जाडोमा विद्युतीय सामाग्रीको ब्यापार मालामाल

जाडोमा विद्युतीय सामाग्रीको ब्यापार मालामाल


छविलाल बगाले

राजधानी मात्र नभई देशैभर यतिबेला जाडो बढेको छ । राजधानीमा जाडो बढेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार धाउनेहरु पनि बढ्न थालेका छन । बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो तर बदलिंदो समय र भित्रिदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरुको आकर्षण बढ्दो छ ।

दिनानुदिन बढ्दै गएको चिसो मौसमका कारण काठमाडौंमा हिटर, गिजर अनि एसी लगायतका विद्युतीय सामाग्रीको व्यापार बढेको ब्यापारीहरु बताउँछन् । मङ्सिरको शुरूवातीदेखि नै बढेको हिटरको व्यापार पुस महिनाको यो समयसम्म आइपूग्दा अझै तीव्र भएको व्यवसायीहरूको भनाई छ । जाडो भर्खरै शुरु भएकोले अझै हिटर, एसी र गिजर लगायतका विद्युतीय सामाग्रीको ब्यापारमा बृद्धि हुने ब्यापारीहरु बताउँछन् ।

ब्यापारीहरुका अनुसार आधुनिक प्रविधियुक्त हिटरको ब्यापार बढेपछि पुराना मोडल तथा प्रविधिमार्फत कोठा तताउने र न्यानो रहने चलनमा परिवर्तन आएको सुन्धाराका एक हिटर ब्यावसायीको भनाई छ । अहिले बजारमा ग्यास तथा विजुलीबाट चलाउन मिल्ने हाइब्रिड किसिमका विभिन्न डिजाइनका हिटरहरु पाइन्छ भने खुला स्थानमा प्रयोग गर्न सकिने गार्डेन हिटर तथा तातो हावा फाल्ने फ्रयान हिटर समेत बजारमा उपलब्ध रहेको ब्यवसायीको भनाई छ । उनिहरुको अनुसार अहिले बजारमा ७ सयदेखि हजारौं मुल्य सम्मपर्ने हिटरहरु उपलब्ध छन् ।

नेपाली बजारमा भित्रिएका हिटरहरु धेरैजसो छिमेकी मुलुक चीन र भारतबाट आउने गर्दछ भने केही मात्रामा युरोपियन मुलुकहरुबाट समेत आयात भइरहेको छ । अघिल्ला वर्षसम्म लोडसेडिङले आत्तिएका ब्यापारीहरु यस वर्ष राजधानीमा लोडसेडिङ हटेपछि विद्यूतीय सामाग्रीको किनमेल गर्न थालेका छन् ।

ब्यापारीहरुले अघिल्लो बर्षको तुलनामा यसबर्षको जाडोमा ५० देखि ६० प्रतिशत सम्मको व्यापार बढ्ने लक्ष्य लिएका छन् । उनिहरुको अनुसार अहिले नेपाली बजारमा दर्जनौं नाम तथा ब्राण्डका हिटरहरु भित्रिएका छन । नाम र कम्पनी अनुसार मुल्य पनि फरक फरक रहेको ब्यापारीहरु बताउँछन् । बजारमा नक्कली सामानको बिगबिगी पनि छ । त्यसैले उपभोक्ताले पनि जाडोमा न्याना सामग्री खरिद गर्दा त्यसको ग्यारेन्टी, वारेन्टी, ब्रान्ड, तथा फिचरका बारेमा सजग हुन जरुरी छ ।