माओवादी केन्द्र एमालेमा विलय हुन लागेको वैद्यको ठहर

माओवादी केन्द्र एमालेमा विलय हुन लागेको वैद्यको ठहर


नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण)ले क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकीकरण र धु्रवीकरण हुनुपर्नेमा जोड दिएका छन् ।

बुटवल–१२ ढबाहस्थित छन्त्याल संघको भवनमा पार्टीको प्रदेश नं ५ को प्रदेशस्तरीय प्रशिक्षण तथा बैठकको उदघाटन गर्दै महासचिव वैद्यले सच्चा क्रान्तिकारीलाई गोलबन्द गर्न पार्टीले अगुवाई गर्ने बताए । पार्टीले पार्टी एकीकरण र धु्रवीकरणका लागि विप्लव, ऋषि कट्टेल र मसालसँग छलफल चलिरहेको खुलासा पनि गरे । मुलुकमा प्रतिक्रान्तिको अध्याय शुरु भएको भन्दै नयाँ जनवादी क्रान्तिको तयारीमा पार्टी जुटेको समेत बताए ।

मुलुकमा बनेका दुई गठबन्धन लोक तथा बाम गठबन्धन दुईटै नभएको आरोप लगाउँदैै उनले पश्चगामी र पश्चगामी संसदीय व्यवस्थालाई संरक्षण गर्न गठबन्धन बनेको दाबी गरे ।

बहुदलीय र बहुलवादलाई सिध्याएर कांग्रेस–एमाले र माओवादी केन्द्रले मुलुकमा पाँचदलीयवाद लाद्न खोजेको उहाँले आरोप लगाए । उनले एमाले र माकेको एकतालाई एकता नभई माके गएर एमालेमा विलय भएको जिकीर गरे ।

पार्टी स्थायी समिति सदस्य परी थापाले संसदीय पार्टीकै कारण मुलुकमा संसदीय व्यवस्था कमजोर बन्दै गएको दाबी गरे । संसदीय व्यवस्था कमजोर बन्दैं गएकाले संसदीय पार्टीहरु त्यसलाई जीवित राख्न लागिपरेको पनि उनले बताए संविधान र संसदीय व्यवस्था खारेजीका लागि मोर्चाले चुनावलाई क्रान्तिकारी उपयोग गर्नु सही भएको उनको तर्क थियो ।

प्रदेश नं ५ का संयोजक प्रेमनाथ सुवेदीको अध्यक्षता तथा केन्द्रीय सदस्य हिरामणी दुःखीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षणमा महासचिव वैद्य तथा नेता थापाले प्रशिक्षण दिएका थिए । चितवनमा सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकपछि पहिलो पटक प्रदेश नं ५ स्तरीय प्रशिक्षण तथा बैठक भएको हो ।

– चन्द्रकान्त खनाल