राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै, कांग्रेस केन्द्रिय समिति भने बेखबर

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै, कांग्रेस केन्द्रिय समिति भने बेखबर


आज पुस १६ अर्थात् ४२ औं राष्ट्रिय मेलमिलाप दिवस । जननायक बीपी कोइरालाले भारतबाट आठ वर्षे निर्वासित जीवन बिताएर राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रजातान्त्रिक आन्दोलनका धरोहर वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएका थिए । आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले स्वतन्त्र राज्य सिक्किमलाई भारतमा गाभिसकेर अन्य छिमेकी मुलुकहरुप्रति पनि गिद्धे दृष्टि राख्न थालेको सुइँको पाउँने वित्तिकै वीपी स्वदेश फर्किएका थिए ।

नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री तथा प्रजातन्त्रकालागि कठिन राजनीतिक संर्घष गर्नु भएका बीपी कोईरालाले प्रादुर्भाव गरेको राजनीतिक मेलमिलापको सान्दर्भिकता अझै पनि उत्तिकै बलियो बन्दै गएको धेरैको अनुभव छ । राजनीतिक ध्रुविकरण चरम रुपमा चुलिएको वर्तमान अवस्थामा बीपीको मेलमिलापको नीति झनै व्यावहारिक र द्धन्द्ध समाधान गर्ने सुत्र बन्न सक्ने चर्चा गर्न थालिएको छ । बीपीको त्यो मेलमिलाप नीति राष्ट्रियता, एकता, प्रजातन्त्र र मुलुकको सबल सार्वभौमिकताको लागि थियो ।

राजा, राजनीतिक दलहरु र सर्वसाधारण नागरिक एकतावद्ध नहुँदासम्म राष्ट्रियता बलियो हुन नसक्ने ठम्याई बीपीले गरेका थिए । अहिले देखिएको राजनीतिक शक्तिहरु बीचको अनावश्यक टकराव र अवाञ्छित वाह्य दवाव र प्रभाव विश्लेषण गर्दा वीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पुष्टि हुन्छ ।

तर नेपाली कांग्रेस केन्द्रिय समितिले भने राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कुनैपनि कार्यक्रमको आयोजना नगरेको बुझिएको छ । कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार मेलमिलाप दिवसको अवसरमा भातृ संस्थाहरुले कार्यक्रमको आयोजना गरेको जानकारी दिएका छन् ।

मेलमिलाप दिवसजस्तो महत्वपूर्ण कार्यक्रमलाई केन्द्रिय समितिले बिर्सिएको भन्दै कांग्रेसका भातृ तथा शुभेच्छुक संस्था एवं नेता तथा कार्यकर्ताहरुले आ–आफ्नो ठाउँमा कार्यक्रमको आयोजना गरेका छन् ।

स्रोतका अनुसार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कांग्रेस नेता लोकेश ढकालले बत्तिसपुतलीमा, बीपी स्मृति ट्रष्टले बालुवाटारमा, नेविसंघ लगायतका अन्य भातृ तथा शुभेच्छुक संस्थाहरुले राष्ट्रिय सभा गृहमा कार्यक्रमको आयोजना गरेका छन् ।

तर काँग्रेसभित्रै पटक पटक आन्तरिक किचलो हुँदा काँग्रेसीहरुले नै बीपीको मर्मलाई अहिलेसम्म लत्याउँदै आएको आभाष पाउन सकिन्छ । विभिन्न परिवर्तनमा कम्युनिष्ट शक्तिहरु पनि त्यही बीपीको मेलमिलाप नीति सम्झदै काँग्रेससंग एकता गर्न आइपुग्छन् । तर अहिलेसम्म स्वार्थपुर्ण योजनाका लागि बीपी भजाइएका छन् । सच्चा दिलले बीपी नपुजिएको पुराना काँग्रेसी नेताहरु नै बताउँछन् । पछिल्लो समय नै कांग्रेस केन्द्रिय समिति नै संस्थापक नेताका बिचारलाई संस्थागत भन्दा पनि बिर्सिदै गएकोमा सच्चा कांग्रेसहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् ।