धर्म तथा संस्कृति जोगाउने कसरी ?

धर्म तथा संस्कृति जोगाउने कसरी ?


-भीम बानियाँ,
छोटो कद, ढाकाटोपी, हातमा मार्क्सवाद लेनिनवाद लेखेको किताव, मुखमा ..अब क्रान्ति शुरु भयो केटा हो ल, तिमीहरु पनि अब कम्युनिष्ट हुनुपर्छ र मात्र नेपाल आमाले मुक्ति पाउँछिन् …भन्न मात्र पाएका थिए, एकजनाले …पुलिस आए जस्तो छ.. भन्नेबित्तिकै खरबारीमा दौडादौड शुरु भएकोथियो । सबै भागाभाग, ५, ६ जना दाइहरुसँग म पनि त्यहाँ गएको थिएँ । सबै भागे, मचाँहि कुरा नबुझेर भागिनँ । केही बेरमा मैले नचिनेको एकजना मानिस आएर ठाडो स्वरमा ..ए केटा यहाँ तास खेलेको हो ? भनी सोध्यो, म त ..होइन दाइहरु हो.. भनेँ । त्यसपछि कुरा बुझेँ -सीआईडी रहेछ र कसैले पंचायतविरोधी कुरा गरेछ कि भनी बुझ्न आएको रहेछ, पछि आएर सरले भने । मतलव सरले सत्ता वा राज्य प्राप्तिको आन्दोलन गर्न लागेका रहेछन् ।

अर्का एकजना वोर्डिङ स्कुलका शिक्षक जो दार्जीलिङबाट पोखरामा पढाउन आएका थिए, उनले एक दिन मलाई ….ए बाबु, तिमीलाई बोर्डिङ स्कुलमा पढ्ने मन छैन ? भनी सोधे र मैले ईच्छा जताउँदा आइतवार बेलुका संगतीमा आउने निम्तो दिएर विदा भए । आइतवार सरले दिएको ठेगानामा गएको त, ईशाइ धर्मको छलफल र हामी सबै ईशु ख्रिष्टका सन्तान हौं भनी एकजनाले बोल्दै थिए, बाहिरबाट कसैले …..के गरेका छौ भनी सोध्यो र सरले…..बच्चाहरुलाई अंग्रेजी पढाउँदै छु… भनी ढाँटेर पठाए । यसको अर्थ ती नेपाली शिक्षक धार्मिक वा सस्कृति जोगाउने आन्दोलनमा नेपाल आएका रहेछन् ।

अहिले बल्ल बुझ्दै छु किन यति साह्रै सबै जातजातिले हाम्रो भेषभुषा, लिपि, धर्म र संस्कृति जोगाऊँ भनेर संसारको जुन सुकै कुनामा गए पनि र काममा जति व्यस्त भएता पनि यसका लागि समय निकाल्दा रहेछन् ? सधै यो एउटा नारा लगाउँदै किन जुलुसमा जान्छन् ? त्यतिबेलाका शासकहरुले पञ्चायती पालामा कम्युनिष्टको र ईशाइ धर्मको कुरा गर्न नदिए जस्तै पुस्तौंपुस्तासम्म पनि यी जातजातिहरुका धर्म संस्कृतिको अभ्यास र भाषासमेत प्रयोग गर्न नदिएको रहेछ । २०४६ सालको प्रजातन्त्र प्राप्तिपछि बल्ल खुल्ला आकाशमा ताराहरु चम्केझैं सबै जना यो आन्दोलनमा चम्केका रहेछन् । सबै जातिले आआफ्ना इतिहास, ताम्रपत्र, पूरातात्विक लेख, धर्मग्रन्थ, शिलालेख, लिपि, के के पाइन्छ, खोतले । खोतल्दै र खोज्दै जाँदा आफ्नो पुर्खा परापूर्व कालमा नेपालको शासक भएका र पछि अरु देशबाट लखेटिएर आएकाहरुले अन्याय र छलकपट गरी आफ्नो पुर्खाबाट सत्ता खोसिएको रहेछ । त्यतिले मात्र नपुगेर शोषण, अन्याय अत्याचार गरी धर्म, संस्कृति, लिपि, चाडपर्वसमेत खोसिएको प्रमाणहरु भेटिएका छन् । त्यसरी खोजअनुसार हेर्दा अन्तमा आएर शाह वंशीयहरुले सबैको राज्य खोसेका रहेछन् । जसबाट जनताले राज्य खोसे तर जनताले खोसेको राज्य आज आएर फेरि अर्को शासक बन्न जनताको संविधान नलेखी ..म र मेरो सरकार बन्नुपर्छ ..भन्नेतिर नयाँ शासकहरु लागेका छन् । अब खोजअनुसार नेपालमा वाईसे चौबीसे राज्य मात्र होइन, त्योभन्दा अगाडि अझै धेरै राज्य थिए, यसैबाट प्रमाणित हुन्छ कि …..मेरा पुर्खा पनि राजा वा शासक वर्गमा पर्दथे र अब त्यो प्राप्तिका लागि म र मेरो जातिले आन्दोलन गर्न जरुरी छ किनकि अधिकार मागेर पाइँदैन, लडेर लिनु पर्छ । यो आन्दोलन हामीले नेपालमा मात्रै नभएर संसारको जुनसकै कुनाबाट जहाँ-जहाँ हाम्रा जातका व्यक्तिहरु छन्, चाहे तिनीहरु बेलायती, अमेरिकन, रसियन अथवा चाइनिज नागरिकता नै लिएका किन नहुन्, गर्न जरुरी छ । नत्र भने हामीलाई हाम्रा सन्ततीले भोलि गाली गर्दा हामी नर्कबाट टुलुटुलु हेरी बस्नु पर्नेछ…. भन्ने सबैले सोंचेर राज्य र सत्ता प्राप्तिको आन्दोलनमा लागेका छन् ।

यसरी आज नेपालका जनजाति मात्रै नभई जाति भनाउँदाहरुले समेत नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएको भएता पनि आफ्ना पुर्खाबाट खोसिएको राज्य प्राप्ति गर्न आन्दोलन शु्रु गरेका छन् । अब कल्पना गरौं, सबै जाति-जनजातिको हकअधिकार सुरक्षित भयो सबैले विजय प्राप्त गरे, अब आउने संविधानमा पनि त्यो कुरा लेखिने छ । सबै जातजातिका सबै पर्व राष्ट्रिय पर्व हुने छन्, त्यो एक दिन देशभरि विदा हुने छ । राणाकालदेखि यता जो-जो भन्नाले दरवारीया, पंचायती कुदृष्टि, वहुदलवादी, माओवादी, शाही र नेपाली सेना, माओवादी, प्रहरी, वाईसीएल, जनसेना, वा कुनै पनि कारणवाट मारिएका सबैजना शहीद घोषणा हुनेछन् । यसरी भएका प्रत्येक शहीदको स्मारक बनाई तिनको सम्झनामा विदा पनि दिइने छ, अन्यथा शहीदको सपना पूरा हुने छैन । सबै जातीय भाषालाई राष्ट्रिय भाषामा सम्मिलित गराई प्रत्येक भाषा प्रत्येक स्कुलमा पढाइने छ । प्रत्येक जातजातिको भेषभुषालाई राष्ट्रिय पोशाक बनाई पंचायतकालमा कर्मचारीलाई दौरा-सुरवाल अनिवार्य गरेझैं अनिवार्य गरिने छ । बरु त्यतिबेला नलगाउनेलाई जरिवाना लगाउने चलन थिएन, अहिले त एक दुर्इ जातिले नगद जरिवानासमेत शुरु गरिसकेकाछन् । यसरी हाम्रो देश नेपालको संस्कृति, भेषभुषा र भाषाको आन्दोलन चरम सीमामा पुगी सफल हुँदैछ । तर विदेश पलायन भएका म जस्तालाई यस आन्दोलनले र क्रान्तिले कत्तिको असर गर्ला त ?

मेरो चिन्ता भनेको फरक छ । विदेशमा बसेर आफू अल्पसंख्यकमा गनिने, त्यहाँको भेषभुषा र भाषा अलग्गै छ, त्यहाँका आदिवासीले ….तिमीहरु बाहिरबाट आएका हौ, त्यसकारण हाम्रो भाषा संस्कृति सिक र समाहित हौ, अन्यथा तिमीहरुलाई दिन प्रतिदिन कठिन हुने छ, यहाँको परिपाटीअनुसार तिमीहरु चल्न सक्नु पर्छ, यहाँको नियम कानूनलाई पालना गर्नुपर्छ, अब तिमी र तिम्रा सन्तानले यहाँका स्थानीयसँग प्रत्येक कुरामा प्रतिस्पर्धा गर्नुपर्छ, त्यसका लागि तयार होऊ…. भनिरहेका र त्यसले वास्तवमा असर गरिरहेको अवस्थामा, यो अल्पसंख्यक नेपालीले नेपालको जातजाति, जनजाति र क्षेत्रीय रुपमा विभाजित भई …अलग-अलग भाषा, भेषभुषा, र संस्कृति मेरो हो… भनी स्थानीय सरकारमा जाँदा कतिसम्म सफलता प्राप्त होला त भन्ने हो । हामीले विदेशी जीवनमा गर्नु पर्ने आन्दोलन वा माग नेपालकै आन्दोलनसँग शाखा, उपशाखा भएर वा सम्वन्धन लिएर गर्ने हो त ? हाम्रो दोश्रो पुस्ता विदेशमा बसेर नेपाली कांग्रेस, एमाले, नेकपा जिन्दावाद, देशघाती नेपाल छोड, हाम्रो भाषा हाम्रो भेष, ज्यानभन्दा प्यारो हाम्रो देश नेपाल भन्लान् त ? पलायन भएका सबै नेपाली जातिका भाषा त्यहाँको सरकारले संरक्षण गरिदेलान् त ? हाम्रा दोश्रो, तेश्रो पुस्ताको नेपालीले अध्ययन गर्न पाउलान् त ? हामी यो भइरहेको स्वजातीय भेषभुषा, भाषा र राज्य प्राप्तिको आन्दोलनप्रति कति इमान्दार छौं त ? छौं केही । जस्तो समय समयमा नेपालबाट स्वजातीय वा स्वपार्टीय नेतालाई बोलाउँछौं, त्यहाँको आन्दोलनको प्रगति विवरण लिन्छौं, यो देश र नेताका ईष्टमित्रसँग भेटघाट गराउँछौं, सक्दो चन्दा उठाई ….हाम्रो पूर्ण समर्थन र सहयोग छ…. भनी पठाउँछौं । तर आफ्ना सन्तानलाई त्यो भाषा कति पढाउँछौं ? घरमा बच्चाबच्चीहरुसँग कुन भाषा बोल्छौं ? त्यो भेषभुषा वर्षमा कति दिन लगाउछौं ? स्थानीय समाजको कार्यक्रम र जागीरका लागि अन्तरवार्तामा सगौरव आफ्नो भेषभुषामा लगाएर जान्छौं कि जाँदैनौं ? के विदेशमा बस्ने नेपालीले गर्ने धार्मिक, सांस्कृतिक र भाषिक आन्दोलन यस्तै गर्ने हो त ? म जवाफको प्रतीक्षा गर्दैछु, नेपालबाट पलायन भएका आन्दोलनकारीहरुबाट ।