लिबियाको जनविद्रोहमा ३०० जनाको मृत्यु

लिबियाको जनविद्रोहमा ३०० जनाको मृत्यु


लण्डन । देशमा व्याप्त जनविद्रोह भड्केको कारण लिबियाका अति घृणित नेता कर्नल मुआमर गद्दाफी त्रिपोली छाडेर अन्यत्र भागेका आशंका गरेका छन् । क्रोध र आवेशमा आएका सरकार विरोधी प्रदर्शनकारीहरुले हिजो राज्यबाट सञ्चालित सञ्चार कार्यालय, सरकारी भवनहरु, एउटा मन्त्रालय साथै पुलिस स्टेशनमा तोडफोड गर्नुका साथै आगो लगाएका छन् । हिजो राति बेन्घाजी शहरमा (लिबियाको दोश्रो ठूलो शहर) ३०० जनाभन्दा बढी प्रदर्शनकारीहरुका सामुहिक हत्याको घट्ना घटेको केही घण्टापिछ आर्मीको एउटा युनिटले प्रदर्शनकारीहरुलाई साथ दिएको खबर छापाहरुमा आएको छ ।
त्रिपोलीमा पनि हिंसा भड्केको समाचार प्रकाशमा आएको छ । मेशीनगनको गोली वर्षा र मिसाइलको प्रहारबाट कर्नल गद्दाफीले ल्याएका भाडाका मानिसहरुले नृशंस हत्या गरेपछि केही घण्टाभित्र नै सेनाका जवानहरुले ट्याङ्क र बन्दुकहरु प्रदर्शनकारीहरुलाई दिएका थिए । हत्या गरिएका दिवंगतहरुको अन्त्यष्टि गरिरहेको बेलामा फेरि एकजना दूधेबालकसहित सयौ मलामीमा सामेल भएकाहरुलाई मेडिटेरेनियन पोर्ट सिटीमा हत्या गरेको आशंका गरेका छन् । आज बेलायतका विदेश सचिव, विलियम हागले लिबिया सरकारलाई जनताको पीर-मर्कालाई कानूनी मान्यता दिएर मानव अधिकार उलंघन नगर्नलाई सन्देश पठाएका छन् । हिजो कर्नल गद्दाफीका छोरा सैफले प्रदर्शनकारीहरुलाई टीभीमार्फत आक्रमक चेतावनी दिएका थिए । उनका अनुसार देश गृहयुद्धतर्फ अग्रसर भइरहेको बेलामा अन्तिम समयसम्म अन्तिम गोली बचुन्जेल लड्ने प्रत्तिबद्धता जाहेर गरेका थिए ।
राजधनी निकट निर्माण क्षेत्रमा ५०० जनाको जत्थाले हिजो एउटा कोरियान निर्माण कम्पनीमा काम गरिरहेका १५जना बंगलादेशी नागरिकहरु र ३ जना कोरियाली मजदूरहरुलाई धावा बोलेर घाइते गरेका थिए । त्रिपोलीको ग्रीन स्क्वायरमा प्रत्यक्षदर्शीहरुका अनुसार आज सबेरै कर्नल गद्दाफीका समर्थकहरु र विरोधी पक्षका प्रदर्शनकारीहरु बीच झडप भएको समाचार प्राप्त भएको छ । त्यस्तै गुर्गी क्षेत्रको निर्माण क्षेत्रमा सेनाले प्रदर्शनकारीहरुउपर अश्रु ग्याँस छोडेको समाचार प्राप्त भएको छ । गत हप्ता इजिप्टको काइरोस्थित तहरिर स्क्यायरमा भएको सरकार विरोधी प्रदर्शनकारीहरुको दृष्यलाई छनक दिनेखालको उत्तरी बेन्घाजीको एउटा अदालतबाहिर वकिलहरुले गरेका सरकार विरोधी प्रदर्शनलाई तहरिर स्क्वायर २ को संज्ञा दिएका छन् । यसै क्रममा कर्नल गद्दाफीलाई सत्ताच्यूत गर्नका लागि प्रदर्शनकारीहरुको भीड राष्ट्रपति निवासतर्फ बढिरहेको बेलामा भाडामा ल्याएका सैनिकहरुको गोली प्रहारबाट चारजना मारिएको समाचार प्राप्त भएको छ । हत्या भएको क्षणभरपछि सरकारमा रहेका एकजना नेताले राजीनामा दिएका छन् । लिबियामा भर्खरै भड्केको जनविद्रोह मिडल-इष्ट राष्ट्रहरु ट्यूनिसिया, इजिप्ट र बहराइन पछिका हुन् । यस अन्दोलनको लहरले यसक्षेत्रमा उग्रता लिइरहेको छ ।
मिडल-इष्टमा सबैभन्दा लामो समयसम्म तानाशाहको रुपमा शासन गरेका कर्नल गद्दाफीले सन् १९६९मा सैनिक कू गरेर सत्ता हासिल गरेका थिए । उनको नेतृत्वको विरोधमा विगत ६ दिनदेखि विरोध प्रदर्शन भइरहेका छ । लिबियामा अहिले ल्यान्डलाईन टेलिफोन सेवा र इन्टरनेटसेवा बन्द गरिएको छ । विरोधीहरु थ्ाप नयाँ उर्जा लिएर विरोधमा उत्रेका छन् । बेन्घाजीलाई विरोधीहरुले नियन्त्रणमा लिएका छन् तथा विजय उत्सव मनाइरहेका छन् । सन् १९६९मा कू गरेर फहराइएको झण्डा निकालेर अहिले पुरानो राजतान्त्रिक झण्डाको झण्डोत्तोलन विरोधीहरुले गरेका छन् । श्रोत – द सन, फक्स न्यूज, सुमल, मेस ।