शेखर भन्छन्, ‘पार्टीभित्रको अन्तर्घातले हारे’

शेखर भन्छन्, ‘पार्टीभित्रको अन्तर्घातले हारे’


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी भित्रको अन्तर्घातका कारण आफूले प्रतिनिधि सभा चुनावमा हार बेर्होनुपरेको बताएका छन् ।

आज पत्रकारसँग कुराकानी गर्दै उनले पार्टी भित्रैबाट अन्तर्घात भएका कारण आफू निर्वाचनमा पराजित भएको बताउँदै आफ्नो पराजयबारे कांग्रेस भित्र गम्भीर छलफल हुनुपर्ने बताए ।

उनले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने आवश्यकता समेत औँल्याए । पत्रकारको जिज्ञासामा उनले कांग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको संगठनमा बढी केन्द्रित हुने स्पष्ट पारेका छन् ।

चुनावमा पार्टीले बेहोनुपरेको हारबारे समिक्षा गर्न उनले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग समेत गरे । कोइरालाले भने,‘निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि केन्द्रीय समितिको बैठक तत्काल बोलाउनुपर्छ ।’

कोइरालाले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको सांगठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै उनले अब पार्टीको संगठन टोल–टोलसम्म पु-याउनुपर्ने विषयमा जोड दिए ।
पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा उनले आफू राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वाभाविक रहेको स्पष्ट पारेका छन् ।

कांग्रेसभित्र आशाका पात्रका रुपमा लिइने कोइराला यसपाली मोरङबाट प्रतिनिधि सभामा उम्मेदवार भएपनि लालबाबु पण्डितले उनलाई झिनो मतका साथ पराजित गरेका थिए ।

कोईराला परिवार राजनीतिक परिवार भएकोले शेखर कोइरालाले सुरुदेखि नै नेपाली कांग्रेसबाट राजनीति गरेका थिए । उनको हारले सिंगो कोइराला परिवारमा मात्रै नभई कांग्रेस भित्रै ठूलो असर पर्ने देखिन्छ ।