बहुमतीय प्रणालीकै पक्षमा एमालेको अडान

बहुमतीय प्रणालीकै पक्षमा एमालेको अडान


वामदेव गौतमको भैँसेपाटीस्थित निवासमा शुक्रबार बसेको नेकपा (एमाले) स्थायी कमिटीको बैठकले ‘पूर्वसमझदारी’अनुरुप बहुमतीय प्रणालीअनुसार नै राष्ट्रियसभाको गठन हुनुपर्ने अडान दर्शाएको छ । एमालेको यस जिकीरले राष्ट्रियसभा गठनबारे उत्पन्न अन्योल र सरकार गठनमा पैदा भएको गतिरोध लम्बिने सम्भावना बढाएको छ ।

निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न केपी शर्मा ओलीको अध्यक्षतामा बसेको करिब पाँच घण्टा लामो बैठकमा सरकार गठन र राष्ट्रियसभासम्बन्धी अध्यादेशको विषय फरकफरक भएको ठहर गरिएको छ । नयाँ सरकार गठनको तयारी र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिँदै यथाशीघ्र छिटो निष्कर्षमा पु¥याउने निर्णय पनि सो बैठकले गरेको बुझिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, केन्द्रसँगको एकता, राष्ट्रियसभाको गठनलगायतका विषयमा छलफल गर्न निर्वाचनपछिको एमाले स्थायी कमिटीको पहिलो बैठक हिजो शुक्रबार बसेको हो । बैठकले ताजा जनादेशअनुरुप नयाँ सरकार गठनका लागि छिटोभन्दा छिटो उपयुक्त वातावरण निर्माण गर्न निर्वाचन आयोग र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

करिव पाँच घण्टा लामो बैठकपछि पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीद्वारा जारी विज्ञप्तिमा निर्वाचनपश्चात् लामो संक्रमणकाल अन्त्य भएको र मुलुक स्थिरता एवं समृद्धिको दिशामा अगाडि बढ्न लागेको निष्कर्ष निकाल्दै निर्वाचनमार्फत प्रकट भएको जनआकांक्षा पूरा गर्न पूर्ण निष्ठा र क्षमताका साथ लाग्ने अठोट बैठकले व्यक्त गरेको जनाइएको छ ।

एमाले बैठक लम्बिएका कारण नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार नै बस्ने भनिए पनि बस्न सकेन । तर, दुवै पार्टीका शीर्ष नेताबीच निरन्तर अनौपचारिक कुराकानी जारी रहेको बताइएको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई वाम दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने तयारी गरेका छन् ।

एमालेले निर्वाचनमा वामपन्थी गठबन्धनका पक्षमा आफ्नो अमूल्य मत दिने सम्पूर्ण मतदाताप्रति आभार र धन्यवाद तथा विजयी प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बैठकले परिणामबाट राजनीतिक स्थिरता र समृद्धिको आफूहरुको संकल्प नेपाली जनताद्वारा अनुमोदित भएको निष्कर्ष निकालेको छ ।

यस्तै, निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सफल भएकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको भने नेपाल सरकार, निर्वाचन सम्पन्न गराउन खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा निर्वाचनका पक्षमा वातावरण निर्माण गर्न भूमिका खेल्ने सञ्चारमाध्यमलाई पनि बैठकले धन्यवाद दिएको छ ।