के फूल उपहार पनि यौनअपराध हैन त ?

के फूल उपहार पनि यौनअपराध हैन त ?


-प्रकाश के.सी.,
केहीअगाडि, न्युयोर्कको आफ्नो फ्ल्याटमा नुहाएपछि कपडा बदल्ने क्रममा केही सेकेण्डकै लागि झ्यालको अगाडि नाङ्गो रहन पुगेका एक व्यक्तिलाई यौनअपराधको सेक्स्युल मोलेस्टेसन (Sexual Molestation) को अभियोगमा जेल चलान गरिएको समाचारले केही समय समाचारपत्रहरुमा भरिएका थिए । आफ्नै स्वामित्वमा रहेको आफ्नो कोठामा केही पल पनि नाङ्गिन नपाएका जस्तै लागे तापनि सो व्यक्तिलाई सोही समयमा केही परको सार्वजनिक बाटोबाट काममा जाँदै गरेकी एक युवतीले देख्न भ्याएकी थिईन् । त्यस्तै लण्डनमै एक प्राइभेट कार्यालयमा एक्लै रहेका एक व्यक्तिले आफ्नो निजी कम्प्युटरमा अश्लील तस्वीरहरु हेर्दै गरेकै वखत सहकर्मी एक युवती, झुक्किएर उनको टेबलमा आइपुगेकिथिईन् र सो युवतीले सो नाङ्गा तस्वीरहरु (Rated Pictures) का झलक देख्न भ्याएकिथिईन् । सो व्यक्ति सेक्स्युअल हृयारास्मेन्ट (Sexual Harrassment) मा कारबाहीमा परेका थिए ।

कुनै दोस्रो व्यक्ति, स्त्री तथा पुरुषलाई यौन चाहाना जगाउन सक्ने गरेर दोस्रो व्यक्तिले स्पर्श गर्ने, बोल्ने, सुनाउने, देखाउने वा दिने गरेकोलाई स्पष्ट रुपमा यौन अपराधको रुपमा लिइएको छ । यो तब कायम हुन्छ, जब उक्त दोस्रो व्यक्तिले सो कृयाप्रति आपत्ति जनाउँछ, असहमति दर्शाउँछ । हङकङको महिलाहरुको एक जेलको कम्पाउण्डभित्र, ग्यामन कम्पनीको लागि, माटोको स्पेसिमेन् (Specimen) लिन जाने क्रममा म आफै पनि एक जना सहकर्मीहरुको साथमा थिएँ । हामीलाई तीन मीटर गहिरो खाल्डो खनी माटोहरु निकाल्नु पर्नेथियो । गर्मीको महिनामा हामीहरु कमिज फुकालेर काम गर्दै थियौं तर केही मिनेटभित्रै हामीलाई जेल वार्डेन (Jail Warden)ले आएर हामीलाई कमिज लगाउनका लागि अन्तिम तथा फाइनल भनेर चेतावनि दिएकाथिए । हामीहरुले खाल्डो खन्दै गरेको स्थान, महिलाहरुको जेलको कोठाभन्दा लगभग ८० मीटर पर थियो तर पनि हामीहरुले हाम्रो शरीरको भाग, ती कैदी महिलाहरले देख्नेगरी नाङ्गो पार्नुलाई सेक्स्युअल मोलेस्टेसन वा हृयारास्मेन्ट (Sexual Molestation or Harrassment) गरिएको मानिने सो वार्डेन (Jail Warden)ले बताएका थिए र सजायँबाट बच्न चाँडै कमिज हामीले लगाएका थियौं ।

पी.ई.ए. अर्थात् फेनिल्थाइलामाइन (Phenylethylamine) भन्ने यस्तो ‘केमिकल’ हो, जो दिमागको एक विशेष भागमा फैलिन थाले, त्यसले मुटुका धमनीहरुलाई द्रूतगतिमा धड्काइदिन्छ र दिमागभरि अचानकै ‘एक्साइटमेन्ट’हरु झङ्क्रित हुनथाल्दछ । सोही पी.ई.ए.ले तत्कालै दिमागको केन्द्रमा मेसोलिम्बिक डोपामाइन ( Mesolimbic Dopamine) नामको एक विशेष केमिकललाई रिलिज गरिदिन्छ, यो केमिकलले लगभग त्यस्तो अनुभूति ल्याउँछ, जस्तो ‘शारीरिक सम्पर्कको चरमोत्कर्ष’मा खासगरी महिलाले प्राप्त गर्छन् । मेसोलिम्बिक डोपामाइनले वास्तवमा महिलाको क्लिटोरिस (Clitoris) लाई हल्का हल्का स्पर्श गरेर स्टिमुलेट (Stimulate) गरेको वायो-फिलिङ (Bio-feeling) लाई दिमागको सेन्टरमा ‘फिल्डिङ’ गर्दछ । यसरी लोग्ने मान्छेले आफ्नो शरीरको बाहिरी अङ्गका साथै ‘प्राइभेट-पार्ट’हरु देखाउने, अश्लील तस्वीरहरु देखाउने, महिलाहरुको अङ्गहरु छुन खोज्ने, अश्लील किसिमले बोल्ने अनि सुशेल्ने, इशारा गर्ने आदि-इत्यादि सेक्स्युल हृयारास्मेन्ट वा मोलेस्टेसन (Sexual Molestation or Harrassment) भएको कानूनी मान्यता छ र त्यसको लागि कारबाहीमा पर्न सकिन्छ । माथि भनिएको तथ्यानुरुप, महिलाहरुको दिमागमा उनीहरुको प्रयासबिना पी.ई.ए. अर्थात् फेनिल्थाइलामाइन (Phenylethylamine) को उत्पत्ति गराउने, पुरुषका हरेक प्रयासहरु गैरकानूनी हो ।

आज ‘भ्यालेन्टाइन्स-डे’ अर्थात् प्रणय दिवस हो । पश्चिमेलीलगायत पूर्वेली ठूलै संख्याका देशहरुमा आजको दिनलाई निक्कै उल्लासमय रुपमा मनाइन्छ । युवायुवतीहरुमा अत्यन्तै लोकप्रिय बन्दै गएको यो दिनलाई पर्वको रुपमा वर्षभरि अधैर्यताका साथ प्रतीक्षा गरी मनाइने गरिन्छ । आजको दिन, प्रेमी कत्तिको सेन्सिवल छ या संयुक्त रुपमा जोडी नै कत्तिको रोमान्टिक छन् भनेर तिनका सर्कलमा चर्चा गरिने गरिन्छ । आजकै दिनमा नयाँ सम्वन्ध गाँस्नका लागि युवाहरु रोमान्सका विविध तरिकाहरुको सूत्रपात गर्न लाग्दछन् भने आजकै दिनमा दाम्पत्य जीवनको शुरुवात गर्नका लागि भनी विभिन्न देशहरुमा जोडीहरु कानूनी रुपमा वैवाहिक सम्वन्धको शुरुवात गर्न लाग्दछन् ।

‘भ्यालेन्टाइन्स-डे’को दिनमा -रातो गुलाफ-को फूल उपहार दिनेलगायत -गुलियो चकलेट-को उपहार दिने चलन साथसाथै सर्वत्र विकसित रुपमा प्रत्येक वर्ष झन् झ्न झ्याङ्गिदो छ । यसमा ध्यानमा राख्नु परेको मूल मन्त्र के हो भने, महिलाहरुलाई अति मन पर्ने वस्तु भनेको ‘रातो फूल र गुलियो चक्लेट’ हो । रातो सम्वृद्धिको प्रतीक, प्रेमको प्रतीक मानिएझैं गुलियो शुभारम्भको प्रतीक हो । हुन त कसैले भन्छन् -महिलाहरु आफूलाई कोमल अनि नाजुक ‘रातो फूल र गुलियो चकलेट’को हाराहारीमा दाँजिएको मान्दछन् यदि तिनका पुरुषहरुले तिनलाई ती वस्तुहरु उपहार दिन्छन् भने । यो त भन्ने मात्र हो । वास्तवमा के हो भने, रातो फूलले अनि चकलेटको गुलियोले महिलाहरुका दिमागमा सोही पी.ई.ए. अर्थात् फेनिल्थाइलामाइन (Phenylethylamine) नामको केमिकललाई पैदा गरिदिन्छ । रातो गुलाफको कोमल पत्ताहरुको ‘दृष्टि’ले अनि चकलेटको गुलियो ‘स्वाद’ले स्त्री दिमागमा पी.ई.ए.को ‘डिस्ट्रिव्युसन’ अचानकै फैलिन्छ र त्यही घडी, त्यसले मेसोलिम्बिक डोपामाइन (Mesolimbic Dopamine) नामको एक विशेष केमिकललाई ‘रिलिज’ गरिदिन्छ । क्लिटोरिस (Clitoris) मा हल्का ‘घर्षण’बाट प्राप्त हुने अनुभव त्यही मेसोलिम्बिक डोपामाइनको दिमागको बीचोबीच हुने ‘श्राव’ले गर्दा हुन्छ । र महिलाहरु त्यसरी पुरुषको उक्त प्रयासबाट ‘उत्प्रेरित’ हुन्छन्, यदि ती कोमल र अति नै सम्वेदनशील छन् भने त अपरिचितकै सोही लगनका प्रयासहरुदेखि नै ‘उत्प्रेरित’ हुन्छन् ।

अब, एउटा प्रश्न आएको छ यहाँ, के त्यसरी ‘रातो गुलाफको फूल तथा चकलेट’हरु ‘भ्यालेन्टाइन्स-डे’लगायतका अवसरहरुमा महिलाहरुलाई प्रदान गर्नु स्क्स्युअल मोलेस्टेसन वा हृयारास्मेन्ट (Sexual Molestation or Harrassment) होइन त ? आफ्नो फ्ल्याटमा कपडा बदल्ने क्रममा बाटो हिँडेदै गरेकी एक महिलाले देख्नेगरी केही पलका लागि नाङ्गिएका पुरुष, आफ्नी सहकर्मीलाई झुक्किएर अश्लील तस्वीरहरुको प्रदर्शन गर्ने सहकर्मी पुरुष र कमिज फुकालेर महिला बन्दीहरुले देख्ने गरी काम गर्ने हामी अनि ‘भ्यालेन्टाइन्स-डे’लगायतका अवसरहरुमा ‘रातो गुलाफ तथा चकलेट’ उपहार दिने पुरुषहरुका कार्यहरुमा के भिन्नता छ त ? नाङ्गो पुरुष शरीर, सम्पूर्ण रुपमा नाङ्गो पुरुष, अश्लील तस्वीरहरु, रातो गुलाफ, गुलियो चकलेट सबैले नै उही परिणाम र परिमाणमा पी.ई.ए. अर्थात् फेनिल्थाइलामाइन (Phenylethylamine) को उत्पादन दिमागमा गर्दछ र त्यही घुलनले मेसोलिम्बिक डोपामाइन ( Mesolimbic Dopamine) को श्राव दिमागको बीचोबीच गर्दछ जसले महिलाको क्लिटोरिस (Clitoris) मा घर्षण गरेजस्तो ‘आनन्ददायी अनुभूति’ दिन्छ, या शारीरिक सहवासपछिको ‘चरमोत्कर्षको मिठास’ दिन्छ, जसले प्रत्यक्ष रुपमा महिलाहरुलाई पुरुषका सो प्रयत्नप्रति नरम बनाइदिन्छ र प्रकारान्तरमा ती शारीरिक सम्पर्कमा जानसक्ने अवस्थाको त्यहाँ ‘सकारात्मक सम्भाव्यता’को ‘बिल्ड-अप’ हुन्छ ।

माथि खुलाइएको अवस्थामा भिन्नता केमा मात्र हुन्छ भने, यी सबमा सहमति हुनु जायज छ । त्यसैले पुरुष मित्रहरु, ‘भ्यालेन्टाइन्स-डे’को अवसर पारी युवतीलाई प्रभाव पार्ने ध्याउन्नामा तपाईँहरु झुक्किएर पनि परायालाई रातो गुलाफ तथा गुलियो चकलेटको उपहार नदिनुहोस् । के थाहा, हाम्रा महिला पाठकहरुले पनि यस लेख पढेका हुनसक्छन् ।