वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेसँगै अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको रेमिट्यान्समा कमी आएको छ ।
गत वर्ष कात्तिकसम्म अर्थात् पहिलो चार महिनामा एक लाख २५ हजार सात सय ८१ कामदार वैदेशिक रोजगारीमा गएका थिए । तर, यस वर्षको सोही अवधिमा कामदारको संख्या एक प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृतिबाहेक) घट्दै गएको छ । समीक्षा अवधिमा कुल एक लाख २४ हजार ५१८ नेपाली कामका लागि बिदेसिएका छन् ।
भूकम्पपछि घट्न थालेको वैदेशिक कामदारमा जानेको संख्या घट्दा गएको वर्ष करिब आठ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै रेमिट्यान्समा पनि एक दशमलव चार प्रतिशतले कमी आएर दुई खर्ब २८ अर्ब ९५ करोडमा सीमित भएको छ ।
भदौसम्म बढ्न नसकेको रेमिट्यान्स असोज र कात्तिकमा चाडबाडका कारण बढ्ने अपेक्षा राष्ट्र बैंकले गरेको थियो । सोही अनुरुप असोजमा सामान्य वृद्धि पनि भए पनि कात्तिकमा भने अपेक्षा गरेअनुसारको रेमिट्यान्स भित्रन सकेन ।
गत आवको कात्तिकसम्ममा दुई खर्ब ३२ अर्ब १४ करोड रुपैयाँ नेपाल भित्रिएको थियो । एकातिर रेमिट्यान्स घटेको छ भने अर्कातिर व्यापार घाटा उच्चदरमा बढिरहेको छ ।
मुलुकको अर्थतन्त्रका लागि यो चिन्ताजनक विषय रहेको र अर्थतन्त्र रेमिट्यान्सले नै धानिरहेको सन्दर्भमा , अब रेमिट्यान्समा भर पर्ने अवस्था नरहेको अर्थविद् बताउछन् । तसर्थ अब बन्ने सरकारले पुँजी र उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्ने सरोकारवालाको भनाई छ ।
यसैवीच, गत वर्ष कात्तिकमा करिब २१ अर्ब ९८ करोड बचतमा रहेको शोधनान्तर अवस्था चालू आवमा दुई अर्ब ४० करोड रुपैयाँमा खुम्चिएको छ । शोधनान्तर घटेका कारण बैंकिङ क्षेत्रमा तरलता अभाव देखिन थालेको हो ।
शोधनान्तर घटेसँगै यसपालीको पहिलो चौमासमा चालू खाता पनि घाटामा रहेको छ । गएको वर्ष सो अवधिमा एक अर्ब ८६ करोड रहेको चालु खाता यसपालि २५ अर्ब ८१ करोड घाटामा रहेको हो ।
प्रतिक्रिया