– चन्द्रकान्त खनाल
रुपन्देहीमा कृषिको विकासका लागि सिंचाई सुविधा उपलब्ध हुन नसक्नु मुख्य चुनौती भएको बताइएको छ । कृषिको व्यवसायीकरण तथा विविधिकरणका लागि गुणस्तरीय कृषि सामग्रीको आपूर्तिको सुनिश्चितता, आवश्यक पूर्वाधारहरुको पर्याप्त मात्रमा विकास तथा कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा हेर्नुपर्ने सुझाव सम्बद्ध विज्ञहरूले दिए ।
बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा ‘नेपाली कृषि ः वर्तमान र भविष्य’ विषयक एक दिवसीय गोष्ठीमा मन्तव्य राख्दै कृषि मन्त्रालयका उपसचिव डा.मणिरत्न अर्यालले उक्त कुरा बताएका हुन् । उनले राज्यले कृषि क्षेत्रमा संलग्न साना कृषकहरुलाई दिने सुविधा सहज प्रदान गर्न नसकेको र त्यसले कृषि पेशामा संलग्नहरु निराश बन्नु परेको समेत बताए ।
छिमेकी मुलुकमा कृषिमा निकै बढी अनुदान प्रदान गरिएको अवस्थामा नेपालका कृषकहरुले त्यसमा प्रतिष्पर्धा गर्न कठिन रहेको, कृषि जमिन खण्डिकरण प्रकृया बढेको र श्रमिक पलायन धेरै रहेको हुँदा गम्भिर बन्न उनले आग्रह गरे ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. अर्यालले गुणस्तर र परिणामलाई जोड दिई उत्पादन प्रणालीलाई अगाडि लान सकेमा रुपन्देही जिल्लालाई कृषि उपजको निर्यात जोन बनाउन सकिने दाबी गरे । उनले स्थानीय कृषिजन्य उद्योगमा कच्चा पदार्थको आपूर्तिको सुदृढिकरण नै औद्योगिकीकरणको बाटो भएको धारणा राखे ।
कार्यपत्रमा व्यवसायिक तरकारी खेती, माछा तथा पशुपालनको प्रर्वद्धन भएमा आयआर्जन वृद्धि गर्न सकिने हुँदा युवाको आकर्षण बढाउन मद्दत मिल्ने उल्लेख छ । हाम्रो जस्तो मुलुकमा आयात प्रतिस्थापन गर्ने र उद्योगको विस्तार गर्ने कुरामा सबैका ध्यान जानु जरुरी रहेको कुरा पनि कार्यपत्रमा औंल्याइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाले रुपन्देहीमा कृषिको वर्तमान अवस्था र अवसरहरुको बारेमा धारणा राख्दै रुपन्देही नेपाल कै कृषि क्षेत्रको नेतृत्व गर्न सक्ने क्षमता बोकेको जिल्ला भएको बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले कृषि क्षेत्रलाई पनि उद्योगको रुपमा विकास गर्न सकेमा मात्र देशको आर्थिक विकास अगाडि बढ्ने हुँदा त्यसमा राज्य र नीजि क्षेत्र एक हुँदै कृषिका पकेट क्षेत्र घोषणा गरि लगानी गर्ने बातावरण बनाउन आवहान गरे । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल, वेनुराम प्रधान, लालबहादुर थापा माया खनाल कृष्ण पराजुलीले लगायतले बोलेका थिए ।
प्रतिक्रिया