चुनावी समीक्षाबीच स्याङ्जाका कांग्रेसजन भीडन्तमा उत्रिएपछि…

चुनावी समीक्षाबीच स्याङ्जाका कांग्रेसजन भीडन्तमा उत्रिएपछि…


निर्वाचन सम्पन्न भएको महिना दिन बित्न लाग्दा पनि नयाँ सरकार गठन हुन नसक्दा उत्पन्न खिचलो भुसको आगोझैँ बन्दै गर्दा जिल्ला जिल्लामा चुनावी घात अन्तरर्घातको निहुँ झिक्दै दलका कार्यकर्ताहरुबीच मारामारी चल्न थालेका समाचार प्राप्त हुन थालेका छन् । त्यसो त चुनावमा अन्तर्घात गरेको आरोप प्रत्यारोप नेपाली कांग्रेसका कार्यकर्ताबीच बढी चल्ने गरेको सुनिँदैछ, तथापि यो प्रकरण यतिबेला सबै दलको साझा कथा बन्न पुगेको छ ।

यसै सन्दर्भमा अन्तर्घातको आरोप प्रत्यारोप झ्याँङिएर स्याङ्जाका कांग्रेसजनबीच रणसङ्ग्राम नै मच्चिन पुगेको छ । कांग्रेस कार्यकर्ताबीच हात हालाहाल र भीषण कुटाकुट चलेपछि केही नेता कार्यकर्ता गम्भीर घाइते बनेका र उपचारका लागि घाइतेलाई हेलिकप्टरमार्फत् राजधानी ल्याउनुपरेको बुझिएको छ । चुनावी समीक्षाका लागि भनी स्थानीय नेता कार्यकर्ताहरुलाई बैठकमा आमन्त्रण गरी एक पक्षले सुनियोजित तवरले अर्को पक्षमाथि भौतिक आक्रमण गरिएको बताइएको छ । सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएको र कुटपिटमा देउवापक्ष हाबी बनेको बुझिएको छ ।

बताइएअनुसार सीमक्षा बैठक चलिरहेका बेला स्याङ्जाका स्थानीय नेता भेषराज अर्याल, कमल ढकाल बैठकस्थलमा प्रवेश गरेका थिए । उनीहरु कतिबेला बैठककक्षमा आइपुग्छन् भनी ढुकेर बसेको अर्को पक्षका कार्यकर्ताले एक्कासी ‘अन्तर्घातीहरु प्रवेश गरे’ भन्दै उनीहरुमाथि हातपात गरेका थिए । अप्रत्यासित आक्रमण भएपछि अर्को पक्षका कार्यकर्ता पनि धक्कामुक्की गर्दै प्रतिवादमा उत्रिएका थिए । यस क्रममा भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले विशेष घाइते बन्न पुगेका छन् । एकजनाको हात भाँचिएको र अर्काको संवेदनशील अंग र टाउकोमा समेत चोट लागेकोले अवस्था गम्भीर बनेको बताइन्छ ।

पीडित पक्षले बैठक भन्दै गुण्डा बोलाएर आक्रमण गरिएको आरोप लगाएको छ भने अर्को पक्षले घटना सुनियोजित नभएको, विवाद बढ्दै जाँदा अप्रिय अवस्था निम्तिएको प्रष्टिकरण दिएको छ । भीडलाई सामान्य बनाउन खोज्दा को को माथि आक्रमण भयो थाहा नभएको भन्दै आक्रमणकारी पक्ष पन्छिन खोजेको अर्को समूहको दाबी छ ।

घाइतेका तर्फबाट घटनामा संलग्न आक्रमणकारीहरुलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखस्त दिएको बुझिएको छ । विष्णु पौडेल, सञ्जय श्रेष्ठ, अर्जुन अर्याल, सुनिल खनाल, विनोद पराजुली, ध्रुव पंगेनी लगायतका व्यक्तिविरुद्ध किटानी जाहेरी दिइएको हो ।

ज्ञात रहोस्, स्याङजा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट वर्तमान सरकारका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसमेत एमाले उम्मेदवार पद्मा अर्यालसँग पराजित भएका थिए ।