राष्ट्र बैंकले २ अर्ब ३१ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले २ अर्ब ३१ करोड मुद्दती निक्षेपमा लगानी गर्ने


नेपाल राष्ट्र बैंकले २ अर्ब ३१ करोड ७६ लाख बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफूसँग रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकोहो । जसका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव माग गरेको छ ।

आइतबार लगानी सम्बन्धि सूचना सार्वजनिक गर्दै केन्द्रीय बैंकले २०७४ माघ २ गते देखि २०७५ माघ १ गतेसम्म १ वर्षे मुद्दती निक्षेपमा लगानी गने जनाएको छ । निक्षेप लिन चाहाने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र प्रस्तावित व्याजदरसहित पुष १९ गते दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा आवेदन दिन सक्ने जनाएको छ ।

‘क’ वर्गका बैंकहरुमा १ अर्ब ८५ करोड ४१ लाख, ‘ख’ वर्गका बैंकहरुमा ३४ करोड ७६ लाख र ‘ग’ वर्गका वित्तीय संस्थाहरुमा ११ करोड ५९ लाख रुपैयाँ राष्ट्र बैंकले निक्षेप जम्मा गर्नेछ । राष्ट्र बैंकले रकम लिनका लागि आवेदन पेश गर्ने मापदण्ड समेत तोकेको छ ।

बैंक सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको, खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत भएको हुनुपर्ने राष्ट्र बैंकले शर्त राखेको छ ।