अर्थमन्त्रीमा को ?

अर्थमन्त्रीमा को ?


जनताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीका रूपमा हेर्न चाहेका भए पनि वाम गठबन्धनभित्रको अलमल र अध्यादेशसम्बन्धी विवादका कारण ओली प्रधानमन्त्री बन्नेमा आशङ्का पैदा भएको छ । माओवादी अध्यक्ष प्रचण्डलाई ‘पाँच वर्षसम्म प्रधानमन्त्री बनाइरहने’ आकर्षक प्रस्ताव काङ्ग्रेसका नेता र बाह्य शक्तिकेन्द्रले राखेपछि प्रचण्डमा ‘विचलन’ आएको बताइन्छ ।

यस्तै आकर्षक प्रस्तावको प्रभावका कारण प्रचण्डले एमालेबाट भाग्ने उपाय खोजी गर्न थाल्नुभएको बताउन थालिएको छ । स्थिरता र विकासलाई मूल एजेण्डा बनाएर चुनावमा होमिएको वाम गठबन्धन प्रचण्डकै कारण सन्देहको घेरामा परेको छ । केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न खोज्ने शक्तिहरू सफल नभएको अवस्थामा मात्र ओलीले प्रधानमन्त्री पदको शपथ लिन पाउने सम्भावना देखिएको छ ।

यसरी केपी ओली प्रधानमन्त्री बन्ने सुनिश्चित हुन बाँकी भए पनि सम्भावित अर्थमन्त्री को हुने भन्ने विषयलाई लिएर विभिन्न चर्चा–परिचर्चा शुरु भएका छन् । एमालेका नेताहरूमध्ये विष्णु पौडेल, सुरेन्द्र पाण्डे र ईश्वर पोखरेलको नाम सम्भावित अर्थमन्त्रीका रूपमा लिइएको छ । माओवादीसँग गठबन्धन भएमा वर्षमान पुन, जनार्दन शर्मा र कृष्णबहादुर महराको नाम पनि सम्भावित अर्थमन्त्रीका रूपमा थपिनेछ ।

केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको अवस्थामा गृह मन्त्रालय माओवादीले लिने निश्चितप्रायः भएकोले अर्थ मन्त्रालय एमालेले नै पाउने निश्चित मानिएको छ । एमालेले अर्थ मन्त्रालय पाउने भएमा उक्त जिम्मेवारी कसलाई प्राप्त होला भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । विष्णु पौडेल ओलीको निकटस्थ नेता हुनुभएको र अर्थ मन्त्रालयको अनुभवसमेत सङ्गालिसक्नुभएकोले पौडेलले नै अर्थ मन्त्रालयको जिम्मेवारी पाउने विश्वास धेरैले गरेका छन् । अर्थमन्त्रीका रूपमा उहाँको भूमिका अन्तर्राष्ट्रिय क्षेत्रले जुन रूपमा लिए पनि देशभित्र अपेक्षा गरिएभन्दा राम्रो मानिएको थियो ।

सम्भावित अर्थमन्त्रीको बलियो दाबेदारका रूपमा सुरेन्द्र पाण्डेलाई पनि लिइएको छ । सबैभन्दा सफल र सक्षम अर्थमन्त्रीहरूको कोटिमा सुरेन्द्र पाण्डेको पनि नाम लिइन्छ । कार्य अनुभव र क्षमताका कारण मात्र नभई पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन पनि पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी मिल्ने सम्भावना बढेको छ । ज्ञातव्य छ, सुरेन्द्र पाण्डे, झलनाथ खनाल र माधवकुमार नेपालनिकटका नेताका रूपमा चिनिनुहुन्छ ।

तर, पछिल्लो समयमा पाण्डेले ओलीलाई पनि सहयोग पु¥याउँदै आउनुभएको छ । अर्का नेता ईश्वर पोखरेलले अर्थमन्त्री बन्ने इच्छा राख्नुभएमा ओली उहाँलाई नै उक्त जिम्मेवारी सुम्पन्न बाध्य हुनुहुने हो कि भन्ने अनुमान गरिएको छ । तर, पोखरेललाई उपप्रधानमन्त्रीको दर्जासमेत दिनुपर्ने स्थिति रहेकोले उहाँले अन्य कुनै मन्त्रालय लिएर चित्त बुझाउनुपर्ने अवस्था आउन सक्ने अनुमान पनि गरिएको छ ।