हरेराम हरेकृष्ण पून: निर्माण हुने

हरेराम हरेकृष्ण पून: निर्माण हुने


लण्डन । भारतीय नायक देवआनन्दको चलचित्र हरेराम हरेकृष्णको सुटिंग सन् १९७१मा नेपालको धेरै रमणिय ठांउमा गरिएको थियो । फिल्मको महत्वपूर्ण भाग र लगभग आधा जति फिल्म नेपालमा नै छायांकन गरिएको थियो। यो फिल्म बक्स अफिसमा अत्याधिक हिट भएको थियो। त्यस फिल्ममा तत्कालीन् हिप्पीहरुको संस्कार, वातावरण र लागु पदार्थबारे चित्रण गरिएको छ।

८६ वर्षीय सदाबहार हिरो देवआनन्दले हालै जेएम मेरिअट होटलमा उनको आगामी चलचित्र चार्जशीटको निर्देशनको क्रममा, “म अब हरेराम हरेकृष्ण फिल्मको पून: अर्को भर्सन नेपालमा छिट्टै छायांकन गर्न गईरहेको छु, यस फिल्मको संवाद तैयार भैसकेकोछ र जनताले अर्को हरेराम हरेकृष्ण चाहेका छन्” भनेर जनाएका थिए। उनले अहिलेको वातावरण अनुसार अनुकुलता मिलाएर अहिलेका पुश्तालाई दर्शाउने हिसाबमा त्यस फिल्मको रिमेक हुनेछ भनेर उद्धृत गरेका छन्।

देवआनन्दले निर्देशन गरेका सस्पेन्स थ्रिलर फिल्म चार्जशीटको निर्माण नवकेतन् फिल्मसले गरेको छ। यस फिल्ममा देवआनन्द आफैले निर्देशन गर्नुका साथै प्रमुख भुमिका पनि निर्वाह गर्दैछन। यस फिल्ममा भारतका समाजवादी नेता, अमरसिंहलाई पनि गृहमंत्रीको भुमिकामा देखिने छन्। अमरसिंहले आफ्नै घर फिल्म निर्माणका लागि दिएका छन्।

पछिल्लो समयमा देवआनन्दले सन् २००१मा सेन्सर, सन् २००३मा लभ एट टाईम्स स्क्वाएर र सन् २००६मा मिस्टर प्राईम मिनिस्टर फिल्महरुको निर्देशन गरेका थिए, तर ती फिल्महरुले बक्स अफिसमा सफलता प्राप्त गर्न सकेनन्। तर पनि, सदाबहार ८६ वर्षीय हिरो देवआनन्दले अमिलो मन गरेका छैनन्। उनले जनाए अनुसार उनको अविस्मरणिय फिल्म हमदोनो श्यामस्वेतबाट रंगिन फिल्ममा परिमार्जन गरिसकेको छ। यो फिल्मलाई रंगिन बनाएपछि एकदमै राम्रो लागेको उनले भनेका छन् ।

स्रोत: -नेट, सुमल, मेस ।