एक महिनामै भारतमा ६ सय ६० माझी बेपत्ता

एक महिनामै भारतमा ६ सय ६० माझी बेपत्ता


धेरै जनाको ज्यान लिनेगरी एक महिना अगाडि आएको चक्रवातपछि भारतमा अहिलेसम्म ६ सय ६० जनाभन्दा धेरै माझी हराइरहेका छन् । श्रीलङ्कासँगको सीमानामा पर्ने भारतीय क्षेत्रहरूबाट उनीहरू बेपत्ता भएको भारतीय अधिकारीहरूले बताएका छन् ।

गत नोभेम्बरको २९ तारिखका दिन श्रीलङ्काबाट शुरु भएको चक्रवातका कारण २५० जनाको मृत्यु भएको पुष्टि भइसकेको एएफपीले जनाएको छ । प्रतिघण्टा १३० किलोमिटरको गतिमा आएको चक्रवातले रुख बोटविरुवा उखेल्नुका साथै विद्युत र टेलिफोनका संरचनामा क्षति पुगेपछि सेवा अवरुद्ध भएका छन् भने दशौँ हजार घर ध्वस्त भएका छन् ।

भारतका रक्षा मन्त्री निर्मला सीतारमणले ६ सय ६१ जना माझी अहिलेसम्म बेपत्ता भएको संसदलाई जानकारी दिए पनि अहिले नै उनीहरूको मृत्यु भइसकेको भन्न भने नमिल्ने बताइन् ।

बताइएअनुसार बेपत्ता भएकामध्ये ४०० जना तमिल नाडुबाट र अरू २६१ जना केरलाबाट बेपत्ता भएका हुन् । भारतका रक्षामन्त्रीले रक्षा मन्त्रालय र अन्य विभिन्न निकायहरूले ८ सय ४५ जनाको उद्धार गरेको पनि जानकारी दिएका छन् ।

भारतको पूर्वी तटिय क्षेत्रमा हरेक वर्षको अप्रिलदेखि डिसेम्बरसम्म चक्रवातका कारण धेरै जनाको मृत्यु हुने गरेको छ । सन् १९९९ मा आएको चक्रवातले आठ हजार जनाको ज्यान लिएको थियो ।