जनयुद्धमा लागेका नेता कृषि क्रान्तिमा, ब्यवसायमा प्रधानाध्यापक श्रीमतीको पनि साथ

जनयुद्धमा लागेका नेता कृषि क्रान्तिमा, ब्यवसायमा प्रधानाध्यापक श्रीमतीको पनि साथ


मनमा भए जोसजाँगर । गाउँघरमै मिल्छ रोजगार । सीप क्षमता । ज्ञान, सीप भए गाउँघरमै कृषि व्यवसाय गरी मनग्य कमाउन सकिन्छ । पैसाकै लागि विदेश भौतारिरहनु पर्दैन । पछिल्लो समय अन्य पेशा व्यवसाय अँगालेका मानिसहरु पनि बचेको समयलाई कृषि पेशा व्यवसायमा खर्चिन थालेका छन् । र कृषि व्यवसायबाट मनग्य कमाईरहेका छन् ।

यस्तै उदाहरण पेश गरेका छन् लमजुङ राईनास नगरपालिका तीनपिप्लेका मेख बहादुर भण्डारी र उनकी श्रीमती नानुमाया पराजुलीले । उनीहरुले व्यवसायिक केरा खेती थालेका छन् । बार्षिक लाखौँ आर्जन गर्न उनिहरु सफल समेत भएका छन् ।

मेखबहादुर भण्डारी नेकपा माओवादी केन्द्रको जिल्ला स्तरको नेता हुन् । उनकी श्रीमती नानुमाया पराजुली शिशु विद्याआश्रम माविको प्रधानाध्यापक हुन् । उनिहरु दुवैजना आ–आफ्नै काममा हरदम व्यस्त रहन्छन् । तर उनिहरुले साँझ बिहानको समयलाई उद्यमशिलतामा खर्चिएका छन् । २०७२ सालबाट राईनास नगरपालिका–५ तीनपिप्लेमा धान खेती लगाउँदै आएको घर नजिकैको ७ रोपनी जग्गामा केरा खेती सुरु गरेका हुन् ।

मुलुकमा आर्थिक परिवर्तन आवश्यक रहेको बताउँदै किसान भण्डारीले राजनीति संगै आर्थिक रुपमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ व्वसायिक केरा खेती गरेको मेखबहादु्र बताउँछन् । उनि भन्छन्, ‘राजनीतिसंगै कृषि व्यवसायलाई अघि बढाउँदा आत्मसन्तुष्टि मिलेको छ ।’

उनको एकल प्रयासले मात्र यो सम्भव भएको हैन् । व्यवसायिक केरा खेतीमा भण्डारीलाई हरदम साथसहयोग मिलेको छ, श्रीमती नानुमाया पराजुलीको । उनि शिक्षण पेशामा आवद्ध छिन् । बिदाको समय र अन्य फुर्सदको समयलाई उनले आफ्नै केराबारीमा उपयोग गर्दै आएकी छिन् । उनि भन्छिन्, ‘सीप, क्षमता, आँट, जाँगर भए कृषि पेशाबाट स्वदेशमै मनग्य कमाउन सकिन्छ ।’

केराखेतीबाट भण्डारी दम्पतीले वार्षिक २ लाख बढि आम्दानी गर्दै आएका छन् । ‘उत्पादित केरा स्थानीय बजारमै खपत हुन्छ । बजारको समस्या छैन । केरा लिन व्यापारीहरु केरा बगैँचामा आउँछन् ।’ कृषक भण्डारीले भने, ‘जी नाईन र विलियम हाईव्रिड जातको केरा लगाएको छु । आम्दानी पनि राम्रै लिएको छु ।’

भण्डारी दम्पत्तिको उद्यमले रोजीरोटीका लागि दिनहुँ विदेश भासिएकाहरुलाई स्वदेशकै माटोमा दश नङ्ग्रा खियाउन सके धन आर्जन गर्न सकिने गतिलो उदाहरण प्रस्तुत गरेको छ ।