विपक्षी झिकाउने संवैधानिक इजलासको आदेश

विपक्षी झिकाउने संवैधानिक इजलासको आदेश


हालै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा स्वच्छता नभएको भन्दै दायर भएका मुद्दामा सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । सो इजलासमा प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जवरा र दीपककुमार कार्की रहनुभएको छ ।

संवैधानिक इजलासबाट संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले पुनः मतगणना गर्न माग गर्दै गरेको मुद्दामा अन्तरकालीन आदेशको छलफलका लागि यही पुस १९ गते झिकाउने र निर्वाचनमा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश भएको छ ।

त्यसैगरी, संवैधानिक इजलासले तनहुँ प्रदेशसभा (क) उम्मेदवार प्रदीप पौडेलले मतगणनाका क्रममा तनहुँमा धाँधली भएको भन्दै परेको मुद्दामा अन्तरकालीन आदेश दिने वा नदिने विषयमा छलफलका लागि यही पुस १९ गते झिकाउने आदेश जारी गरेको छ भने धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभाका उम्मेदवार रामसिंह यादवले धाँधलीपूर्ण तरिकाले निर्वाचन भएकाले सो निर्वाचन बदर गर्न माग गरेको मुद्दामा छलफल र अन्तरिम आदेश दिने वा नदिने विषयमा पुस १९ नै संवैधानिक इजलासले झिकाउने आदेश जारी गरेको छ ।