(कविता)यो जात्रै-जात्राको शहर

(कविता)यो जात्रै-जात्राको शहर


-दाजु गुरुङ,
कसैलाई हार्नमा मज्जा
कसैलाई हराउनमा मज्जा
अनि कसैलार्इर्र्हार्ने र हराउने को
गाली र ताली हेर्ने मज्जा,
विडम्वना ! नत हार्नेको अनुहारमा विष्मात
नत जित्ने अनुहारमा उल्लास
खोई, यो कस्तो-कस्तो –
मदारीको खेल जस्तो, शकुनीको झेल जस्तो
हेर्नु परेकोछ, निर्लज्ज लोभी-पापीहरुको यो नाटकीय खेल
हेर्ने न तिम्रो रहर, न मेरो रहर
यो जात्रै-जात्राको शहर ।

भत्काउन बानी परेकाहरुलाई भत्काउनमा नै मज्जा
हप्काएर खान पल्केकाहरु हप्काउनमा नै मज्जा
अनि थर्काएर दिउँसै जङ्ग बहादुरको सपना देख्नेहरुलाई
थर्काउनैमा मज्जा
विडम्वना ! नत भत्काइएकोमा विष्मात
नत दिउँसै सपना देख्न लाज
खोई, यो कस्तो-कस्तो –
फेरि जंगल पस्ने घुर्की जस्तो, वादरको हातमा नरिवल सस्तो ।
पशुपतिनाथको कृपामा कहिलेसम्म चल्ने यो खेल ?
नत कसैलाई छ डर, नत कसैको छ भर
यो जात्रै-जात्राको शहर ।

कसैलाई मुलुकको भविष्य-पथ नलेखिएको डर
कसैलाई मुलुकको ससाना कित्ता काटको रहर
अनि कसैलाई अँश-वण्डको मुद्धामा मल्ल-युद्धको रहर
विडम्वना ! नत गर्न दिन्छ नत गर्न सक्छ,
सबै-सबै बाहिरै-बाहिरकोले गरिदिनु पर्ने
खोई, यो कस्तो-कस्तो –
बाइसे चौबीसे रजौटाहरुको प्रेतात्मा जागे जस्तो
वालकन प्रदेशमा जस्तै भूइंचालो आउने संकेत जस्तो ।
जन्मजात पोलियो लागे जस्तो वर्तमानमा
घर पोलेर आगो ताप्नेहरुलाई
इतिहासको अपमानमा नत खेद छ नत भविष्यप्रति डर
यो जात्रै-जात्राको शहर ।

धेरै भयो मेची दुखेको काली दुखेको, उत्तर दुखेको दखिन दुखेको
उज्यालो घामको आशामा बस्नेहरुको मन दुखेको
अनि धेरै भयो सिङ्गो मुलुकबाट बुद्घ हराएको,
विडम्वना ! हस्तिनापुरका धृतराष्टृ र दुश्शासनहरुलाई –
नत यो दुखाइले मन रोएको छ
नत त्यो जल्लाद मनलाई बुद्ध हराएको पीडाले छोएको छ
खोई, यो कस्तो-कस्तो –
घर खनेर बन पुर्ने बानी परे जस्तो

विभीषणको लंका -दाहृय राम-भक्ति जस्तो
देश दुखेर के भो र ! बुद्ध हराए र के भो र !
के जान्छ र जल्लादहरुको गोठाको बहर !
यो जात्रै-जात्राको शहर ।
[email protected]