मानवबस्ती आसपास मापदण्डविपरीत ग्यास रिफिलिङ स्टेशन

मानवबस्ती आसपास मापदण्डविपरीत ग्यास रिफिलिङ स्टेशन


वीरगन्ज । पर्सा र बारामा सञ्चालनमा रहेका सबै ग्यास उद्योग मापदण्डविपरीत रहेका छन् । यहाँका सातवटा ग्यास रिफिलिङ स्टेशन (बोटलिङ प्लान्ट) नेपाल सरकारले तोकेबमोजिमको सुरक्षा मापदण्ड र स्थानमा निर्माण नभएको कारण हजारौँ सर्वसाधारणको ज्यान जोखिममा पारेको छ ।

वीरगन्जको भवानीपुरमा सुपर ग्यास उद्योग र लालपर्सामा मनोज ग्यास उद्योग सञ्चालनमा छ । यस्तै, बाराको सिमरामा नेपाल ग्यास उद्योग, जितपुरको लल्का पुलछेउमा अम्बर ग्यास उद्योग, प्रसौनीमा जगदम्बा ग्यास उद्योग, बहुअरीमा बारा लियो ग्यास उद्योग र पिलुवामा एनएल ग्यास उद्योग सञ्चालनमा छन् ।
उद्योग मन्त्रालयको पुरानो नीतिअनुसार, ग्यास उद्योग स्थापना गर्दा घना मानवबस्तीबाट साढे दुई किलोमिटर, सानो बस्तीबाट एक किलोमिटर परको स्थानमा सञ्चालन गर्न पाउने नियम थियो ।

तर प्रस्तावित नयाँ मापदण्डअनुसार मानवबस्तीबाट पाँच किलोमिटर दुरीको स्थानमा मात्रै ग्यास उद्योग सञ्चालन गर्न पाउने प्रावधान छ । पर्सा र बारामा रहेका ग्यास उद्योगमध्ये केही मानवबस्तीको बीचमै र केही गाउँकै छेउछाउमा सञ्चालनमा छन् । पर्सामा रहेका सुपर र मनोज दुवै ग्यास उद्योग मानवबस्तीकै छेउमा छन् । बाराकै परवानीपुर गाउँपालिकाको बहुअरी गाउँमा रहेको बारा लियो ग्यास उद्योग पनि मानवबस्तीको छेउमै छ । बारा लियो ग्यास बहुअरी गाँउको मानव बस्तीबाट बढिमा सात सय मिटर दूरीमा अवस्थित छ ।

गत बुधबार वीरगन्जको सुपर ग्यास उद्योगमा भएको आगलागीबाट मानवीय तथा भौतिक क्षति भएपछि बहुअरीका स्थानीयवासी समेत निकै त्रासित भएका छन् । ग्यास उद्योगका प्लान्टहरूमा ग्यास चुहियो वा आगो नै लागिहाल्यो भने तुरुन्त त्यसलाइ नियन्त्रण गर्ने फायर फाइटिङ उपकरण अनिवार्य रुपमा पहिलेदेखि नै जडान गर्नुपर्छ, तर अधिकांश उद्योगमा आवश्यक उपकरण र तालिमप्राप्त जनशक्ति नै नरहेको बुझिन्छ ।

बाराको प्रसौनी गाउँपालिका–१ मा सञ्चालित जगदम्बा ग्यास उद्योग प्रसौनी गाँउको घना मानवबस्ती भन्दा मात्र ५० मिटर दुरीमा सञ्चालनमा छ । उद्योगकै छेउमा बेंगा साह उच्च माध्यमिक विद्यालय पनि छ । त्यहाँ करिब एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् ।

०६५ सालदेखि सञ्चालनमा आएको जगदम्बा ग्यास उद्योग सञ्चालनका बखत प्रसौनीका स्थानीयले नेपाल सरकारको मापदण्ड विपरीत मानवबस्तीकै छेउमा उद्योग सञ्चालनमा ल्याइएको भन्दै चर्को विरोध पनि गरेका थिए ।

मानवबस्तीको छेउमै स्थापना गरिएको ग्यास उद्योग हटाउन माग गर्दै स्थानीयले प्रसौनी बजारमा नारा–जुलुस गर्दै प्रदर्शन पनि गरेका थिए । त्यतिबेला हामीले गाउँबाट उद्योग हटाउन माग गर्दै सडकमा चक्काजाम पनि गरेका थियौँ, अदालतमा मुद्दासमेत हालेका थियौँ, नागरिक समाज प्रसौनीका अध्यक्ष विनोद जयसवार भन्छन्, ‘अदालतले उद्योगमा रहेका ग्यास बुलेट र सिलिण्डरहरु २० दिनभित्र हटाउन उद्योग विभागलाइ आदेश पनि दिएको थियो, तर उद्योग विभागले कुनै टेरपुच्छर नलगाएपछि हामी पनि थाक्यौँ र चुप लागेर बस्यौँ ।’ गत बुधबार वीरगन्जको सुपर ग्यासमा भएको आगलागीको घटना पछि प्रसौनीका स्थानीय अत्यन्त त्रासित अवस्थामा दिन र रात व्यतीत गर्न बाध्य भएको उनी स्वीकार गर्छन् ।

बाराका निमित्त प्रमुख जिल्ला अधिकारी मुकेश केशरी जिल्लामा रहेका अधिकांश ग्यास उद्योग सरकारी मापदण्डविपरीत मानवबस्ती छेउछाउ र मानवबस्ती बीचमा नै रहेको गुनासो आइरहेको बताउँछन् ।

‘अहिले सिडिओ साहब जिल्लाबाहिर हुनुहुन्छ, उहाँ आएपछि यही साताको अन्तिमतिर हामी सबै ग्यास उद्योगको स्थलगत अनुगमन गर्छौं,’ उनी भन्छन्– ‘स्थलगत अनुगमनपछि के गर्ने भन्ने विषयमा उचित निर्णय लिन्छौँ ।’

– प्रणय साह