नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई विदेशमा गएर पुरस्कार लिन रोक लगाएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेश गएर पुरस्कार, आर्थिक सहायता र चन्दा लिन रोक लगाएको हो ।
हालै बैंक तथा वित्तिय संस्थालाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक सहायता, कुनै पनि प्रकारको शुल्क, वित्तीय योगदान गरेको आधारमा सो को प्रतिफल स्वरुप कुनै पनि विदेशी निकायबाट पुरस्कार ग्रहण नगर्न निर्देशन दिएको हो ।
कुनै पनि विदेशी संस्थाबाट पुरस्कार लिनुपर्दा राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था परिर्वतन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । पुरस्कार स्वीकार गर्नुअघि पुरस्कार दिने संस्थाको वैधानिक हैसियत तथा आधिकारिकताको पुष्टि हुने कागजात पेश गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।
पुरस्कार लिन जाँदा हुने भ्रमण खर्च मितव्ययी बनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ)को विदेश भ्रमणलाई थप व्यवस्थित बनाउन आउँदो चैतभित्र कार्यविधि बनाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
विदेश भ्रमणमा जाँदा भ्रमणको उपयोगितालगायतका विषय सञ्चालक समितिबाट पारित गरेको हुनुपर्ने, संस्थाका प्रमुख व्यक्ति विदेश जाँदा हुने खर्च र लाभ दुवैको विश्लेषण र खर्च मितव्ययी हुनुपर्ने निर्देशन जारी गरिएको छ ।
प्रतिक्रिया