२०१७ का ‘टप फाइभ’ फुटबलर

२०१७ का ‘टप फाइभ’ फुटबलर


सन् २०१७ साल सकिन अब केही दिन मात्र बाँकी छ । यो वर्ष फुटबलमा निकै उतारचढाव देखिएको छ । फुटबलका चर्चित हस्तीहरूले यस वर्ष फुटबलबाट सन्न्यास लिइसकेका छन्, जसमा इंग्ल्यान्डका वाइन रुनी र ब्राजिलका काकाको आकस्मिक सन्न्यासको घोषणाले फुटबलप्रेमीहरूलाई निराश तुल्याएको छ । त्यस्तै फिफा विश्वकप फुटबल छनोट चरणको प्रतिस्पर्धामा इटाली र चिलीको सनसनीपूर्ण पराजयसँगै विश्वकपमा छनोट नहुनु फुटबलका लागि तातो समाचार बनेको थियो । विभिन्न अपत्यारिला घटना घटेको २०१७ मा फुटबल खेलाडीले भने सानदार प्रदर्शन गरेका छन् । टिममा भित्र र बाहिर पर्नु र हारजितको सामना गर्नु खेलकुदको नियति हो । यस्तो उचारचढाव फुटबलका दिग्गज खेलाडीले पनि भोगेका छन् । तर, यस्तो उतारचढावमा पनि केही फुटबल खेलाडीले आफ्नो राष्ट्र र क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् । ती पाँचजना खेलाडी जो चर्चाको योग्य पात्र बनेका छन् जसले विश्व फुटबलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई वर्षकै चर्चित खेलाडीको रूपमा उभ्याउन सफल भएका छन् ।

लियोनल मेसी :
शुभारम्भमा लियोनल मेसीको २०१७ साल त्यति सुखद र उत्कृष्ट रहेन । मेसीको प्रदर्शनमा निकै उतारचढाव देखियो । ब्राजिलियन स्टार नेमारले बार्सिलोना छोडेपछि मेसीको प्रदर्शनमा ह्रास आएको थियो । तर, पछि मेसी आफूलाई सम्हाल्दै नामअनुसारको प्रदर्शन गर्न सफल भएका थिए । यो वर्ष फिफा विश्वकप छनोट चरणमा मेसीले गरेको ह्याट्रिक सबैभन्दा चर्चित बन्यो । मेसीले उचित समयमा राष्ट्रका लागि गरेको यो प्रदर्शनले उनी विश्वचर्चित खेलाडी भएको प्रमाणित गरेको थियो । मेसीले यो वर्ष ६४ खेल खेल्ने अवसर प्राप्त गरेकोमा ती खेलमा ५४ गोल गर्न सफल भएका थिए । हालै रियल म्याड्रिडसँग भएको खेलमा बार्सिलोनालाई ३–० ले जिताउन मेसीले विशेष भूमिका निभाएका थिए ।

हेरी केन : यो वर्ष इंग्ल्यान्ड स्टार खेलाडी हेरी केनका लागि उत्कृष्ट रहेको छ । शुभारम्भदेखि नै सुधारिएको प्रदर्शन गर्दै आएका केनले यो वर्षको अन्त्यसम्म सर्वोत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले अहिलेसम्म खेलेका ४८ खेलमा ५० गोल गरिसकेका छन् । जुन कम खेल खेलेर केनले अन्य खेलाडी पछि पारेका छन् । यो सालको अन्त्यमा केनले अझै दुई खेल खेल्न बाँकी छ । उनलाई अझै यो वर्ष सबैभन्दा बढी गोल गर्ने खलाडी बन्ने अवसर छ । त्यस्तै जर्मनीको पेरिस सेन्टबाट खेल्ने एडिन्सन कवानीले पनि यो वर्ष उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले अहिलेसम्म ५७ म्याचमा ५३ गोल गरिसकेका छन् ।

क्रिस्टियानो रोनाल्डो : पोर्चुगलका विश्वचर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको यो साल पनि उत्कष्ट रहेको छ । फिफा वर्षखेलाडीको उपाधि जित्नुको साथै उनले समग्रमा राम्रो प्रदर्शन गरेका छन् । स्पेनको चर्चित लालिगामा भने उनले सोचेकोजस्तो प्रदर्शन गर्न सकेनन् अर्थात् रोनाल्डोको प्रदर्शन निराशाजनक रह्यो । तर, रोनाल्डोले पोर्चुगल र च्याम्पियन ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेर सबैको मुख बन्द गरेका थिए । यो वर्ष रोनाल्डोले ६० खेलमा ५३ गोल गरिसकेका छन् । हालै बार्सिलोनासँग भएको भिडन्तमा रोनाल्डोबाट गोलको निकै अपेक्षा गरिए पनि उनी असफल भएका थिए । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा रियल आफ्नै घरमा बार्सिलोनासँग ३–० ले पराजित भएको थियो ।

रोबर्ट लेनवान्डोस्की : पोल्यान्डका रोबर्ट लेनवान्डोस्की यो साल निकै उत्कृष्ट लयमा देखिएका छन् । जर्मनीको वायर्न म्युनिख क्लबबाट खेल्ने लेनवान्डोस्कीले यो वर्ष खेलेका ५५ खेलमा ५३ गोल गरेर सबैलाई आश्चर्यचकित पारेका छन् । उनको यही प्रदर्शनले गर्दा २०१७ मा सबैभन्दा बढी गोल गर्ने पाँच खेलाडीमा उनको नाम पनि परेको हो ।