बहादुर गोर्खाली

बहादुर गोर्खाली


पोखरा / गोर्खाली बहादुर हुन्छन् । भारतीय सैनिकमा कार्यरत पोखरा-६ बैदामका विष्णुप्रसाद श्रेष्ठ यिनै गोर्खालीका पछिल्लो उदाहरण हुन्। राँचीस्थित भारतीय सेनाको ७/८ गोर्खा रेजिमेन्ट्समा नायक पदबाट निवृत्त भई फर्किने क्रममा श्रेष्ठले पश्चिम बंगालको चित्तरन्जनमा मौरिना एक्सप्रेस रेलमा आक्रमण गरी लुटपाट गर्न खोज्ने ४० डाँकालाई एक्लैले परास्त गरी सबैको जनधन जोगाए । डाँकुबाट बलात्कार हुँदै गरेकी युवतीको इज्जत बचाए । उनको खुकुरी प्रहारबाट तीन डाँकाको मृत्यु र ६ जना घाइते भएको भारतका पत्रिकाहरूले छापेका छन् ।
घटनालाई भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सलगायत थुप्रै सञ्चारमाध्यमले एक सातासम्म प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरे । यी गोर्खालीको बहादुरीको कदर गर्दै भारतीय सेनाले उनलाई फेरि जागिरमै फर्काएको छ भने विशेष समारोह गरी सम्मानसमेत गरेको छ । सेवा निवृत्त भई पेन्सनपट्टा लिइसकेकालाई पुनः सेवामा लिइने कदम ‘अपवाद’ मात्र हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पोखरा घर र्फकंदा उनको सहायकका रूपमा सहयोगी सुरक्षाकर्मी समेत भारतले पठाएको छ । श्रेष्ठको बहादुरी र साहसको प्रशंसा गर्दै पोखरामा समेत स्थानीय संस्थाहरूले सम्मान गरिरहेका छन् । १७ वर्ष लामो सैनिक सेवाबाट निवृत्त भएर घर फर्किने क्रममा ३५ वर्षीय श्रेष्ठले गत सेप्टेम्बर २ मा रेल लुट्न आएका डाँकाहरूलाई परास्त गरेका हुन् । सेवामा पुनः प्रवेश गराई भारतीय सेनाले उनलाई भारतीय ५० हजार रुपैयाँ र प्रशंसा उपहार प्रदान गरेको छ । उनलाई यो पुरस्कार पल्टनमा एक विशेष समारोह आयोजना गरी कमान्डिङ अफिसर कर्णेल सुनील मोहन्तीले हस्तान्तरण गरेका थिए ।
श्रेष्ठको बहादुरी र साहसले भारतीय सेना र गोर्खालीको गौरव बढाएको पल्टनका कम्पनी कमान्डर मेजर अनुपम रोयले बताए । ‘पल्टनमा ऊ पहिल्यैदेखि साहसी र इमानदार थियो,’ रोयले सोमबार टेलिफोनमा कान्तिपुरसँग भने, ‘उनको बहादुरीको कदर गर्दै थप पुरस्कार र सम्मानका लागि माथिल्लो निकायमा सिफारिस गरिएको छ । उनको कामले पूरै पल्टन गौरवान्वित छ ।’
रेलमा डाँकाले यात्रीको नगद, मोबाइल सेटलगायत अन्य सामान लुट्दै श्रेष्ठलाई पनि लुट्न लागेपछि उनी प्रतिकारमा उत्रेका थिए । ‘मसँग पनि सामान र पैसा मागे, मैले दिन्न भनेपछि थप्पड लगाए,’ उनले भने, ‘प्रतिकारमा एक्लैले १० जनालाई ढलाएँ ।’ त्यसपछि डाँकाले एक युवतीमाथि बलात्कारको प्रयास गर्न थाले । मानवीय कर्तव्य सम्झेर युवतीलाई जोगाएको उनले बताए । साथमा रहेको खुकुरीले डाँकाहरूलाई परास्त गर्न सम्भव भएको उनले बताए । उनी चढेको डिब्बामा आएका १२ जनालाई परास्त गरेपछि अन्य डिब्बाका डाँकाहरू अत्तालिएर भागेको उनले बताए । सबै डिब्बामा गरी ४० जना डाँका समूहले रेलमा आक्रमण गरेको थियो ।
घटनामा श्रेष्ठले एक डाँकालाई ढाल बनाएर आफू जोगिँदै उनीहरूमाथि जाइलागेका थिए । श्रेष्ठको खुकुरी प्रहारबाट तीन जनाको मृत्यु र ६ जना घाइते भएको भारतस्थित पत्रिकाहरूले छापेका छन् । घटनास्थलबाट डाँकाहरूले छोडेको ५० ल्यापटप, २० लाख नगद, २ सय थान मोबाइलसेट, एक दर्जन सुनका सिक्री बरामद भएको थियो । घटनामा घाइते अवस्थामै रहेका श्रेष्ठलाई दुई दिनसम्म भारतीय रेल्वे पुलिस फोर्सले संरक्षणमा राखी उपचार गरेको थियो । डाँकाहरूसँग लड्दा उनको देब्रे हातमा गम्भीर चोट लागेको र तीन महिनापछि ठीक भएको थियो ।
उनलाई भारत सरकारका तर्फबाट दिइने सौर्य चक्र, सर्वोत्तम जीवन रक्षापदक र गोडरे फिलिप्स ब्रेभरी अवार्डका लागि प्रस्ताव गरिएको छ । तीनवटै अवार्डमा छनोट भए उनले एक करोड भारतीय रुपैयाँ नगदसहित हवाई तथा रेल यात्रामा विशेष सुविधा, मासिक भत्ता र तीन पुस्ताले पेन्सन पाउने छन् । श्रेष्ठलाई सिफारिस गरिएको ती अवार्डको अन्तिम नतिजा यही २६ जनवरी तथा अगस्ट १५ मा घोषणा हुनसक्छ । श्रेष्ठको बहादुरीको प्रशंसा गर्दै उनी कार्यरत पल्टनले सेप्टेम्बर ४ मा ‘स्पेसल अर्डर अफ द डे’ जारी गरेको छ । उनी आएको थाहा पाएपछि पोखरा बैदामको मितेरी नारी समूहले सम्मान गर्‍यो । श्रेष्ठलाई उनकै पल्टनका छुट्टीमा आएका ६ उच्च अधिकारी र आफन्तले पनि घरमै आएर सम्मान गरे । एक महिना छुट्टीमा आएका श्रेष्ठलाई आउने र जाने क्रममा दुई सुरक्षाकर्मी सँगै पठाइएको छ । बाबु गोपालप्रसादले छोराले बहादुरीको काम गर्दा निकै खुसी लागेको भन्दै सर्वसाधारणलाई बचाउनु फौजीको काम रहेको बताए । श्रीमती सीताले पनि आफू बाँचेर ठूलो काम गर्न सफल भएकोमा श्रीमान्प्रति गर्व लागेको बताइन् । ‘घटनाले परिवारकै नाम र सम्मान बढेको छ,’ उनले भनिन् ।-लालप्रसाद शर्मा