चुनावमा आफ्नै नेता तथा कार्यकर्ताबाट अन्तर्घात भएको चर्चा चलिरहेको बेला नेपाली कांग्रेस ललितपुर, आफ्नै पार्टीका प्रभावशाली स्थानीय नेताहरुप्रति आक्रामक बनेको छ ।
ललितपुर कांग्रेसको अनुशासन समितिले अन्तर्घात गरेको आरोप लगाउँदै नेता ओमकारप्रसाद श्रेष्ठ, रामकृष्ण चित्रकार, जितेन्द्र मलेगो, कबेलबहादुर लामा, भरतलाल न्याँछ्यो, प्रमोद शर्मा र विकासकुमार रोकालाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गर्न केन्द्रमा सिफारिस गरेको हो ।
समितिका संयोजक नवराज महतको अध्यक्षतामा बसेको बैठकले उनीहरूविरुद्ध कठोर निर्णय गरेको बुझिएको छ । कांग्रेस ललितपुर स्रोतका अनुसार, अनुशासन समितिले कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कारवाहीको सिफारिसमा परेका नेताहरूको नामसहितको पत्र बुझाएको छ ।
ओमकारप्रसाद श्रेष्ठ नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य र मन्त्री भइसकेका प्रभावशाली नेता हुन् । प्रजातन्त्रप्राप्तिको आन्दोलनमा झन्डै डेढ दशक अवधि जेल बसेका श्रेष्ठको कांग्रेसमा ठूलो योगदान रहेको छ । अन्तरघात गर्ने आरोप लागेको अर्का नेता हुन् रामकृष्ण चित्रकार ।
चित्रकार कांग्रेसबाट सांसद भएका व्यक्ति हुन् । उनी मिडिया मालिकका रुपमा समेत चिनिन्छन् । लामा कांग्रेसको भातृ संगठन नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष हुन् ।
कारवाहीको सिफारिसमा पर्नेमा ललितपुर कांग्रेसको सभापति पदमा उम्मेदवार बनेर पराजित बनेका जितेन्द्र मलेगो पनि रहेका छन् । ललितपुर कांग्रेसले क्षेत्र नं. १ मा उदयशम्शेर राणा, २ मा चन्द्र महर्जन र ३ मा मदनबहादुर अमात्यलाई उम्मेदवार बनाएको थियो ।
ललितपुर कांग्रेसको एक सुत्रका अनुशार जिल्ला सभापति मदन अमात्यले पूर्वाग्रह राखेर सहकर्मीहरुलाई कठोर कारवाहीको सिफारिस गरेको भन्दै कैयन कार्यकर्ताले असन्तुष्टी जनाएका छन् । यता, कारवाहीको सिफारिसमा परेका ओमकारप्रसाद श्रेष्ठले कांग्रेसको हातमा कांग्रेस नरहेको अवस्थामा आफूहरु जस्ता इमान्दार कांग्रेसीहरुलाई कारवाहीको ढोँग रचिनु सामान्य कुरो भएको बताए ।
पार्टीका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि सबैलाई जिल्ला सभापति अमात्यले कारबाहीको सिफारिश गरेको प्रति आश्चर्य प्रकट गर्दै श्रेष्ठले भने–‘हामीसँग स्पष्टीकरणनै नलिई कारबाहीको सिफारिश गरेर केन्द्रमा पठाइएको भन्ने सुनिएको छ, यसले हामीलाई केही फरक पर्दैन ।’
प्रतिक्रिया