चारा घोटालामा मुछिएका लालु बने ‘कैदी नम्बर ३३५१’

चारा घोटालामा मुछिएका लालु बने ‘कैदी नम्बर ३३५१’


बिहार (भारत)को बहुचर्चित चारा घोटाला मामलामा राँचीको सिबिआई कोर्टले त्यहाँको राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई दोषी प्रमाणित गरेको छ । दोषी घोषणा गरिनेवित्तिकै अदालत परिसरबाटै हिरासतमा लिएर लालुलाई राँचीको बिरसा मुण्डा जेल पठाइएको छ ।

कैदी नम्बर ३३५१ का रूपमा राँची जेलको हावा खान पुगेका लालुको मुद्दामा कस्तो सजाय तोक्ने भन्ने आगामी जनवरी ३ तारिकमा निर्धारित हुने भारतीय मिडियाहरूले जनाएका छन् ।

शनिबार राती जेल लैजाँदै गर्दा लालुलाई के खान मन छ भनी सोध्दा उनले कुनै प्रतिक्रिया नदिएको सन्दर्भलाई मिडियाले विशेष फोकस गरेका छन् । लालु निरुत्तर रहेपनि उनका कान्छा छोराले ‘पापालाई रोटी दिनु’ भनी सुझाएका थिए । फलतः लालुप्रसादलाई पाँचवटा रोटी, एक कचौरा दाल र तरकारी दिइएको थियो । उक्त भोजन उनले स्वादसँग खाएका थिए ।

आफूमाथि लगभग दुई दशक पुरानो चारा घोटाला मुद्दामा यस्तो फैसला गराएर जेल पठाउनुमा लालुले भाजपा सरकारलाई जिम्मेवार ठह¥याएका छन् । यो असन्तुष्टि उनले अदालतको फैसला आउनेवित्तिकै ट्वीटमार्फत् व्यक्त गरेका थिए । चारा घोटालामा डा. जगन्नाथ मिश्रलाई सफाई दिएर आफूलाई दोषी गरिनु अचम्मको फैसला भन्दै लालुले सिबिआई कोर्टप्रति ब्यंग्यसमेत गरेका थिए ।

ज्ञातव्य छ, चारा घोटालाको खुलासा सन् १९९४ मा भएको थियो । उक्त मामलामा शुरुमा दुई–चार करोड भारुको भ्रष्टाचार भएको भनिए पनि भ्रष्टाचारको रकम बढ्दै गएर पछि नौ सय करोड भारु रहेको बताइएको थियो । यस मामलामा कैयन सरकारी कर्मचारी र ठेकेदारहरू मुछिएका थिए भने पशुको दानासम्बन्धी यस बहुचर्चित भ्रष्टाचारको मूल पात्र लालु यादव रहेका थिए ।