राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशबारे विवाद बढेर अन्योल उत्पन्न भइरहेको बेला नेपाली कांग्रेसका केही नेतृहरुले अध्यादेश तुरुन्त जारी गरी वैधानिक मार्ग प्रशस्त गर्न अपिल गरेका छन् । कांग्रेसका दुई दर्जन नेत्रीहरुले आज एक विज्ञप्तिमार्फत उक्त अध्यादेश तत्काल जारी गरी राष्ट्रियसभाको निर्वाचनका लागि सहज राजनीतिक निकासको मार्ग प्रशस्त गर्न राष्ट्रपतिसमक्ष माग गरेका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न भएको उल्लेख गर्दै उनीहरुले राष्ट्रिय सभाको निर्वाचनका लागि राष्ट्रपति कार्यालयमा पेश भएको अध्यादेश शीघ्र प्रमाणीकरण हुनुपर्ने तर्क गरेका छन् ।
यसरी तत्काल अध्यादेश जारी गर्न राष्ट्रपतिलाई अपिल गर्ने कांग्रेस नेतृहरुमा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, नेपाल महिला संघसम्बद्ध दिव्येश्वरी शाह, ओमकला गौतम, ललितकला गुरुङ, निर्मला क्षेत्री, नानु बास्तोला शिवाकोटी, महिन्द्रा लिम्वु, मधु शाही ठकुरी, रंगमती शाही, उषा भण्डारी, प्रसिस महरा, कमला राईलगायत रहेका राससले जानकारी दिएको छ ।
नेतृहरुले विज्ञप्तिमा भनेका छन्– ‘नेपालको संविधानको धारा ८३ मा ‘प्रतिनिधिसभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ’ भन्ने संवैधानिक व्यवस्था छ । त्यसैले राष्ट्रिय सभाको निर्वाचन विना अर्को सरकार बन्न पनि सक्दैन र निर्वाचन प्रक्रिया पनि पूर्ण हुँदैन ।’
संविधानको धारा ८४(८) मा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनुपर्ने वाध्यकारी संवैधानिक व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा निर्वाचित महिला सदस्य संख्या एक तिहाई नरहेमा समानुपातिकको बन्दसूचीमा समावेश नामबाट व्यवस्थापिका संसदमा एक तिहाई महिला निर्वाचित गर्नु पर्नेछ ।
राष्ट्रिय सभामा निर्वाचित भएर आउने महिलाको संख्या एक तिहाई नभएमा, दलहरुले प्रतिनिधिसभाका लागि निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फको बन्दसूचीमा समाविष्ट महिला उम्मेदवारको नाम समावेश गरी संघीय संसदमा कम्तीमा एक तिहाई सदस्य महिला निर्वाचित गर्नै पर्ने हुन्छ ।
राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभाको समानुपातिक तर्फबाट व्यवस्थापिका संसदका महिला सदस्य निर्वाचित गर्न र संख्या निर्धारण गर्न सम्भव नहुने विज्ञप्तिमा कांग्रेस नेतृहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया