उत्तरी फिलिपिन्समा क्रिसमस पर्व मनाउन गइरहेको एउटा बस दुर्घटना हुँदा कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । घटना आजकै हो ।
क्रिस्मस मनाउनका लागि गइरहेको एउटा संयुक्त परिवारका २० व्यक्ति रहेको सो बस विपरीत दिशाबाट आएको अर्को बससँग ठोक्किँदा सो दुर्घटना भएको हो ।
आगी सहरमा क्रिस्मसको उपलक्ष्यमा चर्चतर्फ गइरहेको सो सानो बसलाई ठूलो बसले ठक्कर दिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । सानो बसमा रहेका २० व्यक्तिको मृत्यु भएको थियो ।
यस घटनामा ज्यान गुमाउनेमा ६ बालबालिकासमेत रहेका छन् । सानो बसका नौ जना र ठूलो बसका १७ व्यक्ति घाइते भएका क्षेत्रीय प्रहरीले दिएको पछिल्लो जानकारीमा जनाइएको छ । फिलिपिन्सको आगी सहर राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरीतर्फ रहेको बताइएको छ ।
फिलिपिन्समा दावाओ सिटीमा शनिबार एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको थियो । त्यसलगत्तै आज फेरि यो अर्को दुर्घटना भएको छ ।
उता शुक्रबार आएको ‘टेम्बिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या २४० पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त अर्को एक समाचारमा उक्त प्रकोपको पनि खतरा नघटेको बताइएको छ ।
फिलिपिन्सको दोस्रो ठूलो टापूका रुपमा चिनिने मिन्दानाओमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या सोमबार २४० नाघेको अधिकारीहरुले जनाएका छन् । साथै अझै पनि सयौं व्यक्ति बेपत्ता भएका अधिकारीले जानकारी दिएका छन् । उक्त आँधीमा परी बेपत्ता रहेका दर्जनौँ व्यक्ति अब भेटिने सम्भावना कमै रहेको पनि अधिकारीहरुले जनाएका छन् ।
यस आँधीका कारण ५० हजारभन्दा बढी सर्वसाधारण घाइते भएका छन् भने सयौँ घर ध्वस्त भएका तथा कतिपय त गाउँ नै बाढीले बगाएको पनि जनाइएको छ । यसरी गएको शुक्रबारदेखि फिलिपिन्समा आएको निरन्तर रुपमा प्राकृतिक प्रकोप र दुर्घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि दुःख व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया