बाम गठबन्धनका शीर्ष नेताद्वय माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ओलीनिवास बालकोटमा भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच आज भएको बहुप्रतिक्षीत वार्तालाप पनि ठोस निचोडविना नै टुंगिएको बुझिएको छ ।
बुधबार दिउँसो ओलीनिवास बालकोटमा भएको भेटमा दुई नेताबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको ओलीको सचिवालयबाट जानकारी मिलेको छ । निकै दिनको ग्यापपछि दुई जिम्मेवार नेताबीच भेटघाट भएकोले राजनीतिक गतिरोधको निकास निस्कने आशा धेरैले गरेका थिए, तर उल्लिखित मुद्दामा उत्पन्न अवरोध कसरी चिरेर अघि बढ्ने भनी समाधानको ठोस उपाय भने नेताहरुले अझै निकाल्न नसकेको बुझिएको छ ।
प्राप्त जानकारीअनुसार नेताहरुबीच चिसो बढिरहेको भन्ने बाहिरी हल्लाविपरीत प्रचण्ड र ओलीबीच निकै सौहार्द वातावरणमा कुराकानी भएको थियो। जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा केन्द्रित रही उनीहरुबीच छलफलमा भएको थियो भन नयाँ सरकार गठनका विषयमा ेनिर्वाचन आयोगले वातावरण सहज बनाइदिन नसकेको गुनासो पनि दुवैले कुराकानीका क्रममा प्रकट गरेका थिए ।
दुई प्रमुख दलका अध्यक्षबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी धने कायम नै रहेको बुझिएको छ । पार्टी एकीकरणबारे विभिन्न अन्योल उत्पन्न भएकोप्रति चिन्ता प्रकट गर्दै ओली र प्रचण्डले एक-दुई दिनमै पार्टी एकताका लागि गठन गरिएको संयोजन समितिको बैठक बोलाएर एकताको प्रक्रिया अघि बढाउने समझदारी भएको छ ।
केही दिनको रिक्ततापछि भएको यस शीर्षभेटले जुन परिणाम दिने अपेक्षा गरिएको थियो, त्यो भने हुन नसकेको विश्लेषकहरुको टिप्पणी छ । नेताहरुबीच भेटघाट हुनुलाई नै उपलब्धि मान्ने भए अलग कुरा, पार्टी एकता र सरकार गठनकै लागि भने अझै पनि ठोस आधार निर्माण हुन नसकेको घटनाक्रमले प्रष्टै दर्शाइरहेको छ ।
प्रतिक्रिया