नेकपा एमालेका नेता माधवकुमार नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेश गर्न निर्वाचन आयोगसंग आग्रह गरेका छन् । संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आज थलीमा आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा सम्बोधन गर्न पुगेका नेपालले प्रतिनिधि सभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न आयोगले विलम्ब गर्न नहुनेमा जोड दिंदै संक्रमणकालको अन्त्य गर्न चाँडो नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिए ।
प्रत्यक्षतर्फको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा राष्ट्रियसभा गठनको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको आरोप पनि पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले लगाए । संविधानमा उल्लेख नै नभएको एकल संक्रमणीय प्रणालीलाई स्वीकार गर्न नसकिने तर्कसहित राष्ट्रियसभा बहुमतीय प्रणालीमा नै गठन गर्नुपर्ने जिकीर उनले गरे । साथै, दुनियाँको जुनसुकै शक्ति लागे पनि एमाले र माओवादी केन्द्रबीचको एकता नरोकिने दाबी गरेर नेता नेपालले उपस्थित कार्यकर्ताको ताली बटुलेका थिए ।
प्रतिक्रिया