माओवादीले प्रधानमन्त्रीको चुनावमा जित्ने दाबी

माओवादीले प्रधानमन्त्रीको चुनावमा जित्ने दाबी


भोलि सोमबार हुने प्रधानमन्त्रीको चुनावमा माओवादीले आफ्ना उम्मेदवारले जित्ने दाबी गरेको छ । मधेसी मोर्चाको अवधारणापत्रमाथि आफ्नो औपचारिक धारणा बुझाएपछि माओवादीले आफ्ना उम्मेदवारले जित्ने दाबी गरेको हो । राजनीतिक दलहरुले आज पनि आन्तरिक र आपसी छलफललाई निरन्तरता दिएका छन् । प्रधानमन्त्रीको चुनावी प्रतिस्पर्धामा रहेका एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसले आफ्नो पक्षमा बहुमत जुटाउन परामर्शलाई निरन्तरता दिएका हुन् ।

एकीकृत नेकपा माओवादी आफूले मोर्चालाई बुझाएको लिखित पत्रको जवाफको पर्खाइमा छ । प्रवक्ता दीनानाथ शर्माले मोर्चाको जवाफ आएपछि थप रणनीति तय गरिने बताउनुभयो । निर्वाचनमा समर्थन पाउनका लागि कांग्रेसले पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले उठाएका १६ बुँदे माग प्रति आज नै आफ्नो लिखित अवधारणा बुझाउँदैछ । निर्णायक भूमिकामा रहेको मधेशी मोर्चाले आफ्नो मागलाई समर्थन गर्ने दललाई सघाउने जनाएको छ ।

नेकपा एमाले भने पार्टी भित्रको आन्तरिक विवादका कारण तेस्रो चरणको प्रधानमन्त्री निर्बाचनमा पनि तटस्थ बस्ने भएको छ । एमाले सचिब युवराज ज्ञवालीले काङग्रेस र एमालेले प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिएमात्रै सहमतिको पहल गर्ने बताउनुभयो । ‘कसैको भाषणको भरमा तटस्थ बस्ने यसअघिको निर्णय परिवर्तन हुँदैन,’ सचिब ज्ञवालीले भन्नुभयो, ‘बहुमतको खेलमा एमाले लाग्दैन ।’