संविधान संशोधन नभए पुनः सडक आन्दोलनः नेता महतो

संविधान संशोधन नभए पुनः सडक आन्दोलनः नेता महतो


राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मधेशी एशोसिएशन इन अमेरिका (मा) नामक संस्थाले राजविराजमा आयोजना गरेको शहीद परिवारलाई सम्मान तथा नवनिर्वाचितलाई शुभकामना र बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाएअनुसार संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

मधेशी जनताको जनादेशले छ मधेशवादी दललाई एकै छातामुनि ल्याएको भन्दै महतोले निर्वाचनको परिणाम कुनै दलको नभएर मधेशी जनताको भएको जिकिरसमेत गरे ।

मधेशी जनताले दिएको जनाधिकारको तीन ठूला दलले समेत स्वीकार गरी संविधान संशोधन गर्नुपर्ने उहाँले उल्लेख गरे । राससका अनुसार सो अवसरमा मलेठ घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सम्मान गरिएको थियो ।