प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको परिणाम अविलम्ब सार्वजनिक गर्न वाम गठबन्धनले निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ । गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरुले आज प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्तसँग भेटी जनताले दिएको मतको सम्मान एवं संविधान तथा कानुनको मर्म र भावनाको कदरका लागि सो परिणाम सार्वजनिक गर्न माग गरेका हुन् । राष्ट्रियसभाको निर्वाचन भएपछि मात्र सो परिणाम सार्वजनिक गर्ने तयारीप्रति आपत्ति जनाउँदै गठबन्धनले संविधान र निर्वाचन कानुन निर्माणमा संलग्नसमेत भई अनुभव हासिल भइसकेकाले कुनै पनि निर्वाचनको परिणाम अविलम्ब सार्वजनिक गर्न कुनै अप्ठेरो नहुने जिकीरगरेको छ । मुलुकलाई जनादेशानुसार अघि बढाउन पनि गठबन्धनले आयोगलाई आग्रह गरेको छ ।
समानुपातिकको परिणाम नआउँदा नयाँ सरकार निर्माणको प्रक्रिया ढिलो हुने भएकाले यस प्रक्रियाका सम्बन्धमा कुनै संवैधानिक वा कानुनी समस्या भएमा नेपाल सरकार र संवैधानिक निकायले फुकाउनुपर्ने अन्यथा जनताले फरक ढंगले प्रतिक्रिया दिँदा लोकतन्त्रका लागि हानि पुग्न सक्नेतर्फ नेताहरुले ध्यानाकर्षण गराएका छन्। गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो ।
भेटपछि प्रमण्डलका तर्फका एमालेका उपाध्यक्ष भीमबहादुर रावलले ‘संविधानको भावनानुसार सात दिनभित्र निर्वाचन परिणाम दिनुपर्नेमा लामो समयसम्म अड्काएर राख्दा मत दिने जनताको आदेश विपरीत हुने’ विषयमा आफूहरुले सविस्तार स्पष्ट पारेको बताए । उनले रासससँग ‘राष्ट्रियसभा र प्रतिनिधिसभामा गरी संघीय संसदमा कुल ३३ प्रतिशत महिलाको संख्या पुग्ने विषयमा कुनै अन्योल नरहेकाले’ समानुपातिकको परिणाम सार्वजनिक गर्न राष्ट्रियसभाको निर्वाचन पर्खन नपर्ने जिकिर गरे ।
जवाफमा आयोगले आफूहरु पनि अनन्तकालसम्म परिणाम सार्वजनिक नगरी राखिरहने सोचमा नरहेकाले दलहरुसँगको थप परामर्शका आधारमा समस्या समाधानका लागि सामूहिक पहल गर्न तयार रहेको विश्वास दिलाएको रावलले बताए । भेटमा ‘एमालेका नेताहरुले कानुनको व्याख्या गर्न जान्दैनन्’ भनी प्रमुख आयुक्त डा यादवले सार्वजनिक अभिव्यक्ति दिएको भन्ने विषयमा नेताहरुले चासो व्यक्त गरे पनि उनले आफूहरुले त्यस्तो धारणा नदिएको र दिन नसक्ने स्पष्ट गरेका थिए ।
प्रतिनिधि मण्डलमा एमालेबाट रावलसहित स्थायी कमिटी सदस्य सुवास नेम्वाङ तथा नेताहरु अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठ तथा माओवादी केन्द्रबाट नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन र रामनारायण बिंडारी संलग्न रहेका थिए।
प्रतिक्रिया