तानाशाह किमको हुङ्कार– ‘सावधान ! न्युक्लियरको बटन मेरो हातमा छ’

तानाशाह किमको हुङ्कार– ‘सावधान ! न्युक्लियरको बटन मेरो हातमा छ’


उत्तर कोरियाका तानाशाह किम जोङले आफ्नो हातमा न्युक्लियरको बटन भएको हुङ्कार गरेका छन् । किमले नयाँ वर्ष २०१८ को आगमनसँगै राष्ट्रलाई सम्बोधन गर्ने क्रममा यस्तो दम्भ प्रकट गरेका हुन् ।

कीमले आफ्नो सम्बोधनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धम्की दिँदै अमेरिकाको कुनै पनि भागलाई आफूले चाहेको बेला निशाना बनाउन सक्ने दाबी गरे । सो अवसरमा कीमले सम्पूर्ण अमेरिका उत्तरकोरियाको परमाणु हतियारको दायरामा भएको खुलासा समेत गरेका थिए ।

‘यो सत्य हो, न्युक्लियर बटन मेरो डेस्कमा हुन्छ, जसलाई म जुन बेला पनि दबाउन सक्छु’ भन्ने वाक्य दोहो¥याउँदै कीमले अब अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न नसक्ने दाबी गरे । उनका अनुसार कोरियाले अमेरिकाको कुनै पनि भू–भागमा आक्रमण गर्न सक्ने परमाणु क्षमताको विकास गरेको छ । साथै कीमले उत्तर कोरियामा परमाणु हतियार मिसाइल उत्पादन बढाउनका लागि आफ्ना परमाणु वैज्ञानिकहरूलाई अपिल समेत गरेका छन् ।

यसरी उत्तर कोरियाले परमाणु हतियार बढाउँदै गएपछि विश्वका अन्य देशले चिन्ता प्रकट गरेका छन् । यसैकारणले उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध समेत लागेको छ । तर, यस्तो अवस्थामा पनि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तर बढाउँदै लगेको छ । सन् २०१७ मा उत्पादन गरिएका उसका परमाणु कार्यक्रम विशेष गरेर अमेरिकालाई लक्षित गरेर डिजाइन गरिएका छन् ।

यसरी महाशक्तिराष्ट्र अमेरिकालाई धम्क्याउँदै गर्दा कीमले सिउलसँग सम्बन्ध सुधार गर्न प्योङयाङ तयार रहेको समेत खुलासा गरेका छन् । जबसम्म उत्तर कोरियाको सुरक्षामा खतरा आउँदैन तबसम्म आफुले परमाणु हतियारको प्रयोग नगर्ने उनले बताए ।