कम छैनन् नेपाली जुत्ताचप्पल, विदेशीलाई टक्कर गर्न सकिने उद्योगीको दाबी

कम छैनन् नेपाली जुत्ताचप्पल, विदेशीलाई टक्कर गर्न सकिने उद्योगीको दाबी


छविलाल बगाले,
गत बिहीबारदेखि भृकुटी मण्डपमा जारी १४ औं जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरुको औद्योगिक प्रदर्शनीले स्वदेशी उत्पादन पनि कम छैनन् भन्ने गतिलो उदाहरण प्रस्तुत गरेको छ ।

प्रर्दशनीमा सहभागी उद्योगीहरु नै खुलेर विदेशी सामग्रीलाई सहजै टक्कर गर्न सकिने बताउँछन् । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले आयोजना गरेको १४ औं जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरुको औद्योगिक प्रदर्शनीले स्वदेशी बस्तुहरुको उत्पादनलाई बढावा दिएको छ ।

‘आत्मनिर्भरताको आधार, स्वदेशी बस्तुको प्रयोग’ भन्ने मूल नाराका साथ शुरु भएको यो प्रदर्शनीमा राखिएका स्वदेशी उत्पादनले जो कसैलाई पनि आकर्षण गरेको छ । राज्यले स्वदेशी उद्योगलाई हेय भावले हेर्ने गरेपनि उद्योगी आफैं बामे सरेको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठको भनाइ छ । उनका अनुसार उद्योगीहरुले नेपालमा विभिन्न ब्राण्डका स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरुको उत्पादन गरी विदेशबाट आयात हुँदै आएको सामानको अन्तर घटाएका छन् ।

उद्योगीहरुको अनुसार स्वदेशी उद्योगीहरुले ५० प्रतिशत माग धानेका छन् । सरकारले निजी क्षेत्रलाई विश्व बजारमा प्रतिस्पर्धी रुपमा अघि बढ्न निर्देशन दिएपनि उद्योगीको समस्या भने सरकारले नसुनेको उनिहरुको गुनासो छ । ‘हामी सबल भएका छौं ।’ फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘राज्यले आयातको दरलाई घटाउन सघाउनुपर्दछ ।’

श्रेष्ठका अनुसार हाल एकहजार ५ सय नेपाली जुत्ता उद्योगमा करिव २० अर्ब रुपैयाँ बराबरको लगानी पुगेको छ । ‘बार्षिक रुपमा लगानी बढेपनि नेपालका जुत्ता उद्योगहरुले आफ्नो क्षमता अनुसारको जुत्ता उत्पादन गर्न सकेका छैनन् ।’ उनि भन्छन्, ‘ यहाँ सञ्चालित उद्योगहरुको बार्षिक क्षमताको ३९ प्रतिशत मात्र जत्ता उत्पादन भएको छ । यी उद्योगहरुको बार्षिक उत्पादन क्षमता ११ करोड १९ लाख ७१ हजार जोर रहेको छ ।’

हाल बार्षिक ४ करोड ३९ लाख ५८ हजार ७०० जोर मात्र उत्पादन हुँदै आएको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्रेष्ठले घटना र बिचारलाई जानकारी दिए । आयोजकले प्रदर्शनी अवधिभर हरेक जुत्ता चप्पलको खरिदमा ग्राहकहरुलाई १५ प्रतिशत सम्मको छुट दिएको छ । उद्योगीहरुले प्रर्दशनीमा ब्यापारभन्दा स्वदेशी उत्पादन पनि विदेशीको तुलनामा कम छैनन् भन्ने उदाहरण प्रस्तुत गर्नको लागि मेलाको आयोजना गरिएको आयोजकको दावी छ । गत आर्थिक बर्षमा नेपालको बजारमा ७ करोड ६२ लाख ४४ हजार १ सय ८६ जोर जुत्ता चप्पल खपत भएको अध्यक्ष श्रेष्ठको भनाई छ । उनका अनुसार जसमध्ये ३ करोड ८२ लाख ९४ हजार ७ सय ९३ जोर नेपाली जुत्ता चप्पल खपत भएको छ ।

प्रदर्शनीमा नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकनका लागि राखिएको छ । देशभरि छरिएर रहेका साना, मझौला एवं ठुला उद्योगहरुद्वारा उत्पादित जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरुको सवै उत्पादनहरु एउटै छानामुनि पाउँदा अवलोकनकर्ताहरु पनि निकै खुशी देखिन्छन् ।

उद्योगीहरुले जुत्ता उद्योगको विकासको लागि फूटवेयर जोनको विकास गर्न सरकारको ध्यानाकर्षण गराउँदै न्यून बिजकीकरणसहित विदेशी जुत्ताहरु आयात हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिएका छन् । प्रदर्शनीमा न्यूनतम ३ सय रुपैयाँदेखि १२ हजार रुपैयाँसम्मका उत्पादनहरु राखिएको छ । सरकारले उद्योगहरुमा अनुदान, विद्युत, तथा सुरक्षाको ब्यवस्था मिलाउने हो भने नेपाली उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्नेछन् ।