[कविता] स्याङ्गे मामा -चन्द्र गुरुङ

[कविता] स्याङ्गे मामा -चन्द्र गुरुङ


सारा पीरव्यथा
अनेकथरि थकान
छोप्ने कोशिस गर्दै बबुरो ढाका टोपी
थलापरेको छ स्याङ्गेको शिरमाथि ।
पोहोर दशैँमा
पल्टने हवल्दारले कोशेली टक्रयाएको खाकी जाँघे
लाचार स्याङ्गेको सिनेमा बनाउँदै
प्वाल परेको छ पछाडिपट्टि दुई ठाउँमा ।
बटनहरू बेगरको सरकारी हरियो कमिजले
छैन सक्न ढाक्न
स्याङ्गेको सुकेनास नाङ्गो छाती ।

यो स्याङ्गेले
धेरै धेरै जीवनहरूमा स्वाद थप्न
ओसारेको छ दुर्गम गाउँतिर नुनको भारी
थुप्रै थुप्रै अनिकालहरू टार्न
पु-याएको छ भोका घरहरूसम्म चामलका बोराहरू ।
हरदिन
स्याङ्गेको आफ्नै भताभुङ्ग चुलोमाथि
नाच्छ नुन बेगरको तिहुन ।
बेशरम भोक !
सधैँभरिलाई डेरा जमाएर बस्ने बहालवालाझैँ
अल्झेको छ स्याङ्गेको खोक्रो पेटमा ।

मेरो गाउँमा
स्कूलले टेक्न आइपुगेको साल
स्याङ्गेले ओसारेको थियो सदरमुकामबाट
थुप्रै फलामे डँडीहरू
थुप्रै जस्तापातारू
थुप्रै झ्यालढोकाहरू ।
स्याङ्गेकै बच्चाहरू
खोताल्छन् मेलापातमा आफ्ना दैनिकी ।
स्याङ्गेकै बच्चाहरूले जान्न पाएका छैनन्
कि-
फरक हुन्छ स्कूल र गोठमा
धेरै धेरै फरक हुन्छ कोदालो र कापी-किताबमा ।

अझै याद छ
याद छ राम्रैसित-
गाउँमा बिजुलीबत्ती बलेको साल
बोकेको थियो स्याङ्गेले थुप्रै खम्बा र तारहरू
खनेको थियो यी खम्बाहरू थाम्ने थुप्रै खाल्टाहरू ।
अपसोच !
स्याङ्गेकै दैलोभित्र
छिरेन बिजुलीका तेज रफ्तार खुट्टाहरू ।

गाउँको नक्शाचित्रमा
मोटरबाटोको कलिलो घर्सा कोरिएको साल
लखतरान स्याङ्गेले बगाएको थियो पसिना
तर
गाउँमा पहिलो मोटरगाडीको सवारी हुँदा
उत्सुक स्याङ्गेसित
थिएन टिकटको लागि एक सुको दाम ।
बैँसमा बेजोड सुन्दर उनकी मायालु
उनकै गालाहरू च्याउरी परेका यति चाँडै !
जमादार बाजेका नातिपनातिझैँ
छैनन् सकेका उफ्रन
स्याङ्गेका लालाबाला चाडपर्वमा पनि रमाउँदै ।
नाकको टुप्पोबाट
पसिनाको प्रत्येक थोपोले हाम्फाल्दै
आत्महत्या गर्ने गरी स्याङ्गेले बोक्छ भारी ।
दुई खुट्टा नै काम्ने गरी हिँड्छ उकाली-ओरालीहरू ।
जहिले चौतारीमा ढाकर बिसाउँदै
यो स्याङ्गे बडबडाउँछ-
जति हिँडे पनि नसिद्धिने भो दुःखको यात्रा !

सधैँ-सधैँ
स्याङ्गे निहुराई हिँड्छ यो गाउँमा ।
सबैअघि नतमस्तक बन्छ यो समाजमा ।
स्याङ्गेले
जहिले मेरो मनको आकाशैभरि
प्रश्नहरूको चङ्गा उडाउँछ-
के स्याङ्गेको थोत्रो स्वाभिमान मरेकै हो ?
के स्याङ्गेको गरीब ईज्जत मासिएकै हो ?
ऊ घोक्छ
सुद्धीबुद्धि नै हराउने गरी कोदोको जाँड ।
किन
ओँठ नै पोल्ने गरी
औँला नै डढ्ने गरी
हर क्षणलाई बिताउँछ ऊ पाते बिँडी तान्दै ?

स्याङ्गेलाई स्वाद छैन प्रणयरातको !
स्याङ्गेले
सकेको छैन मायालुको आँखामा माया भेट्टाउन ।
आफ्नै बच्चा जरोले थला परेको बखत
किन स्याङ्गेले जोत्तिनु पर्ने काममा ?
किन ऊ
सधैँ-सधैँ
आफ्नो मनप्रिय गीत गाउँछ ?
मलाई रमाइलो छैन यो जीवनमा ।

स्याङ्गेले भारी खेपिदिने पसलेको चारतले घर
तर
उसैले बाँच्नु पर्ने कुप्रो झुप्रोमा ।
रत्ने साहूकोझैँ स्याङ्गेको पेट लाग्दैन ।
परदेशी लाहुरेझैँ
ऊ चाडपर्व मेलाजात्रामा
गाउँले तरुनीहरूसित खुलेआम जिस्किँदैन ।

गाउँको बाटो नाप्ने प्रत्येक शवयात्रामा
स्याङ्गेले बनेको छ मलामी
हर पटक
स्याङ्गेले नै
चिहान डाँडामा बसेर घोरिनु पर्ने-
किन चाँडै आउँदैन मेरो उठ्ने पालो ?
ठूलाबडाले भनेकै ठाउँमा
कालोमसीमा चोप्दै आफ्नो अबोध बूढी औँलो
स्याङ्गेले गहिरो ल्याप्चे लगाएकै छ ।
उसले के बिरायो ?

कि
सधैँ आँशु पिउनु पर्ने मनभरि ।
सधैँ दुःख भोक्नु पर्ने थालभरि ।

म सोंच्दै छु-
बर्खामासमा
बूढी गण्डकी मात्तिँदै उर्लँदा
ऊ, गण्डकी किनार सोचमग्न उभिदिन्छ किन ?
सधैँ सधैँ
अक्करे भीरको छेउछेउ मात्र
ऊ हिँड्न खोज्छ किन ?
एक हातमा नाम्लो समातेर
ऊ आफ्नो घरको छानो ताक्छ किन ?
किन ?
जंगल जाँदा,
ऊ मात्र अग्ला रूखहरू खोज्छ ।

स्याङ्गे,
नातामा मामा पर्ने मेरो गाउँले ।
किन स्याङ्गेले
जहिले
स्याङ्गेको बारेमा सोच्न बाध्य पार्छ ?!