जुरेपीडीतका समस्याको समाधान खोज्ने प्रतिबद्धता

जुरेपीडीतका समस्याको समाधान खोज्ने प्रतिबद्धता


सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई एकैदिन चारवटा सम्मान गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति, चौतारा साँगाचोकगढी नगरपालिका र कर्मचारी मिलन केन्द्रले संयुक्त रुपमा ६ जानै सांसदलाई सम्मान गरेको हो । त्यस्तै चौतारा बहुमुखी क्याम्पसले पनि सम्मान गरेपछि एकै दिन सांसदलाई चारवटा सम्मान मिलेको हो ।

जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरु अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङ एवं प्रदेश सभामा निर्वाचित सांसदहरु अरुण नेपाल, सरेश नेपाल, युवराज दुलाल र निमा लामा ह्याल्मोलाई सम्मान गरिएको हो । निर्वाचित सांसदहरुलाई सफल कार्यकालको शुभकामना समेत दिँदै आगामी दिनमा जिल्ला र जिल्लाबासीको हितमा काम गर्ने उर्जा मिलोस्् भनी सम्मान गरीएको जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले बताए ।

सम्मानले आफुहरुमा उर्जा थपीएको र थप जिम्मेवारी समेत बोध भएको सम्मानित साँसदहरुले बताएका छन् । ‘हामी जनप्रतिनिधि र निजामती कर्मचारी बीचको कुसल समन्वय र सहकार्यबाट मात्रै विकास सम्भव छ ।’ प्रतिनिधिसभा २ प्रदेश २ का सांसद निमा लामाले भने, ‘सबै मिल्यौं भने जिल्लालाई सुन्दर र समृद्ध बनाउन सकिन्छ ।’

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा १ का सांसद अग्निप्रसाद सापकोटाले तातोपानी नाका र जुरे पहिरोको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । ‘तातोपानी नाका खुल्ने शुभ संकेत देखिएको छ ।’ सापकोटाले भने ‘जुरेपीडीतको समस्याको पनि चाँडै हल खोजिनेछ ।’ कार्यक्रममा साँसदहरुले आफूले र आफ्नो गठबन्धनले निर्वाचनमा गरेका वाचा पूरा गर्ने प्रतिवद्धता जनाउँदै आलटाल गर्ने कुनै पनि बहाना वाँकी नरहेको बताएका थिए ।

– किशोर बुढाथोकी