‘किसुनजीको स्मृति दिवसमा आयोजित समारोहमा प्रमुख अतिथि बन्न देउवाले किन अस्विकार गरे ?

‘किसुनजीको स्मृति दिवसमा आयोजित समारोहमा प्रमुख अतिथि बन्न देउवाले किन अस्विकार गरे ?


नेपाली काङ्ग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जन्मजयन्तिका अवसरमा आयोजित विशेष समारोहको प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्नुहुने भएको छ । भट्टराई आश्रम बाँडेगाउँमा पुष ८ गते शनिबार आयोजना हुने ‘जन्मजयन्ति समारोह’मा केपी ओली प्रमुख अतिथि बन्नुभएपछि सामाजिक सञ्जालमा यस विषयलाई लिएर विभिन्न टिका–टिप्पणी भएका छन् ।

काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा हुँदाहुँदै ओलीलाई प्रमुख अतिथि बनाइनु उचित नभएको भन्ने टिप्पणी काङ्ग्रेसवृत्तमा भएको छ । आयोजक पक्षले ‘सत्ता र शक्ति’प्रति आकर्षित भएर ‘जाँदै गरेको प्रधानमन्त्री’का ठाउँमा ‘हुँदै गरेका प्रधानमन्त्री’लाई मूख्यअतिथि बनाएको समेत भनेका छन् ।

यस सम्बन्धमा घटना र विचारले बुझ्दा अर्कै तथ्य फेलापरेको छ । प्राप्त जानकारीअनुसार पुष ८ गते भट्टराई आश्रम बाँडेगाउँमा आयोजना गरिने ‘जन्मजयन्ति समारोह’मा प्रमुख अतिथि बनिदिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आश्रमका तर्फबाट आग्रह गरिएको थियो ।

भट्टराई आश्रमसम्बद्ध एक वरिष्ठ पत्रकारले देउवालाई भेटि कार्यक्रममा प्रमुख अतिथि बन्न निमन्त्रणा दिएका थिए । तर देउवाले आफू असमर्थ रहेको जवाफ फर्काए । सम्बद्ध सूत्रका अनुसार देउवाले अलिक झर्किंदै ‘म किशुनजीको कार्यक्रममा बाडेगाउँ आउन सक्दिनँ’ भनेका थिए ।

देउवाले त्यसरी ‘असमर्थ’ रहेको जवाफ दिएपछि आयोजकहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समारोहको प्रमुख अतिथि बन्न आग्रह गरेका थिए । देउवाले आफ्नै पार्टीको संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्मजयन्तिका अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि बन्न किन अस्वीकार गरेका हुन् बुझ्न सकिएको छैन ।

स्मरणीय छ, २०५१ सालमा मध्यावधि निर्वाचनपश्चात देउवालाई संसदीय दलको नेता बनाउन कृष्णप्रसाद भट्टराईले विशेष योगदान पु¥याउनुभएको थियो । दलको नेताका लागि भएको निर्वाचनमा उम्मेदवारी दिएर पनि फिर्ता लिइसकेका देउवालाई भट्टराईले उम्मेदवारी कायम गराई संसदीय दलको नेता बनाइदिनुभएको थियो । त्यसरी दलको नेता भएकै कारण २०५२ मा देउवा प्रधानमन्त्री बनेका थिए ।