निंद्रामा हिँडनेहरुका रोगको जानकारी

निंद्रामा हिँडनेहरुका रोगको जानकारी


लण्डन । वैज्ञनिकहरुले निंद्रामा हिड्ने व्यक्तिहरुका क्रियाकलाप अथवा स्वभाव उनिहरुका डीएनएबाट खुट्याईएका कुरामा विश्वास गरेका छन् र यस रोगको संभावित उपचार हुने आशा व्यक्त गरेका छन् । यस रोगबाट पीडित मानिसहरुमा उनीहरुका डीएनएभित्रका एउटा खराब क्रोमोजोमको कारणबाट निंद्रामा हिँड्ने कुरा पहिल्याएका छन् । एकै परिवारका चार पुस्तासम्मको अध्ययनबाट अनुसन्धानकर्ताहरुले डीएनएको क्रोमोजोम २०को भागलाई विश्लेषण गरेर अध्ययनलाई प्रष्ट्याउँदै यसको कारकतत्व पहिल्याउने क्रममा धेरै नजिक पुग्न सफल भएका छन् ।
अनुसन्धानको प्रतिवेदन न्युरोलोजी जोर्नलमा दिएअनुसार खराब क्रोमोजोमको एउटा लेश मात्रले निंद्रामा हिँड्ने बिमारी हुनलाई पर्याप्त भएको कुरा उल्लेख गरेको छ । जेनेटिक कोडको खराबवाला भागलाई खुट्याएर त्यस भागलाई नियन्त्रण गर्न सके वैज्ञनिकहरुले उपचारको नयाँ बाटो पहिल्योउने आशा गरेका छन् । दश प्रतिशत बच्चाहर निंद्रामा हिँड्ने बिमारीको शिकार हुन्छन् भने पचास जनामा एकजना वयश्कलाई यो बिमारी हुने गर्छ । बच्चाहरु बढ्दै गएपछि बिमारी स्वतः हराउँदै जान्छ । तर, यदि वयश्क अवस्थासम्म यो बिमारी दूर भएनभने यो बिमारी बाधायुक्त र खतरनाक साबित हुन्छ । निंद्रामा हिँड्ने बिमारीभएकाहरुले निंद्रामा कार चलाएका जस्ता घट्नाहरु भएका छन् । चिकित्सापद्धतिमा यसलाई सोमनाबुलिज्म भन्दछ । एकदमै थकान र तनाव भएको बेलामा बिमारी लागेकाहरुलाई बढी चाप्ने गर्दछ । साधारणतया रातको प्रथम प्रहारतिर मानिस गहिरो नींदमा सुतेलगत्तै सपनारहित् “स्लो वेभ” अथवा नन् रेपिड आई मुभमेन्ट (एनआर्इएम)को अवस्थामा यो बिमारी भएकाहरु उठेर हिँड्ने गर्छन् । तर, बिहान उठदा त्यस व्यक्तिलाई आफू निंद्रामा हिँडेको कुरा थाहा हुँदैन । वाशिङटन् युनिभर्सिटी स्कूल अफ साइन्सकी डाक्टर क्रिस्टिना गुर्नटले एकै परिवारका २२ जना सदस्यामध्ये ९ जनालाई राति निंद्रामा हिँड्ने बिमारी भएकाहरु फेला पारेकीछिन् । त्यस परिवारका एकजना सदस्याले बिहान आफू उठ्दा सधैं आठवटा मजाहरु लगाएका पाउँथे, तर, उनलाई त्यसबारे थाहा हुँदैनथ्यो । त्यस्तै परिवारका अरु बिमारी लागेका सदस्यहरुको खुट्टाको बूढी औंलाहरु भाँचेका तथा चोट लागेका घाउहरु डाक्टर गुर्नटले फेला पारेकी थिईन् । वैज्ञानिकहरुले डीएनएको क्रोमोजोम २० मा यो खोट देखेका छन्, जुनचाँहि वंशानुगत क्रममा एक पुस्तादेखि अर्को पुस्तामा सर्दै जाने कुरा प्रकाशमा आएको छ । यो जीन भएको बुवाबाट उसको बच्चालाई सर्ने पचास प्रतिशत सम्भावना रहन्छ भनेर वैज्ञानिकहरुले बताएका छन् । श्रोत – टेलिग्राफ, सुमल, मेस ।