आँधी र आगलागीमा परेर फिलिपिन्समा २ सय ३७ को मृत्यु

आँधी र आगलागीमा परेर फिलिपिन्समा २ सय ३७ को मृत्यु


फिलिपिन्समा भएका दुई ओटा ठूला घटनामा परी तीन दिनमा कम्तीमा पनि २३७ जनाको मृत्यु भएको समाचार छ । गत शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या अहिले सम्म २०० पुगेको छ भने शनिबार दावाओ सिटीमा रहेको एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान भएको आगलागीमा परी हराइरहेकामध्ये उनीहरुको मृत्यु भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् । अग्नि नियन्त्रक र उद्धारकर्ताले झण्डै १६ घण्टासम्मको लगातारको प्रयासपछि आइतबार बिहान मात्र आगो नियन्त्रणमा लिन सफल भएका छन् ।

राष्ट्रपति रोड्रिगो डुतेर्तेले स्थानीय समयअनुसार विहान तीन बजेतिर आगलागीमा परी ज्यान गुमाएकाका आफन्तलाई सहानुभुति व्यक्त गर्नुभएको छ । उहाँले उक्त दुर्घटनाबाट भएको क्षतीप्रति दुःख व्यक्त गर्दै पीडितलाई धैर्यधारण गर्न आग्रह गर्नुभयो । पीडितका परिवारलाई सरकारले सहयोग गर्ने घोषणा पनि उहाँले गर्नुभयो ।

अधिकारीले भनेका छन्– ‘अहिले पनि घटनास्थलमा कोही व्यक्ति जीवितै होलान् भन्ने विश्वास गर्न धेरै गाह्रो छ, उनीहरु जीवितै हुने सम्भावना शुन्य छ ।’ क्याथोलिक विसप कन्फेरेन्सका अर्चबीसप रोमुलो भालिजलाई उद्धृत गर्दै राष्ट्रपति डुतेर्तेले हराएकाको जीवितै रहने सम्भावना नरहेको बताउनुभयो । आफन्त गुमाएकालाई उहाँले नजिकैको एउटा रेष्टुरेन्टमा भेट्नुभएको थियो ।

स्थानीय समयअनुसार आइतबार बिहान ०५ बजेसम्म आगलागीबाट ध्वस्त भएको एनसीसीसी मलमा कम्तीमा ३७ जना बेपत्ता भएको राष्ट्रपतिका छोरासमेत रहेका सिटिका मेयर पाउलो डुतेर्तेले जानकारी दिनुभयो ।

त्यसैगरी फिलिपिन्सको दोस्रो ठूलो टापूका रुपमा चिनिने मिन्दानाओमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या शनिबार अबेररातिसम्म २०० पुगेको छ । अरु कैयौँ अझै पनि बेपत्ता भएका प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

फिलिपिन्स प्रहरीका प्रान्तीय प्रमुख लेमुएल गोन्डाले उत्तरी मिन्डानाओमा मात्रै आँधीका कारण १३५ जना र जाम्बोङ पेनिन्सुलामा ४७ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

मिन्डानाओ स्वायत्त क्षेत्रका एकजना सांसद जिआ अलोन्टो अडिओङले आफ्नो क्षेत्रमा १८ जनाको मृत्यु भएको बताउनुभएको छ ।

उत्तरी मिन्डानाओमा मृत्यु भएका १३५ जनामध्ये १२७ जना लानाओ डेल नोर्ते, छ जना बुकिड्नोन, एक जना इलिगान र अर्का एक जना मिसामिस ओक्सीडेन्टलमा मृत्यु भएको हो ।

प्रहरीले अरु झण्डै ७२ जना हराइरहेकाले खोजीकार्य जारी रहेको जनाएको छ । राष्ट्रिय प्रकोप खतरा न्यूनीकरण तथा व्यवस्थापन परिषदले आँधी प्रभावित क्षेत्रबाट विवरण उपलब्ध गराउन आग्रह गरिएको जनाएको छ ।

परिषद्का प्रवक्ता रोमिना मारासिगानले आफूलाई ७५ जनाको मृत्यु भएको र ५८ जना अझै पनि हराइरहेको अनौपचारिक विवरण विभिन्न निकायबाट प्राप्त भएको बताउनुभयो ।

‘यिनीहरु समग्रमा संकलन भएका विवरणहरु हुन्, तर पूर्णरुपमा पुष्टि हुन अझै बाँकी छ’, उहाँले भन्नुभयो । यस आँधीका कारण ५० हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । सयौँ घर ध्वस्त भएका छन् भने कतिपय गाउँ नै बाढीले बगाएको छ ।(सिन्ह्वा)