प्रदेशसभा सदस्यको सूचीमा नपरेपछि पार्टी कार्यालय तोडफोड

प्रदेशसभा सदस्यको सूचीमा नपरेपछि पार्टी कार्यालय तोडफोड


प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टीका कार्यकर्ताहरु तोडफोडमा उत्रिएका छन् । प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेपछि विनोद सिंह नामका एक राजपा कार्यकर्ताले आफ्नो समूहका केही व्यक्ति उचालेर पार्टी कार्यालयमा तोडफोड गराएका हुन् । मधेश निजामती कर्मचारी महासंघका पूर्वअध्यक्ष समेत रहेका सिंहलगायत व्यक्तिहरुले बबरमहलस्थित पार्टी कार्यालयको कुर्सी, टेबुल र सूचनापाटी तोडफोड गरेका हुन् । राजपा नेताहरुले आफूलाई सांसद बनाउने आश्वासन दिएपछि सरकारी सेवाबाट समेत राजीनामा दिएर पार्टीको काममा होमिएको सिंहको भनाई छ । जागिर छोडेर राजनीतिमा लागेपछि आफूलाई धोका दिएको भन्दै उनी तोडफोडमा उत्रिएका हुन् ।

यसरी अराजक व्यवहार प्रदर्शन गर्ने विनोद सिंहलगायतलाई राजपाले कारवाही गर्ने सो पार्टीका महासचिव केशव झाले बताएका छन् ।

उता राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष लक्ष्मण विष्ट र अर्का नेता भुवनप्रकाश विष्ट नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुमलटारस्थित आफ्नै निवासमा उनीहरूलाई पार्टी प्रवेश गराउँदै वाम गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको युग शुरू भएको र सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताए ।