काङ्ग्रेसभित्रै आन्दोलन सुरु

काङ्ग्रेसभित्रै आन्दोलन सुरु


काठमाडौं । सत्तारुढ नेपाली काङ्ग्रेसभित्र यतिबेला महाधिवेशनको होइन, महाविद्रोहको तयारी भइरहेको छ । स्थगित आधिवेशनलाई पुनर्जीवित गराउन काङ्ग्रेस अहिले प्रसवपीडाको अवस्थामा छ । सहज रूपले बच्चा नजन्मिएपछि जसरी चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ त्यस्तै शल्यक्रिया गर्न काङ्ग्रेस कार्यकर्ताहरू कस्सिएका छन् । आज साँझसम्ममा महाधिवेशनको तिथि नतोकिएमा भोलिदेखि काङ्ग्रेसका दुई पुराना हस्ती काङ्ग्रेस केन्द्रीय कार्यालयमा आमरण अनशन बस्ने भएका छन् ।

सरकारमाथि सङ्कट आइपर्दा जसरी महाधिवेशन स्थगित गरियो । सङ्कट टरेपछि त्यसरी नै सहजतापूर्वक महाधिवेशनको नयाँ मिति तोक्नुपर्दथ्यो । राजधानीका काङ्ग्रेसका शुभचिन्तक र बुद्धिजीवीहरू यसै भन्दै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा महाधिवेशन स्थगित गरिएको थियो । देउवाले केही दिनअघि अब महाधिवेशनको मिति तोक्न अर्को अनुरोध नेताहरूलाई गरिसक्नुभएको छ । थाहा भएअनुसार सरकारका सामु अब त्यस्तो ठूलो समस्या छैन, अतः पार्टी अधिवेशन अब चाँडै गराइहाल्नुपर्छ भन्ने धारणा नेताहरूसमक्ष देउवाले राख्नुभयो । आफ्नो चीन भ्रमणको लगत्तै महाधिवेशन गर्न उपयुक्त हुने कुरा पनि उहाँले व्यक्त गर्नुभएको थियो ।

तर, काङ्ग्रेस नेतृत्वपङ्क्तिमा महाधिवेशनको सुरसार होइन झनै पछि सारेको खेल चलिरहेको देखिएको छ । महाधिवेशन यथाशीघ्र गराउन काङ्ग्रेसका सामु अब के आपत छ, काङ्ग्रेसका शुभचिन्तकहरूले बुझ्न सकिरहेका छैनन् । महाधिवेशन गर्न जाँगर नचलाएबाट काङ्ग्रेस नेतृत्व पुरानै स्थितिमा फर्कन होइन पुरानै मनस्थितिमा झगडामा दिन बिताउन पो अझै चाहन्छ कि भन्ने शङ्का स्वाभाविक रूपले उठेको छ ।

महाधिवेशनको अर्को मिति तोक्न ढिलाइ गरिएपछि महाधिवेशन चाँडो गर्नुपर्छ र भरसक महाधिवेशन गर्नै हुन्न भन्ने विवाद सुरु भएको छ । महाधिवेशन नगराउँदा काङ्ग्रेसको कसलाई के फाइदा हुन्छ बुझ्न नसकिने कुरा भएको छ । महाधिवेशन हुनु भनेको गिरिजाप्रसाद कोइराला सभापति बन्नु हो र कोइराला सभापति बन्नु भनेको आफ्नो राजनीतिलाई धक्का पुग्नु हो भन्ने कतिपयले ठानेको पनि देखिन्छ । व्यक्तिगत डर र पूर्वाग्रहका कारण महाधिवेशनजस्तो पार्टीको जीवनलाई महत्वपूर्ण बल पु¥याउने थलोलाई नै भताभुङ्ग पार्न खोजिरहनुलाई काङ्ग्रेस समर्थकहरूले काङ्ग्रेस उँभो नलाग्ने छाँट भनी टिप्पणी गरेका छन् ।

गत माघ र फागुनमा अधिराज्यव्यापी रूपमा काङ्ग्रेसभित्र नयाँ सरगर्मी आएको थियो । सदस्यता वितरण, गाउँ, क्षेत्र र जिल्ला अधिवेशनहरूको तयारीका क्रममा अल्छी काङ्ग्रेसहरू पनि सक्रियतापूर्वक मैदानमा जुटेका थिए । नेतृत्वमा आउने प्रतिस्पर्धाका क्रममा सङ्गठनलाई अर्कैभन्दा बढी राम्रोसँग हाँक्न सक्छु भनी काङ्ग्रेसजनहरू जिल्लाहरूमा भिडेर लागेका थिए । वर्ष दिनपछि नै हुने स्थानीय चुनाव, कुनै पनि बेला हुन सक्ने मध्यावधि चुनावका लागि काङ्ग्रेसका गाउँ अधिवेशनदेखि महाधिवेशनसम्मले ऊर्जा, उमङ्ग र उत्साहसहित अत्यन्तै ठूलो तागत सिङ्गो काङ्ग्रेस पार्टीलाई दिने निश्चित थियो । तर, एमालेले विशेष अधिवेशनका लागि समावेदन गरेपछि काङ्ग्रेसको सारा काम भताभुङ्ग हुन पुग्यो । त्यसो त अहिले पनि केही बितिहालेको छैन, पन्ध्र–बीस दिन अघिपछि महाधिवेशन हुनु कुनै ठूलो बबन्डरको कुरा होइन । काङ्ग्रेसले अहिले पनि महाधिवेशन गरेर कार्यकर्ताको उत्साह रक्तसञ्चार गर्न सक्दछ, तर कार्यकर्ताहरूमा यतिबेला महाविधेशन हुन अनिश्चितताका कारण आक्रोशको पारो आकासिँदै गएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयमा भोलिदेखि महासमितिका सदस्य दामन पाख्रिन आमरण अनशनमा बस्ने हुनुभएको छ । महाधिवेशनको मिति नतोकिएकोमा पार्टीभित्र बढेको आक्रोश बाहिर पोखिने थालनीको रूपमा उहाँको अनशनलाई लिइएको छ । उहाँका साथमा धादिङ २ नं. क्षेत्रका काङ्ग्रेस अध्यक्ष रामहरि शर्मा नेपाल पनि आमरण अनशनमा बस्नुहुने भएको छ । उहाँहरूलाई पार्टी केन्द्रीय कार्यालयमा अनशनमा बस्न कतिपय काङ्ग्रेस कार्यकर्ताहरूले नै व्यवधान खडा गर्ने थाहा भएको छ ।

महाधिवेशन हुनुपर्छ भनी अनशनमा बस्न लागेकाहरूलाई हेरौँ त कसले रोक्दोरहेछ भनी महाधिवेशन चाँडै हुनुपर्छ भनी आवाज उठाइरहेका युवाहरू पनि भोलि पार्टी केन्द्रीय कार्यालयमा भेला हुने भएका छन् । थाहा भएअनुसार आमरण अनशनमा बस्नेहरूलाई साथ दिन केही युवाले रिले अनशन गर्ने कार्यक्रम बनाउँदै छन् । बिहानदेखि बेलुकीसम्म भोकै बस्दा सम्पन्न हुने रिले अनशनका अतिरिक्त महाधिवेशनको मिति चाँडै नतोकिएमा कार्यालय घेराउ, कोणसभा, धर्नाजस्ता कार्यक्रम पनि गरिने तयारी हुँदै गरेको थाहा भएको छ । कार्यालयमा गरिने कार्यक्रमहरूको असर तत्काल देखा नपरेमा कतिपय काङ्ग्रेस कार्यकर्ताले सभापति कृष्णप्रसाद भट्टराईकै निवासमा समेत धर्ना दिने कार्यक्रम बनाउँदै गरेको बुझिएको छ । महाधिवेशनको मिति यथाशीघ्र तोक्न जिल्ला–जिल्लाबाट अनुरोधपूर्ण दबाबहरू आउन थालेका छन् । नेपाली काङ्ग्रेस गुल्मीले हालै एक ज्ञापनपत्र पार्टी सभापति कृष्णप्रसाद भट्टराईसमक्ष बुझाएको छ । हिजो झापा जिल्ला समितिको कार्यसम्पादन समितिको बैठकले पनि महाधिवेशन गराउन केन्द्रलाई अनुरोध गर्ने निर्णय ग¥यो । केही दिनअघि धनकुटामा सम्पन्न काङ्ग्रेसजनहरूको एक भेलाले पनि यसै विषयमा चिन्ता प्रकट ग¥यो । थाहा भएअनुसार काङ्ग्रेसका दर्जनौँ जिल्ला समिति महाधिवेशन चाँडो गराउन केन्द्रलाई अनुरोध पठाउने क्रममा छन् ।

(घटना र विचार साप्ताहिक, २०५२ चैत २१ गते बुधबार)