महशुल नतिर्ने ग्राहकको लाइन काटिँदै

महशुल नतिर्ने ग्राहकको लाइन काटिँदै


नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ ।

प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता रहेका २ सय २० ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेको हो । बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महशुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको वितरण केन्द्र लहानका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता नबुझाउने तीन फेजका २ सय २० ग्राहकको विद्युत् लाइन काटिने छ । राससका अनुसार ग्राहकबाट विद्युत् महशुलबापत रु तीन करोडभन्दा बढी बक्यौता रहेको केन्द्रले जनाएको छ । प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक छन् ।