– चन्द्रकान्त खनाल
एमालेका उपमहासचिव एवम् प्रभावशाली नेता विष्णुप्रसाद पौडेलले पायक र पुर्वाधारले पूर्ण भएकाले बुटवललाई नै प्रदेशको राजधानी बनाउनुपर्ने जिकीर गरेका छन् ।
भिजन लुम्बिनीले बुटवलमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बहुसंख्यक नागरिक र प्रदेशसभा सदस्यको मागसमेत बुटवललाई नै राजधानी बनाउने भएको दाबी गरे । अन्यत्र राजधानी बनाउने घोषणा भएमा प्रदेश टुक्र्याउने निर्णयको विरुद्धमा उत्रिएजस्तै विरोधमा उत्रन उनले आग्रह गरे ।
सामुहिक लगानी र सामुहिक विकासको अवधारणा लिएको भिजन लुम्बिनीले आयोजना गरेको रुपन्देहीका तीनैतहका जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रममा नेता पौडेलले अबको समय समामुहिक विकास र लगानीको भएको उल्लेख गर्दै सहकार्य गर्न सबैसँग आग्रह गरे । रुरुपन्देही–२ का प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेल, क्षेत्र नं. २ प्रदेशसभा ‘क’का सदस्य लिला गिरी, ‘ख’का सदस्य भोजप्रसाद श्रेष्ठ, निर्वाचन क्षेत्र नं.१ का प्रदेशसभा सदस्य दधिराम न्यौपाने, बुटवल नगरप्रमुख निर्वाचन क्षेत्र नं. १ का प्रदेशसभा सदस्य दधिराम न्यौपानेलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
त्यसैगरी स्थानीय तहमा निर्वाचित बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर केसी, बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल पनि कार्यक्रममा सम्मानित भए ।
यसैगरी प्रेस चौतारी रुपन्देहीले शुक्रबार रुपन्देहीमा गरेको वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले नेता पौडेलले सञ्चार क्षेत्रका लागि गर्नुपर्ने के के छ, सञ्चारसँग सम्बन्धित सबै संघ–सस्था एक ठाउँमा बसेर साझा अभिभारा तय गरिदिन आग्रह गरे ।
महत्वपूर्ण आयोजनाहरुमा प्रभावकारी रुपमा काम नहुने, समयमै शुरु नहुने, गुणस्तरीय नहुने जस्ता चुनौती औंल्याउँदै पूर्वअर्थमन्त्री पौडेलले ती आयोजनाहरूमा गुणस्तरीय काम भए–नभएको निगरानी जनस्तरबाट भएमा विकास निर्माणमा मद्दत पुग्ने बताए ।
प्रतिक्रिया