालेको आँखामा पार्क गर्न ल्याएको कारको सीधा हेडलाइट पर्छ र केही पल तिर्मिर्‍याउँछ । ज्यादा थपिएको उज्यालोले यता तर्फको कुनालाई प्रकाशमय पार्छ र एउटा सानो सित्कारसँगै आमेईको बन्धन खुकुलिएको प्रष्टै महसुस गर्छु । कार कुनाबाट मोडिइसकेको हुन्छ, कारको व्याकलाइटलाई पछ्याएको नजरहरु डीलनेरको कारको बीचमा यतातर्फ फर्किएर कोल्टे सुतिरहेको आकृतिमा पर्छ, जहाँतर्फ सुस्त-सुस्त पाइला चाल्दै हुन्छे आमेई अनि म बिस्तारै एकछेउ उभिन्छु खम्बा जस्तै ठ्याक्कै !

प्रष्टै देखिन्छ, उक्त व्यक्ति उही राम नै थियो जो न्यूज पेपरहरु ओछ्याएर सुतेको हुन्छ । निदाएकै हो, सन्तोषले ? थाहा छैन, तर अनुहारमा कुनै किसिमको सँकुचन छैन । ऊ टेन्सन-फ्री सुतेको छ । आफ्नो यस्तो निराहारावस्थामा पनि सपना देखिरहेको हुन सक्छ, सपना सम्भवतः आमेईसँग सम्बन्धित हुनुपर्छ र त उसको ओँठमा मन्दझैँ मुस्कान छचल्किएको छ । यसपालिभने उनीहरुबीचको परिचय वा सम्बन्धको चियामा आत्मीयताको शहद ज्यादा घोलियो होला र त नै त्यसको प्रभाव वा मिठास यतिखेर उसका स्वप्निल ओँठहरुले गरिरहेको छ, सायद ।

आमेई सजिलैसँग रामको शिरनेर थचक्कै बसी । उसको लामो रेशमी केशहरु हावाको हल्का लहरसँगै लहरिन्थ्यो जसलाई भर्खरै सोहोरेर एका तर्फबाट पछाडि पुर्‍याई बाँधेकिथिई र उसको अनुहार पूर्णेको जून भएको छ अहिले । ऊ एकोहोरो बच्चाको जस्तै अवोध देखिएको रामको मुहार नियाल्न थाली । आँखाबाट ममताहरुझैँ हेराइले अनुहार सुम्सुम्याएकीचाहिँ पक्कै हो । चित्त पनि अनौठो हुन्छ, पुग्दै पुग्दैन, अथवा, बुझ्दै बुझ्दैन । आँखाले छोएको स्पर्शले चित्त नबुझेपछि आफ्नो कोमल हातले बिस्तारै उसको गाला मुसार्न थाली । हल्का लागेको जुँगाको रेखीलाई छोएर उसको पातलो ओँठमा औँला चलाउन थाली त राम कुन्मुनायो र अलिकति चल्मलायो अनि उसको दाहिने हात आमेईको काखमा पर्‍यो । आमेई हड्बडिई अलिकति, जस्तो लजाई केही । शरम अनौठो किसिमको देखियो उसमा । त्यही शरमको चोरी लुकाउन फर्केर मतिर हेर्न थाल्दा म अविरल दर्किरहेको वर्षाका मुसलधारतिर हेरिसकेको थिएँ । झुक्याएर हेर्न पो मज्जा आउँछ । अलि परको छेउमा ट्याक्सीबाट उत्रेर एउटी आइमाई ब्यागलाई छाताको स्वरुप दिँदै देब्रेतिर दौडी, मलाई थाहा छ, उसको ठीक व्यागको सानो परिधिमुनिको शिरको भागबाहेक सबै भिजिसकेको हुनुपर्छ दुई मिनेटमै, ग्यारेन्टी छ ।

आमेईले केश खेलाउन थाल्दा झसङ्गिएर व्युँझेको हुनुपर्छ राम, ऊ हड्बडाएर थुचुक्क बसी निहुँरिँदै अनि दुबै हातले शिर ढाक्ने प्रयास गर्दै बर्बरायो-

”अब कहिल्यै चोर्ने छैन …बाबा !, पुग्यो….नपिट्नुस् न..बा…”

अचानक, जस्तो व्युँझ्यो र हड्बडाएकी, हतासिएकी आमेईलाई अघिल्तिर देख्दा आश्चर्य, सँकोच, खुशी आदिले किँकर्तव्यविमुढ वा रनभुल्लमा पर्‍यो र त्यस्तै आमेईको हालत थियो । तिनीहरुको विमुढताले ग्रस्त मनस्थितिमा मैले, जस्तो लाठी चलाएँ, ‘स्वाँठ्ठ !’, फट्याक्क लाइटर जलाएर चुरोट सल्काउँदै अनि एकमुस्लो नीलो धूँवा ‘हुरुरुरु’ फाल्दै पट्टाक्षेपभरि । अनायासै मेरो उपस्थितिले दुबैलाई असजिलो बनाएको भने पक्कै हो, आमेईलाई समातेको रामको हात अहिले वापस आफैंमा आइपुगेको थियो अनि आँखाले एकतमास धकेलिरहेकी थिई आमेईले मलाई । बिनानिम्तो प्रवेश गरेको पाहुनालाई बाटो तताउने आग्रहले आक्रान्त गरिएँ म तुरुन्तै ।

बाहिर झमझम पानी दर्किरहेको थियो । वर्षा जन्मौँ-जन्मौँ नरोकिने छाँटले दर्केको लाग्थ्यो । तर मलाई थाहै भएको हो, त्यस्तो हुँदैन, कुनै त पल रोकिइनु नै पर्छ तर योचाहिँ हो कि, रोकिने लक्षण कतै थिएन । वर्षाको याममा कति रहरलाग्दा सम्झनाहरु यस्तै गल्लीहरुमा सँगालिएको थियो क्याथीसँग ! त्यसको वास्तवमा लेखा त राखिएको थिएन तर अहिले एकमुस्ट सम्झनाका पलहरु थोकमा हात परेको थियो । क्याथी साँच्चैमा वर्षामा रुझ्न मन पराउने केटी हो । के थाहा, कतै रुझ्दै सम्झनाहरुलाई मेट्ने प्रयत्न गर्दैहोली ! के थाहा ? कति त्यही सम्झनामा म आउँदा उसको पनि त ओँठमा मुस्कान आउँदो हो ! अहिले पनि लाग्दैथियो, वर्षामा मेरो नियतिको स्वरुप गाँसिएको झैँ थियो । एकजोर कार अलिपरबाट हुइँकिएर आउँदै थियो । कारको हेडलाइटमा पानीका धारहरुमा ईन्द्रेणी परेको थियो । अगाडि, आधा रात उस्तै थियो । जानुभन्दा पहिले फर्केर झलक्क हेरेँ, राम आमेईको अँगालोमा हो या आमेई, रामको अँगालो या दुबै एकअर्काको अँगालोमा लिप्सिसकेका थिए, त्यसपछि चुरोटलाई बाहिर फालेँ, जुन केही बेरमा नै भिजेर हिलो भयो र सायद, सन्तोषले बाहिरिएँ……मनसँगै मलाई सम्पूर्णतः भिजाउन झरीलाई ज्यादा समय लागेन र म भिज्दै गएँ लगातार अगाडि त्यसपछि निरन्तर ।