‘नयाँ सरकार निर्माणमा देउवा बाधक’

‘नयाँ सरकार निर्माणमा देउवा बाधक’


नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नयाँ सरकार निर्माणमा प्रधानमन्त्री शेरबहादुर देउवा बाधक बनेको आरोप लगाएका छन् ।

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न सुझाव समेत दिएका छन् ।

बुधबार काठमाडाैंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा हार व्यहोर्दा समेत प्रधानमन्त्री देउवाले पदबाट राजीनामा नदिएकोमा आपत्ति समेत जनाए ।

नेता नेपालले सरकार गठनका विषयमा बाम गठबन्धन भित्र विवाद नरहेको दावी समेत गरे । उनले झण्डै २ तिहाई बहुमत ल्याएको बाम गठबन्धनले नै नयाँ सरकार बनाउने उनको भनाई थियो ।

‘सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकतासँगसँगै अघि बढनेछ । दुवै दलका शीर्ष नेताहरुबीच छलफल गरी पार्टीको वैचारिक र संगठनात्मक संरचनाको विषयमा टुंगो लगाइनेछ’ नेता नेपालको भनाई छ ।

वरिष्ठ नेता नेपालले पार्टी एकताका विषयमा दुई दलका नेताहरुबीच छलफल भईरहेको समेत बताए ।